राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचन जिते गाउँ घरमा गाई भैसीलाई पनि सुत्केरी भत्ताको व्यवस्था गर्ने घोषणा गरेको छ ।
राप्रपा कार्यालय धुम्बाराहीमा चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले गाई भैंसी सुत्केरी हुँदा पनि सुत्केरी भत्ता व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
उनले सार्वजनिक गरेको घोषणापत्रमा विपन्न महिलाहरुलाई ३ महिनासम्म मासिक ३ हजार रुपैंयाँका दरले सुत्केरी भत्ताको व्यवस्था गरिने पनि उल्लेख छ । विद्यालयका छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण, छात्रा शौचालयको व्यवस्था, सबै नागरिकलाई निःशुल्क स्वास्थ्य विमा लगायतका कुरालाई घोषणापत्रमा महत्व दिइएको छ ।
ज्यष्ठ नागरिकका लागि देशभित्र निःशुल्क तीर्थयात्राको व्यवस्था, महिलाद्धारा सञ्चालित उद्योगमा १२ वर्ष सम्म कर छुटको व्यवस्था, स्थानीय तहका सबै करमा ५० प्रतिशत कटौती, स्थानीय पालिका तथा वडा कार्यालयमा एक कार्यकाल सवारी खरिदमा रोक लगाइने लगाएतका घोषणा राप्रपाले गरेको छ ।








