Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

ऋषि धमलालाई सोध्यो प्रेस काउन्सिलले स्पष्टीकरण : २४ घण्टाभित्र जवाफ दिनू


पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले स्पष्टीकरण सोधेको छ । काउन्सिलले बुधबार प्राइम टाइम्स टेलिभिजनका सञ्चालक समेत रहेका धमलालाई २४ घन्टाभित्र जवाफ पेश गर्नेगरी स्पष्टीकरण सोधेको हो ।

धमलाले सञ्चालन गरेको प्राइम टाइम्स टेलिभिजनबाट यही चैत २० गते प्रसारित जनता जान्न चान्छन् कार्यक्रममा प्रसारित सामग्रीप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रेस काउन्सिल नेपालले स्पष्टीकरण सोधेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर नेपाल फर्कने क्रममा धमलाले विमानभित्रको निषेधित क्षेत्रमा जबरजस्ती प्रवेश गरी भिजुअल प्रसारण गरेको भन्दै प्रेस काउन्सिल नेपालले धमलालाई लेखेको पत्रमा भनिएको छ :
प्रधानमन्त्री शेरबहादुर देउवा मित्रराष्ट्र भारतको औपचारिक भ्रमण सकेर नेपाल फर्कने क्रममा भ्रमण दलमा नै सहभागी हुनुभएको तपाईँले विमानभित्रैबाट अनुमति बेगर, पटकपटक वायु सेवाका कर्मचारीहरुले सेक्युरिटी प्रोटोकल विपरीत यसो नगरिदिनुस्, यसो गर्न मिल्दैन भन्दाभन्दै पनि बलजफ्ती जवरजस्ती रुपमा निषेध गरिएको क्षेत्रमा छिरेर भिजुअल रेकर्ड गरी सम्प्रेषण गरेको अनुगमनबाट देखिएको छ ।

 

पत्रकार तथा सञ्चार माध्यमले सूचना तथा समाचार संकलन र सम्प्रेषण सभ्य तथा शिष्ट रुपमा गर्नुपर्ने, पेशागत अभ्यासमा सामाजिक शिष्टता र मर्यादित कार्यशैली प्रयोग गर्नुपर्ने पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६०) को व्यवस्था रहेको छ । तसर्थ, सुरक्षा संवेदनशीलतालाई नजर अन्दाज गरी, वायुसेवाका सम्बद्ध कर्मचारीले सुरक्षा संवेदनशीलका कारण प्रसारण गर्न नमिल्ने भन्दाभन्दै पत्रकार तथा सञ्चारमाध्यमले बलजफ्तीरुपमा निषेध गरिएको क्षेत्रमा प्रवेश गरेको दृश्यसहितको प्रत्यक्ष प्रशारण के कति कारणले गर्नुपरेको हो ? पत्रकारिता क्षेत्रको मर्यादा विश्वसनीयतामा समेत नकारात्मक प्रभाव पर्ने कार्य के कसरी हुन गएको हो ? २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशानुसार सूचित गरिन्छ ।’

पत्रकार धमलाले यसअघि नेपाल बार एसोसिएसनको आन्तरिक बैठकमा जबरजस्ती प्रवेश गरी लाइभ गरेको विषय पनि के हो भनी प्रेस काउन्सिल नेपालले सोधेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार