Logo
२०८०, २३ मंसिर शनिबार
|  Sat Dec 9 2023

राप्रपा नेपालले राजसंस्था छाडेको होइन, ज्ञानेन्द्रलाई मात्रै छाडेको हो : सह–महामन्त्री शिवाकोटी


राप्रपा नेपालका सह-महामन्त्री डम्बर शिवाकोटीले राप्रपा नेपालले राजसंस्थाको एजेण्डा नभई राजा ज्ञानेन्द्रलाई मात्रै छाडेको बताएका छन् । आजको प्रेस डटकमसँगको अन्तर्वार्ताका क्रममा शिवाकोटीले यस्तो बताएका हुन् । प्रस्तुत छ, शिवाकोटीसँग आजको प्रेस डटकमले स्थानीय तहको चुनाव, राजसंस्था र हिन्दू राष्ट्रको एजेण्डा लगायतका विषयमा केन्द्रीत रहेर गरेको कुराकानी :

राप्रपा नेपालले पनि एमालेसँग गठबन्धन गरेर चुनावमा होमिने निर्णय ग¥यो आफै एक्लै चुनाव लड्ने तागत राप्रपा नेपालसँग भएन ?

हामीले २०७८ साल फागुन ७ गते प्रजातन्त्र दिवसकोे दिन राप्रपा नेपाललााई नयाँ ढंगले अघि बढायौं । पार्टी स्थापना भएको २ महिनाको बीचमा ७७ वटै जिल्लामा हामीले जिल्ला, प्रदेश, महानगर, उपमहानगर कमीटी गठन ग¥यौ तर जति गर्नुपर्ने हो त्यति मात्रामा गर्न सकिएन । जहाँसम्म गठबन्धनको कुरा छ त्यो त हामीले मात्रै होइन ठूला भनिएका दलहरुले पनि गरेका छन् नि ।

तपाईहरुले एमालेलाई नै किन यो चुनावमा आफनो ठान्नुभयो ?

अरु पार्टी नभएका होइनन् । एमाले भन्दा जेठो पार्टी काग्रेस पनि थियो तर राष्ट्रवादका हिसाबले केपी ओलीका ३ वटा कुराले हामी एमालेसँग यो चुनावमा नजिकियौं । र, हाम्रा विचार सिद्धान्त नमिले पनि हामीले एमाले सँग गठबन्धन गर्ने निर्णय ग¥यौँ । नाकाबन्दीका बेला उहाँले खेल्नुभएको भूमिका, चुच्चे नक्सा प्रकाशित गर्नमा उहाँले देखाएको अग्रसरता र निर्णयले हामीलाई उहाँको राष्ट्रवादी अडानमा शंका भएन ।

एमालेको सहारा लिएर कति स्थानिय तहका कुर्सीमा तपाइको पार्टीका उम्मेदवार बस्न सक्छन् भन्ने सोचिरहनु भएको छ ?

त्यो यकिन भन्न सक्ने अवस्था छैन किनकी उहाँहरुको नै ठेगान छैन तर हाम्रो क्षमता र हैसियत अनुसार सम्मानजनक नै हुन्छ भन्नेमा विश्वस्त छौ ।

तपाईहरु राप्रपा छाडेर राप्रपा नेपालतिर लाग्नुभयो अहिले चुनावी लहर तपाईहरुको तुलनामा राप्रपाको व्यापक छ त्यो देखेर बेला बेलामा मुखमा थुक आउँछ कि आउदैन ?

आउदैन अहिले नै सरकारमा पुगिहाल्ने भन्ने हाम्रो योजना होइन । हामी दीर्घकालिन उद्देश्य बोकेर अघि बढेका छौं ।

राजेन्द्र लिङदेनले नेतृत्व गरिसकेपछि राप्रपामा त्यो जनलहर आएको भनिन्छ त्यसप्रति तपाईको के धारणा छ ?

सिपाहीले टँुडिखेलमा परेड खेलेर सिपाहीको बल थाहा हुदैन बल लडाईमा थाहा हुन्छ । राजेन्द्र लिङदेनले सबै नेताहरुलाई गाली गरेर ताली खाएका छन् भन्दैमा उनको जनलहर देखियो भन्न मिल्दैन । भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो भनेर उहाँले उम्मेदवार उठाइरहनु भएको छ तर, झापाको कचनकौल गाउँपालिकामा राजेन्द्र लिङदेनको स्वयं भाई गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो उहाँकोमा ५ वर्षमा १ अर्ब ३७ करोड गएको रहेछ त्यसमध्ये ३७ करोडको हिनामिना छ । अब घुस खानु आमाको रगत खानु सरह हो भनिरहँदा त्यो प्रतिवेदन उहाँले हेर्नु भएको छ कि छैन ?

तपाईहरुले हिजो जसरी राजसंस्थाको एजेण्डा त्याग्नुभयोे त्यसरी नै हिन्दु राष्ट्रको एजेण्डा भोलिका दिनमा त्याग्नु हुँदैन भन्ने आधार के छन् ?

हामीले राजसंंस्थाको एजेण्डा छोडेका छैनौं , ज्ञानेन्द्र मात्र छाडेका हौ । ज्ञानेन्द्र भनेको राजसंस्था होइन, राजसंस्था र र ज्ञानेन्द्र अलगै हो । हामी राजसंस्था भनेर हिँड्दैनौं तर, कसैले राजसंस्था स्थापना गर्छ भने पहिलो स्वागत गर्ने हामी नै हुन्छौ ।

भनेपछि राजसंस्था मान्ने ज्ञानेन्द्र शाहलाई राजा चाहिँ नमान्ने ?

हामीले कल्पना गरेको राजसंस्थामा संसदबाट नियुक्त हुने राजा, अधिकार सबै संसदले लिने, प्रधानमन्त्रीले लिने त्यस्तोे राजसंस्था थियो । तर, उहाँले म टुलुटुलु हेरेर बस्ने राजा होइन, म केही गर्ने राजा हो भनेर भन्नुभयो । हामीले ३ करोड नेपालीको राजा खोज्या हो राप्रपा नेपालको, राजेन्द्र लिङदेनको होइन ३ करोड नेपालीको एकताको प्रतिकको रुपमा राजा खोजेको हो । उहाँलाई त्यो मञ्जुर भएन ।


प्रतिक्रिया दिनुहोस !
विचार