बलराम प्यासी
ललितपुर, १८ बैशाख । धेरै सुविधा पाउने सरकारी संस्थानको रुपमा परिचित नेपाल टेलिकमको सातौं तहको प्रशासन अधिकृतको जागीर छोडेर महालक्ष्मी नगरपालिका—७ चांगाथली, टिकाथलीका बाबुराजा महर्जन यही बैशाख ३० गते हुन लागेको स्थानीय निकाय निर्वाचनमा सो वडाको अध्यक्षमा उठेका छन् । वडाध्यक्षको मनोनयन दर्ता गरेसंगै महर्जन मत माग्न आफ्नो चुनावी क्षेत्रका मतदाताको घरदैलोमा पुगेका छन् ।
नेपाली कांग्रेसका क्षेत्रीयस्तरका नेता महर्जन चुनावी गठवन्धनको तर्फबाट महालक्ष्मी नगरपालिका—७ को लागि सर्वसम्मत रुपमा वडाअध्यक्षको उम्मेदवार बनेका हुन । त्यसो त गठवन्धन नबने पनि वडाध्यक्ष नहुँदै स्थानीय वासिन्दाका लागि गरेका कामले नै उनलाई वहुमतका साथ वडाध्यक्षमा जिताउने कांग्रेस नेताहरु बताउँछन् ।
अरनिको राजमार्गको कौशलटारबाट दुई किलोमिटर मात्र टाढा रहेतापनि खानेपानीको चरम अभाव, सडक सुविधा नभएको कारण स्थानीय वासिन्दा विरामी पर्दा अस्पतालमा लैजानै एम्वुलेन्सको अभाव खेप्दै आएको तत्कालिन टिकाथली गाविस—७ चांगाथली (हाल महालक्ष्मी नगरपालिका—७) को विकासको लागि महर्जन २०५५ सालदेखि नै सकृय थिए । आफ्नो वडाको गोरेटो बाटो चौडा गर्नेदेखि ढल तथा फोहोर व्यवस्थापनमा समेत महर्जनको योगदान अतुलनीय रहेको स्थानीय मतदाता बताउँछन् ।

२०५६ सालमा उनले आफ्नो पहलमा चांगाथलीका स्थानीय युवा र किशोर किशोरीलाई समेटेर चांगाथली युवा क्लव स्थापना गरे । विभिन्न स्वदेशी र विदेशी सामाजिक संघ संस्थाको सहयोगमा सो क्लवमा खेलकूद सामग्री जुटाए । पछि सोही क्लवले सञ्चालन गर्ने गरि जापानी दाताको सहयोगमा एउटा एम्बुलेन्सको व्यवस्था मिलाए । क्लवलाई जापानी रोटरी क्लवबाट एउटा एम्बुलेन्स उपहार दिलाउने काम रोटरी क्लव अफ पाटन वेष्टका तत्कालिन अध्यक्ष सिद्धिबहादुर शाक्यले गरिदिए ।
शहर नजिकको वस्ती भएतापनि स्थानीय वासिन्दा डोकोमा गाग्रो बोकेर खानेपानीको लागि बालकोटको सार्वजनिक धारासम्म चहार्नुुपर्ने वाध्यताको अन्त्यको लागि महर्जनले सोही क्लवको आयोजनामा चांगाथलीमा सप्ताहव्यापी महायज्ञको आयोजना गरि निःशुल्क जग्गाको साथै लाखौं रुपैयाँ संकलन गर्न सफल भए ।
महायज्ञबाट संकलित रकम र दाताबाट निःशुल्क प्राप्त जग्गामा २०६९ सालमा भूमिगत खानेपानी बोरिङ्ग गरि सो ओभरहेड टयांकीमार्फत सो वडाका १ हजार १०० परिवारलाई खानेपानी वितरण गरेर महर्जन स्थानीय वासिन्दाको मन जित्न सफल भए । वडाध्यक्ष नबन्दै टोलवासीलाई खानेपानी वितरण गर्न सफल भएका कांग्रेस नेता महर्जनलाई यसैका कारण पनि स्थानीय गृहिणीहरुले मत दिने स्थानीयहरुको भनाई छ ।
बौद्ध धर्मावलम्वीहरुको वाहुल्यता रहेको सो ठाउँमा महर्जनकै पहलमा २०७१ सालमा करीव ९३ लाख रुपैयाँको लागतमा चांगाथली बुद्ध विहारको स्थापना गरिएको थियो भने सो विहारको निर्माणको लागि स्थानीय टिकामाया महर्जनले ११ आना जग्गा दान दिएकी थिईन् ।
नेपाल टेलिकम वर्कर्स युनियनको केन्द्रीय उपाध्यक्षको रुपमा तीन कार्यकाल बिताएका महर्जन नेपाल जुडो संघको केन्द्रीय उपाध्यक्षका साथै चांगाथली क्लव, रोटरी क्लव अफ पाटन वेस्ट, अन्तर संस्थान खेलहूद संघ, चाँगाथली बुद्ध विहार, चाँ.गाथली खानेपानी तथा सरसफाई उपभोक्ता समितिलगायत विभिन्न सामाजिक संघसंस्थामा पदाधिकारी भएर काम गरिसकेका छन् ।
उनले जापान, चीन, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, स्पेन, टर्की, अष्ट्रेलियाका साथै सार्कका ६ वटा देशको भ्रमण गरि त्यहाँको विकास मोडेल प्रत्यक्षरुपमा हेरेर अनुभव बटुलेका छन् ।








