निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन—२०७९ का लागि छपाई भएका मतपत्र जिल्ला जिल्लामा पठाउन थालेको छ ।
भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको कार्यालयबाट लोड भइ आज कर्णाली प्रदेशका १० जिल्ला र सुदूरपश्चिम प्रदेशका ३ गरी १३ जिल्लामा आज मतपत्र पठाइएको हो ।
वैशाख १४ गते काठमाडौँबाट लामो दूरीमा पर्ने पूर्व र पश्चिमका गरी ९ जिल्लामा मतपत्र पठाइने निर्वाचन आयोगले जानकारी दिएको छ । वैशाख १२ गतेसम्म १ करोड ५४ लाख ८३ हजार (८० प्रतिशत) मतपत्र छपाइको कार्य सम्पन्न भइसकेको छ । निर्वाचनका लागि १ करोड ९४ लाख मतपत्र आवश्यक पर्ने आयोगको अनुमान रहेको छ ।
आजै निर्वाचन सामग्री पुग्न बाँकी डोल्पाको दुनै र हुम्लाको सिमीकोटमा नेपाली सेनाको हेलिकोप्टरबाट सामग्री पठाइएको छ ।








