नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको विवादास्पद अभिव्यक्तिबारे आफ्ना धारणा सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसले पार्टी कार्यालय सानेपामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले आरजु राणाको अभिव्यक्तिका विषयमा गलत भ्रम फैलाइएको बताए । बोलेको कुरा एउटा र, प्रचार अर्कै गर्ने प्रवृत्ति पछिल्ला दिनमा बढेको भन्दै उनले भने,‘ आजकाल इफ, बट् भन्दा पनि विचार गर्नुपर्ने भएको छ । दायाँबायाँका कुरा हटाएर बीचबाट भिडियो तानिन्छ । उहाँको हकमा पनि त्यही भएको हो ।’
कांग्रेसले जिते फ्रि मा वडाबाट ५\७ जनालाई विदेश पठाइदिने भन्ने आरजु राणाको अभिव्यक्तिबारे पनि प्रवक्ता डा.महतलाई पत्रकारहरुले प्रश्न गरेका थिए । तर, त्यसबारे डा. महतले सिधा जवाफ भने दिएनन् । भिडियो गलत प्रकारले कटिङ गरेर भाइरल बनाइएको आशय व्यक्त गर्दै उनले विरोधीले भ्रम फैलाउने काम गरेको बताए ।
डा.आरजु राणाले केही दिनअघि कैलालीमा आयोजित चुनावी सभामा बोलेको भिडियोको क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यो भिडियो क्लिपमा कांग्रेसले जितेका ठाउँमा मात्रै बजेट पठाउँने कुरा उल्ल्लेख छ भने चुनावपछि ५\७ जनालाई फ्रि मा मलेसिया पठाउँने उल्लेख छ ।








