सत्ता गठबन्धनका तर्फबाट भरतपुर महानगरको मेयरकी उम्मेदवार रेणु दाहाललाई भोट माग्न प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबारदेखि चितवनमा छन् ।
प्रचण्डपुत्री समेत रहेकी रेणु दाहाललाई भोट माग्न देउवा र पौडेल बुधबार नै चितवन पुगेका छन् भने प्रचण्ड सहित सत्ता गठबन्धनका अन्य नेताहरु आज चितवन जाँदैछन् ।
कांग्रेसका तर्फबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेललाई मनाउने उद्देश्यले बुधबार नै देउवा चितवन पुगेपनि पौडेलले देउवाका सबै प्रस्ताव अस्वीकार गरेको बुझिएको छ ।
बिहिबार सत्ता गठबन्धनले चितवनको हाकिम चोकस्थित बसपार्कमा चुनावी सभा गर्दैछ । सो सभालाई सत्ता गठबन्धनका शीर्षस्थ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।








