विश्व स्वास्थ्य संगठन डब्लुएचओका प्रमुख डा.टोड्रोस नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेललाई दुई वर्षयता भेट्न चाहिरहेका थिए । गजुरेलले कोरोना महामारीका बेला टेड्रोसको क्यारिकेचर गरेपछि उनी गजुरेलबाट निकै प्रभावित थिए । आफ्नो हुबहु क्यारिकेचर गरेका गजुरेल कस्ता होलान् भन्ने टेड्रोसको कौतुहलता थियो ।
तीन दिनअघि नेपाल भ्रमणमा आएका टेड्रोसको व्यस्त सेडुअलका बीचमा उनलाई एउटा कुराको भने ठूलो चिन्ता थियो । त्यो चिन्ता हो, आफ्नो क्यारिकेचर गर्ने गजुरेललाई भेट्न पो पाउँदिन कि ? उनले आएकै दिन नेपाल स्थित विश्व स्वास्थ्य संगठनका पदाधिकारीसँग गजुरेललाई भेट्ने वातावरण मिलाइदिनँ आग्रह गरे । त्यही आग्रह बमोजिम शुक्रबार पाटनको एक स्कुलमा विश्व स्वास्थ्य संगठनका पदाधिकारीले टेड्रोस र गजुरेलको भेट गराइदिए ।
शुक्रबार पाटनढोकास्थित पाटन माध्यमिक विद्यालयमा टाइफाइड खोप कार्यक्रमको निरिक्षणमा पुगेका टेड्रोस र गजुरेलबीच भेटघाट भएको हो । टेड्रोस खोप कार्यक्रमको निरिक्षण गरिरहेका समयमा मनोज गजुरेल स्कुलभित्र छिर्दा टेड्रोसले हात हल्लाएर मुसुक्क मुस्कुराउँदै ओ..मनोज…भनेका थिए ।
आफ्ना बारेमा गरेको क्यारिकेचरबाट निकै प्रभावित भएको बताउँदै टेड्रोसले मनोजलाई तपाईँको कलाकारिताको प्रशंसक हुँ भने । ‘तपाईँको हाउभाउ, शैली र शब्दबाट म प्रभावित छु,’ उनले भने,‘ तपाइँको कलाकारिताले अझ उचाई लेओस् ।’ जवाफमा मनोजले विश्व स्वास्थ्य संगठनका प्रमुखबाट आफ्नो प्रशंसा हुँदा आफू निकै उत्साहित बताए ।








