Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

विवेक लगाएर काम गर्ने कांग्रेसका युवा नेता ‘विवेक’


ललितपुर, २६ चैत ।

महालक्ष्मी नगरपालिका वडा नं ८ विष्णुडोलका युवा समाजसेवी एवम् नेपाली कांग्रेसका सकृय युवा नेता विवेक कुमार कार्की समाजका हरेक काम समयमै र विवेकपुर्ण तरीकाले गर्ने भएकोले उनको नाम र काममा समानता भएको नगरवासी बताउँछन् ।

पुर्वमा काभ्रेको पनौति नगरपालिका, पश्चिममा ललितपुरको चक्रपथ ग्वार्काे (ललितपुर महानगरपालिका), उत्तरमा काठमाण्डौ महानगरपालिका र मध्यपुर थिमी नगरपालिका तथा दक्षिणमा गोदावरी नगरपालिका सीमाभित्रको महालक्ष्मी नगरपालिका क्षेत्रमा ४० वर्षे विवेकको जोशपुर्ण विकास र सामाजिक कामलाई देखेर यही बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट महालक्ष्मी नगरपालिकाको प्रमुखमा उठ्न उनलाई नगरवासीले जोड दिईरहेका छन् । उनी सो पदको लागि एकमात्र योग्य कांग्रेसका युवा नेता भएको पनि धेरैको दावी छ ।

हाल महालक्ष्मी गरपालिकाभरि कूल ३५ हजार २३० र वडा नं ८ मा मात्रै ७ हजार ३८४ मतदाता रहेका छन् । यो संख्या नगरको कुल मतदाताको २१ प्रतिशत हो । महालक्ष्मी नगरमा १ लाख १८ हजार ७१० जनसंख्या छ । महालक्ष्मी नगरपालिकाको वडा नं ८ भौगोलिक र जनसंख्याको आधारमा पनि ठूलो भएकोले अलग वडा बनाउनुपर्ने तर्कसहित उनले पहल गरिराखेका छन् ।

पेशाले तोरीको तेल मिल सञ्चालक, हार्डवेयर व्यापारदेखि विभिन्न प्रजातिका कुखुरा र टर्की पालन र विक्री गर्दै कृषि फर्म समेत सञ्चालन गरी रोजगारी समेत दिँदै आएका विवेक योजनावीद र विकासप्रेमी नेताको रुपमा समेत परिचित छन् ।

२०३८ सालमा लुभु गाविस ८ मा जन्मेका उनले स्नातकसम्म अध्ययन गरेका छन् । उनी महालक्ष्मी नगरपालिकाको नेपाली कांग्रेस नगर समिति उपसभापति हुन् । गरीव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमा पढाईराखेको र स्थानीय सामुदायीक विद्यालयलाई आवश्यक परेको वेलामा सहयोग गरिराखेका छन् ।

सानै उमेरदेखि नै गाउँका अग्रजहरुले गरेका विकास निर्माण र सामाजिक काममा सघाउँदै आएका उनी २० वर्षको उमेरमै गाउँ समाजमा उपभोक्ता समति मार्फत गाविस र जिल्ला विकास समितिको बजेट ल्याएर बाटोघाटो र सिँचाइको लागि कुलोहरु निर्माण कार्यमा संलग्न थिए । उनले त्यस अवधिमा झण्डै ३० वटा उपभोक्ता समिति निर्माण गरेका थिए ।

उनकै पहलमा बिष्णुडोलमा इन्डोर ब्याडमिन्टन कोर्ट निर्माण भएको छ भने संघीय सरकारसंगको पहलमा सिद्धिपुरदेखि बिष्णुडोल हुँदै शंखादेवी फुलबारी धाराचौर सडक ६४ करोडको लागतमा विस्तार र स्तरोन्नति भईराखेको छ । उनकै पहलमा प्रदेश सरकारबाट विकाश निर्माणका लागि बजेट पनि विनियोजन हुँदै आएको छ ।

स्कुले उमेरमा देउशीभैली खेलेर संकलन गरेको रकमले आफ्नो टोलमा बिजुलीको बत्ती हालेको अनुभवले गर्दा महालक्ष्मी नगरपालिकाको ८५ प्रतिशत अनुदान र उपभोक्तो १५ प्रतिशत लगानीमा बिष्णुडोलमा सोलार सडक बत्ति पनि जडान गरेका छन् ।स्थानीयस्तरमा सञ्चालित सप्ताह ज्ञान महायज्ञमा सचिव लगायतका पदमा बसेर ८५ लाख रुपैयाँ संकलन गरी बिष्णुडोल खानेपानी उपभोक्ता समिति मार्फत जग्गा खरीद गरी सो ठाउँमा बोरिङ्ग खनेर उपभोक्तलाई हस्तान्तरण गरि टोलवासीलाई खानेपानी वितरण गरेका छन् ।

२०७६ सालमा देखिएको विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड—१९) को बेलामा आफु र साथीहरुसंग मिलेर कार्कीले हाम्रो युवा समुह गठन गरि लकडाउन हुनु अघि सर्वसाधारणलाई निशुल्क मास्क वितरण गर्दै नगरको अधिकाँश भागमा औषधि छरेर सुरक्षित बनाउने काम र त्यस अवधिमा भएको रक्तदान अभावलाई पुरा गर्न ३ पटक रक्त्दान कार्यक्रम सञ्चालन गरे ।

लकडाउनका वेलामा स्थानीय विपन्न परिवारलाई राहत वितरण गर्नेदेखि शंखादेवी र बिष्णुडोलमा १०–१० शैय्याको सुरक्षित आवासगृह निर्माण गरी विदेशबाट फर्केका स्थानीयवासीलाई त्यहाँ क्वारेन्टाइन राख्ने कार्यमा समेत उनी संलग्न रहे । लकडाउनको बेलामा स्थानीय बाटोघाटो र ऐतिहासिक पोखरी सफा गर्ने र वृक्षारोपण कार्यमा समेत उनी र उनको नेतृत्वमा युवाहरु सकृय रहे ।

यसको साथै उनकै पहलमा वालवालिकाको चौतर्फी विकाशको लागि बिष्णुडोलमा ४ रोपनी जग्गा भाडामा लिएर विभिन्न खेलकूदका सामग्रीका साथ खेल मैदान समेत निर्माण भएको छ । (बलराम प्यासी)


प्रतिक्रिया दिनुहोस !
विचार