Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

को हुन् मोदीको लुम्बिनी भ्रमणमा सितार बजाउँने महिला ?


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा एकजना महिलाले सितार बजाइरहँदा धेरैको ध्यान उनीतिर तानिएको थियो । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवादेखि लिएर भारतीय प्रधानमन्त्री मोदीसम्म उनको सितार बादनलाई ध्यानपूर्वक हेरिरहेका थिए । उनले बजाएको सितारको धुनमा औपचारिक कार्यक्रमका सहभागीहरु मन्त्रमुग्ध देखिन्थे ।

त्यसरी सितार बजाउँने महिला अरु कोही नभएर सीता मैया राजचल थिइन् । सीता मैया राजचल अर्थात उभिएर सितार बजाउँने विश्वकै पहिलो महिला । उनको सितार बादनले लुम्बिनीमा  बेग्लै प्रकारको रौनकता थपेको थियो ।


सीतामैया राजचल ती महिला हुन् जसले उभिएर सितार बजाउँने पहिलो महिलाका रुपमा वल्ड बुक अफ रेकर्डस् लण्डनमा आफूलाई दर्ज गरिसकेकी छिन् । देश विदेशका विभिन्न स्थानमा आफ्ना प्रस्तुतीहरु दिइसकेकी राजचल विभिन्न सम्मानहरुबाट पनि सम्मानित छिन् । करिब तीन दशकदेखि गीत संगीतको क्षेत्रमा रहेकी सीतामैया २०५४ देखि व्यवसायिक रुपमा सितार बादनको काममा छिन् ।

मोदीको लुम्बिनी भ्रमणका दिन सुर सुधा ब्याण्डले आफ्नो प्रस्तुती दिएको थियो । जसमा सुरेन्द्र श्रेष्ठ, सरस्वती खत्री, विकास सुनार र रमन महर्जन रहेका थिए । मोदीको स्वागतमा सुर सुधाले शुरुमा फिसरम्यान धुन बजाएपछि द अर्थ धुन बजाएको थियो । त्यसपछि बुद्धको सम्मानमा विशेष प्रकारको धुन बजाउँदै नरेन्द्र मोदीका लागि क्रमशः गुजराती र हिन्दी गीत प्रस्तुत गरिएको थियो । करिब ६० मिनेट आफ्नो प्रस्तुती दिएको सुर सुधाले देश विदेशबाट प्रत्यक्ष प्रसारण हेरिरहेकाहरुलाई आनन्दित तुल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार