काठमाडौं महानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापित आफ्नै बोलीका कारण पटक पटक विवादमा तानिएका छन् । उनको बोली चुनावका समयमा उनीतिरै गोली जसरी फर्किएको छ ।
निर्वाचन आयोगले उनलाई बोलीकै कारण २ पटक त स्पष्टिकरण नै सोधिसकेको छ । महिलाको अपमान हुनेगरी काठमाडौंको नेशनल कलेजमा एक युवतीलाई यु आर नाइस लेडी बट् थुतुनो ठिक छैन भन्ने आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि उनको आलोचना मात्र भएन निर्वाचन आयोगले नै उनीमाथि एक्सन लियो । उनलाई निर्वाचन आयोगले पहिलो स्पष्टीकरण सोध्यो ।
सामाजिक सञ्जालमा उनी त्यो बोलीका कारण मजाकका पात्र बने । सम्भवतः आफ्नो बोलीकै कारण काठमाडौं महानगरपालिकाको निर्वाचनमा सबैभन्दा धेरै उडाइएका उम्मेदवार उनी नै हुन् । यु आर नाइस लेडीवाला विवादित अभिव्यक्तिपछि स्थापित सतर्क बन्ने केहीले अपेक्षा गरेका थिए । तर, स्थापितको शैली फेरिएन । मेयरका अर्का उम्मेदवार बालेन शाहलाई उनले एउटा कार्यक्रममा अन्तर्राष्ट्रिय ठग भनिदिए । त्यो अभिव्यक्तिका विषयमा पनि निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो ।
निर्वाचन आयोगको नोटीसमा भएका अभिव्यक्ति यी दुईवटा देखिए । तर, सामाजिक सञ्जालमा उनका अन्य अभिव्यक्तिहरु पनि यतिबेला विवादित र भाइरल बनिरहेका छन् । उनी विवादित उम्मेदवारका रुपमा सामाजिक सञ्जालमा भाइरल बनिरहँदा उनको बलियो प्रतिद्धन्दीका रुपमा रहेकी गठबन्धनकी उम्मेदवार सिर्जना सिंह भने विवादमा तानिएकी छैनन् । मिडियामा कमै बोल्ने र बोल्दा तौलिएर बोल्ने उम्मेदवारका रुपमा सिर्जना सिंह चिनिएकी छिन् । यसलाई धेरैले सिर्जनाको बलियो पक्षमा रुपमा लिएका छन् ।








