बलराम प्यासी
भक्तपुर, २८ चैत । भक्तपुरको बालकोटमा पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर छ भनेर धेरैलाई थाहा छ । बालकोट सुर्यविनायक नगरपालिकाको वडा नं २ मा पर्छ । अरनिको राजमार्गबाट करिब ३०० मिटर दक्षिणदेखि सो वडा (बालकोट) शुरु हुन्छ ।
नेपाली काँग्रेसका जुझारु र नगरवासीले अत्याधिक रुचाएका युवा नेता सुवास कार्की सोही वडाको बहालवाला वडासदस्य हुन् । तर, नगरवासी धेरैले उनलाई अहिलेपनि वडाध्यक्ष नै मान्छन् । वडाध्यक्षले गर्ने सबै काम सुवासले गर्छन । कागजी कामदेखि विकास निर्माणका काम र नगरवासीको गुनासो सुनेर त्यसको समाधान गर्ने कामसम्म । यसो हेर्दा लाग्छ उनी नै बहालवाल वडाध्यक्ष हुन ।

नेपाली कांग्रेसले अध्यक्ष जितेको सो वडाको अध्यक्ष चाँहि ७४ वर्षिय कमलनाथ आचार्य हुन् । उमेर र स्वास्थ्यका कारण अध्यक्ष आचार्य वडाको विकास निर्माण कार्यमा अहोरात्र खटिन सक्दैनन । त्यसैले अध्यक्षकै निर्देशनमा युवा वडा सदस्य कार्कीले निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्दै वडाको सम्पूर्ण जिम्मेवारी वहन गरिराखेका छन् ।

जाडो, गर्मी, वर्षा, धुवाँ, धुलो नभनी एकाविहानैदेखि राती अवेलासम्म वडाको भौतिक पुर्वाधार विकासदेखि नगरवासीको समस्या समाधान गर्ने कार्यमा सुवास सकृय छन् । त्यसैले उनलाई सो वडामा धेरैले भावी वडाध्यक्षका रुपमा हेरको स्थानीयहरुको भनाई छ ।
२०७४ को स्थानीय निकाय निर्वाचनमा वडाअध्यक्षको भन्दा १७ मत बढी र आफ्ना प्रतिद्धन्दीभन्दा १०६ मत बढी अर्थात १ हजार ३२९ मत ल्याएर वडासदस्यमा जितेका सुवास आफुले टिकट पाएमा यसपटकको चुनावमा गत चुनावको भन्दा दोव्वर मत ल्याएर वडाअध्यक्ष जित्ने कुरामा ढुक्क छन । त्यसो त यो पटक सो वडाको जनसंख्या मात्रै नभई मतदाता पनि निकै बढेका छन् । पहिला ३ हजार ७३१ मतदाता रहेको ठाउँमा अहिले ४ हजार ९१० पुगेको छ ।
वडासदस्यको रुपमा अविच्छिन्न र अहोरात्र खटेका सुवासलाई एकपटक वडाध्यक्षको रुपमा हेर्न वडाबासी इच्छुक देखिएको बताउँदै एक स्थानीय भन्छन, ‘नयाँले जितेर आएपछि जिरोदेखि सिक्नेभन्दा सबै बुझेको र अहोरात्र खटिने वडासदस्यलाई भोट हालेर वडाध्यक्षमा प्रमोशन गर्दा राम्रो र वडाको विकासमा टेवा पुग्छ ।’ त्यसो त बैसाख ३० गते हुन लागेको स्थानीय निकायको निर्वाचनमा वहालवाल वडाध्यक्ष कमलनाथ आचार्यका साथै अरु १३ जना सो वडाको वडाध्यक्ष बन्न इच्छुक देखिएका छन् ।

नेपाली काँग्रेसको बागमती प्रदेशका सभा सभापति प्रदिपकुमार कार्की र प्रदेश सभा सदस्य सुमन कार्की, इकाई सभापति कृष्णभक्त श्रेष्ठ, युवा नेता राजु खड्का पनि सुवाससँगै वडाध्यक्षमा लड्ने तरखरमा छन् । तर, धेरैले उनलाई बलिया दाबेदारका रुपमा हेरेका छन् । कारण आफ्नो वडासदस्यको कार्यकालमा गरेको विकास निर्माणको काममा अहोरात्र खटिनेदेखि विश्वव्यापी महामारी कोभिड—१९ मा आफुलाई कोभिड भएको अवस्थामा वाहेक अन्य समय वडावासीको लागि गरेको सहयोग हो ।
सिंगो वडालाई कोभिड संक्रमणमुक्त बनाउन औषधी छर्नेदेखि कोभिड संक्रमितको उपचारका लागि नेपाल रेडक्रस सोसाईटी बालकोटको एम्वुलेन्स सेवा सञ्चालन गर्न सहयोग गर्ने, फ्रन्टलाईनमा खटिने स्वास्थ्य तथा सफाईकर्मीहरुलाई पिपिई लगायतका सुरक्षा पोशाक, मास्क, सेनिटाइजर, पञ्जा वितरण गर्ने र संक्रमितको मोवाइल स्वाव संकलन, होम आइसोलेशनमा रहेका विरामीको निरन्तर रेखदेख र औषधि व्यवस्थापमा सकृय थिए सुवास ।
कोभिडका कारण लकडाउन भई रोजगारी गुमेकाहरुलाई बालकोट युवा समाजका अध्यक्ष रवी राणा र अन्य केही दाताहरुले १ हजार १०० परिवारको लागि वितरण गरेको राहत सहयोगको सुवास प्रशंसा गर्छन । त्यसो त वडा कार्यालयबाट ५०० परिवार राहत सहयोग दिनेदेखि अप्ठेरोमा परेकालाई आफ्नो गाउँमा फर्किन सुवासले दोलखा र चितवनसम्म निःशुल्क गाडीको व्यवस्था मिलाईदिएका थिए ।

सडक चौडा गर्नेदेखि, कालोपत्र गर्ने, ब्लक विच्छयाउने, वडाको करीव ८० प्रतिशत भागमा ढल निकासको व्यवस्था गर्ने, विभिन्न ठाउँमा सडक वत्तिको व्यवस्था गर्ने कार्यमा छायाँ वडाध्यक्षको रुपमा सुवासको खटाई उच्च रहेको वडावासी बताउँछन् । खानेपानीको चरम अभाव रहेको बालकोटमा निकै समयको प्रयासपछि ओभरहेड ट्यांकी मार्फत खानेपानी वितरणको काम पनि भर्खरै शुरु भएको छ ।
व्यवसायीको रुपमा आफ्ना दाजु निरोज कुमार कार्कीसँंगको साझेदारीमा बालकोट चोकमा विगत १४ वर्षदेखि सञ्चालित बालकोट स्टोर र ट्राभल एजेन्सीका समेत सञ्चालक रहेका सुवास सुर्यविनायक नगरपालिका २ नं वडा कार्यालय भवनदेखि वालविनायक आधारभूत विद्यालय र बालकोटकै चर्चित सामुदायीक विद्यालय महेन्द्र शान्ति माविको नयाँ भवन बनाउन पनि पहलकर्ताको रुपमा परिचित छन् ।










