दोलखा जिल्लालाई एमालेको गढ जिल्लाका रुपमा लिइने गरिन्थ्यो । त्यसमा पनि कालिञ्चोक गाउँपालिकाको वडा नं ६ लाई त एमालेको किल्ला नै मानिन्थ्यो । तर, त्यही किल्ला नेपाली कांग्रेसका भरत पाण्डेले भत्काइदिए ।
एमालेको अत्यन्तै प्रभाव रहेको किल्ला भत्काएको भन्दै उनको चर्चा यतिबेला जिल्लाभर चुलिएको छ । जिल्लाका अन्य विभिन्न वडाहरुमा सत्ता गठबन्धन थियो । तर, एमालेको गढ मानिएको यो वडामा गठबन्धन थिएन । माओवादीका शम्भु थामी, एमालेका अमृत थामी र कांग्रेसका भरत पाण्डे एक्लाएक्लै चुनावमा होमिएका थिए ।
यसअघि एमालेका तर्फबाट कालिञ्चोक गाउँपालिकाको प्रमुख जितेका बिनकुमार थामी र एमालेबाटै जिल्ला समन्वय समितिका प्रमुख रहेका डबल पाण्डेको वडा भएका कारण पनि कांग्रेसले यहाँ नचिताए हुन्छ भन्ने थियो ।
यसअघिका चुनावमा कांग्रेसको मत अत्यन्तै न्यून भएका कारण यहाँ कांग्रेसले होइन एमालेले सहजै जित्छ भन्नेमा एमालेजन ढुक्क थिए । अरु वडामा गठबन्धन हुँदै गर्दा यो वडामा गठबन्धन नहुनु एमालेका लागि काइदाको विषय थियो । तर, भरत पाण्डेले एमालेजनले सोच्दै नसोचेको नतिजा ल्याइदिए ।

त्यसो त चुनावी अभियानमा भरत पाण्डेको माहोल देखेर एमालेजनका मनमा केही चिसो भने पसेको थियो । चुनावका मुखमा मात्रै फिल्डमा खटिने परम्परालाई भूकम्प, कोरोना महामारी जस्ता समयमा पाण्डेले तोडेका कारण पनि उनले ६ नम्बर वडामा एमालेको किल्ला तोड्छन् भन्ने केहीको अनुमान थियो । उनी स्वयं भन्ने गर्थे, ‘ जनताले काम हेरेर मत दिए भने म जित्छु तर, जनताले काम होइन उही पुरानै शैली अपनाए भने चाहिँ भन्न सकिन्नँ ।’
तर, भरत पाण्डेले फराकिलो मत अन्तरले जिते । एमालेको गढ मानिएको ठाउँमा बिना गठबन्धन चुनाव जित्नु जिल्लामै उदाहरणीय भएको उक्त वडाको कुनैबेला अध्यक्ष रहेका निलशंकर भण्डारी बताउँछन् । ‘एमालेको गुँडमा कांग्रेसले जित्नु सामान्य होइन, अब कांग्रेसको जिल्ला नेतृत्वले भोलिका दिनमा भरत पाण्डेको उच्च मूल्यांकन गर्दै थप जिम्मेवारी दिनुपर्छ । ’
भरत पाण्डे स्थानीय तहमा नेविसंघ, तरुण दल लगायतको राजनीति गर्दै पार्टी राजनीतिमा लागेका युवा हुन् । पार्टी राजनीतिमा लाग्दै गर्दा उनी सांघातिक हमलामा पनि परेका थिए । उनी भन्छन्,‘ कांग्रेसको न्युन प्रभाव भएका समयमा यो ठाउँमा हामीलाई कांग्रेसी भनेर हिँड्न पनि समस्या थियो । हामीभन्दा अघिल्लो पुस्ताले कांग्रेस भएकै कारण यो ठाउँमा कति हेपाई सहनुप¥यो त्यो शब्दमा म व्यक्त गर्न सक्दिनँ । तर, मैले जितेपछि अब म सबैको वडाध्यक्ष हुँ कसैमाथि कहिल्यैपनि भेदभाव हुन दिन्नँ ।’

थाङबारुका स्थायी बासिन्दा पाण्डे सेनाका पूर्व जवान समेत हुन् । राजनीति गर्दागर्दै फरक पार्टीको अत्याचार सहन नसकेपछि तत्कालिन समयमा उनी सेनामा गएको परिवारका सदस्यहरु बताउँछन् । परिवारका सदस्य भन्छन्, ‘ उसको लक्ष्य एकपटक यो ठाउँमा कांग्रेसको विजयको झण्डा फहराउँने थियो, अहिले पूरा भएको छ ।’








