काठमाडौं महानगरपालिकामा मेयर पदका लागि उम्मेदवारी दिएकी विवेकशील साझाकी उम्मेदवार समीक्षा बास्कोटा र स्वतन्त्र उम्मेदवार बालेन शाह अहिले सामाजिक सञ्जालमा चर्चामा रहेका उम्मेदवार हुन् ।
तुलनात्मक रुपमा समीक्षाको भन्दा बालेनको चर्चा धेरै छ । तर, बालेनलाई आफैले कुनैबेला गाएको गीत यतिबेला घाँडो बनेको छ भने समीक्षालाई पार्टीभित्रको आन्तरिक कलह चुनावमा मुख्य चुनौती बनेको छ ।
अघिल्लो पटक काठमाडौंको मेयरमा विवेकशीलबाट उम्मेदवारी दिएकी रञ्जु दर्शनाको जुन स्तरको चर्चा थियो समीक्षा बास्कोटाको त्यो स्तरको चर्चा छैन । सामाजिक सञ्जालमा चर्चाका हिसाबले बालेन शाह समीक्षा बास्कोटा भन्दा धेरै अघि छन् । तर, बालेनले कुनैबेला महिलाको घोर अपमान हुनेगरी गीत गाएको भन्दै उनको आलोचना भइरहेको छ । काठमाडौंको नेशनल कलेजमा भावना राउतले केशव स्थापितको पारो छुट्नेगरी प्रश्न गरेकै दिन उनले बालेन शाहलाई पनि गीतका विषयमा प्रश्न गरेकी थिइन् ।
बालेन शाहले महिलाको अपमान हुनेगरी गाएको भनिएको गीत अहिले सामाजिक सञ्जालमा भाइरल छ । परिवारसँग बसेर सुन्नै नसकिने गीत गाएको भन्दै बालेन शाहमाथि प्रश्न मात्रै उठाइएको छैन बालेन जस्तालाई मेयरमा जिताइयो भने महिलाको हविगत के होला भनेर व्यंग्य पनि गरिएको छ । अहिले भाइरल भएको गीतमा बालेनले महिला र पुरुषका संवेदनशील अंगलाई इंगित गर्दै गीत गाएको देखिन्छ । छाडा गीत गाएको भनेर बालेनमाथि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको छ । चुनावी अभियानमा जुटेका बालेन शाहलाई अहिले त्यही विवादास्पद गीतले लखेटेको छ ।
उता विवेकशील साझाबाट काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी समीक्षा बास्कोटालाई भने पार्टीभित्रको आन्तरिक कलहले अप्ठ्यारो पारेको छ । अघिल्लोपटक प्रदेशसभा सदस्यमा काठमाडौंबाट चुनाव लडेकी समीक्षा यसपटक फेरि मेयरमा आएको भन्दै पार्टीभित्रको एउटा समुह उनको विपक्षमा लागिरहेको छ । समीक्षाका सवालमा विवेकशील साझा एक ढिक्का छैन । यसलाई हेर्दा पार्टीभित्रको अन्तरघात उनले बेहोर्नुपर्ने देखिन्छ ।
विवेकशील साझाभित्रको असन्तुष्ट समुह उनीमाथि विभिन्न आरोप लगाउँदै समिक्षा हराउ अभियानमा नै लागेको छ । विवेकशील साझाका महासचिव रहिसकेका निर्देश सिलवाल देखि लिएर संयोजक मिलन पाण्डेसम्मका फेसबुक स्टाटस हेर्दा समीक्षा पराजित भए हुन्थ्यो भन्ने भाव देखिन्छ ।
अप्रिल २४ का दिन विवेकशील साझाका निर्देश सिलवालले लेखेको फेसबुक स्टाटस हेर्दा त्यो सहजै भन्न सकिन्छ । उनले लेखेका छन् : ऊ बेला रन्जुको उम्मेदवारीले जति उर्जा दिएको थियो अहिले त्यति नै उत्साह बालेनको उम्मेदवारीले हामी युवाहरूलाई दिएको छ । जित र हार भन्दा पर पनि अर्को परिक्षा छ । त्यो परिक्षा अधिक महत्वपूर्ण छ । जुन बालेनले जितिसके ।
विवेकशील साझाका महासचिव रहिसकेका निर्देश सिलवालको यो फेसबुक स्टाटस सामान्य छैन । अघिल्लोपटक रञ्जुलाई जिताउँन घुँडा टेकेर लागेका विवेकशील साझाका धेरै नेताहरु अहिले समीक्षालाई हराउन लागिपरेका छन् । पार्टीको आन्तरिक कलह समाधान गरेर निर्वाचनमा होमिएको भए विवेकशील साझालाई केही राहत हुन्थ्यो । तर, एउटा पक्ष पूर्व र अर्को पक्ष पश्चिम मुख फर्काएर चुनावमा होमिएका कारण समीक्षालाई सहज छैन ।
आफू महासचिव बन्ने सम्भावना नदेखेपछि चैतमा घोषणा गरिएको महाधिवेशन विभिन्न बहानामा सार्न भूमिका खेलेको, पार्टीको केन्द्रीय कार्यालयमा असन्तुष्ट समुहले पत्रकार सम्मेलन गर्न खोज्दा अरुलाई उक्साएर त्यसमा अबरोध पु¥याएको, प्रेस नोट च्यातेको लगायतका आरोप असन्तुष्ट समुहले समीक्षामाथि लगाइरहेको छ ।
पार्टीमा आफू कमजोर अवस्थामा पुगेपछि चैत १३ गतेको केन्द्रीय समिति बैठकबाट आफ्ना विपक्षमा रहेका ७ जना सचिवालय सदस्य र १९ जना केन्द्रीय सदस्यलाई अवैधानिक तबरले पार्टीबाट निस्कासन गर्न भूमिका खेलेको असन्तुष्ट समुहका नेताहरुको आरोप छ । विवेकशील साझाबाट समीक्षालाई काठमाडौं महानगरको मेयरको टिकट दिने विषय समेत पार्टीका बैठकहरुमा छलफल नगरिएको भन्दै सो समुह समीक्षाका विपक्षमा लागेको छ ।
अघिल्लोपटक किशोर थापा साझा पार्टीको उम्मेदवार बन्दा पार्टीमा अहिलेको जस्तो कलह थिएन । सिंगो पार्टी एकमतले किशोर थापा जिताउ अभियानमा थियो । उता विवेकशीलकी रञ्जु दर्शनालाई पनि जिताउन विवेकशीलका नेता कार्यकर्ता कम्मर कसेर लागेका थिए । तर, समीक्षाका हकमा यसपटक त्यस्तो देखिएको छैन ।








