चितवनका मतदातालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धम्क्याएको भन्ने कुरा सही नभएको नेपाली कांग्रेसले बताएको छ । भरतपुरमा आयोजित चुनावी सभामा प्रचण्डले मतदातालाई धम्क्याउनेगरी अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेका बेला कांग्रेसले प्रचण्डको अभिव्यक्तिको बचाउ गरेको हो ।
कांग्रेसले पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिको बचाउ गर्दै भने, ‘प्रचण्डजीले कुन प्रसंगमा के भन्नुभयो तर, धम्की दिने कुरा मैले सुनेको छैन । ओली आए खराब हुन्छ भनेर उहाँले भन्न खोज्नुभएको होला, त्यो सही नै हो । ’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुट बाहेक अरु केही बोल्न नजानेको भन्दै उनले पत्रकार सम्मेलन नै गरेर ओलीले कांग्रेसमाथि लगाएका आरोप मिथ्या भएको बताए । आइतबार मात्रै एमाले अध्यक्ष ओलीले कांग्रेसलाई नीति र सिद्धान्त नभएको पार्टी भन्दै कांग्रेसका कारण देश बर्बाद हुँदै गएको बताएका थिए ।








