Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

महालक्ष्मी—९ का जेष्ठ नागरिकलाई घरदैलोमै सेवा दिने जयकृष्ण बोगटीको लक्ष्य


ललितपुर, २० बैशाख । यही बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि महालक्ष्मी नगरपालिका वडा नं ९ को अध्यक्ष पदमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका समाजसेवी जयकृष्ण बोगटी आफ्नो छुट्टै घोषणापत्र बनाएर मतदाता सामु पुगेका छन् ।

सो वडाका ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई हरेक महिना उनीहरुकै घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण, रोग अनुसारको निःशुल्क औषधि वितरणदेखि मासिकरुपमा सामाजिक सुरक्षा भत्ता वितरणसम्मको व्यवस्था गरिने उनको घोषणापत्रमा उल्लेख छ ।

‘६५ वर्ष कटेका बाआमालाई स्वास्थ्य परिक्षणको लागि अस्पताल र स्वास्थ्य चौकीसम्म धाउनुपर्ने वाध्यताको अन्त्य गर्नु मेरो पहिलो कर्तव्य हुनेछ’—आजको प्रेससँग वडाअध्यक्षका उम्मेदवार रहेका बोगटीले भने ।

ललितपुर लामाटारको साविकका ९ वटा वडामध्ये ८ वटा वडा हाल महालक्ष्मी नगरपालिका—९मा पर्छ । साविक लामाटार गाविसका ८ वटै वडामा मासिक रुपमा स्वास्थ्यकर्मी सहितको घुम्ती सेवा मार्फत जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलव्ध गराईने बोगटीले बताए ।

त्यतिमात्र नभई वडामा कृषिमा आधुनिकीकरण, स्थानीय युवाहरुलाई स्थानीय ९ वटा सहकारी संस्थामार्फत विभिन्न रोजगारमुलक तालिम दिएर स्वरोजगार बनाइने, वडामा आउने सेवाग्राहीलाई सुशासन र प्रविधियुक्त सेवाको व्यवस्था गरिने श्री विकासशिल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका बोगटीले बताए ।


अपाङ्ग, महिला, दलित, जनजातिदेखि बालबालिका, किशोर किशोरी र युवायुवतीका लागि विभिन्न कार्यक्रम अघि सारेका वडाध्यक्षका उम्मेदवार बोगटी यीनै आफ्नो घोषणापत्र बोकेर सो वडाका विभिन्न टोलमा घरदैलो गर्दैछन् । वडामा रहेको सार्वजनिक जमीन तथा सम्पत्तिको संरक्षण, ऐतिहासिक र पुरातात्विक सम्पदाको संरक्षण, विकास निर्माण, खेलमैदान निर्माण उनको प्राथमिकताका क्षेत्र हुन् ।

‘महालक्ष्मी नगरपालिका’ को नामाकरणमा २०७० सालदेखि नै वहस पैरवी गर्दै आएका नेपाली कांग्रेसका युवा नेता बोगटीको सो पहल सार्थक भएर ‘महालक्ष्मी नगरपालिका’ नामाकरण भएपछि नेपाली कांग्रेस पार्टीले एक सार्वजनिक कार्यक्रममै उनलाई सम्मान गरेको थियो ।

२०७२ साल बैशाखको महाभुकम्पमा आफ्नो ३ वटा घर भत्केतापनि स्थानीय टोलवासीको उद्धारका साथै राहत वितरणदेखि दुईवर्षअघिको विश्वव्यापी महामारी कोरोनाबाट आक्रान्त वडावासीलाई दिनरात नभनी राहत सहयोग जुटाएका कारण उनलाई मत हाल्न आतुर रहेको उनी समर्थक एक स्थानीयले बताए ।

बैशाख ३० मा हुने निर्वाचनमा नेकपा समाजवादी र राप्रपाका उम्मेदवार वडाध्यक्षको प्रतिष्पर्धामा उत्रिएपनि उनको प्रतिष्पर्धा भने एमालेका उम्मेदवारसँग रहेको स्थानीय बुद्धिजीवीहरु बताउँछन् । नेपाली कांग्रेसको बाहुल्यता रहेको सो वडामा कुल मतदाता ५ हजार ७४ रहेका छन ।

२०७४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा सो वडाको अध्यक्षमा पराजित भएका बोगटी यसपटक भने चुनाव जित्नेमा ढुक्क छन् ।

स्नातकसम्म अध्यन गरेका अध्यक्षका उम्मेदवार ४३ वर्षे बोगटीलाई नेपाली कांग्रेसकै वडाध्यक्षका ७ जना प्रतिष्पर्धी उम्मेदवारले समर्थन गरी आफ्नो नाम फिर्ता लिएपछि उनी वडाध्यक्षको लागि सर्वसम्मत उम्मेदवार भएका हुन् ।
(बलराम प्यासी)


प्रतिक्रिया दिनुहोस !
विचार