पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको पार्टी जसपाले गोरखाका कुनै पनि स्थानमा पालिका प्रमुख जित्न सकेन ।
जसपाका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले आफ्नै गृहनगर पालुङटारमा समेत जसपालाई जिताउँन सकेनन् । गोरखाका ११ स्थानीय तह मध्ये कुनै पनि तहमा जसपा विजयी हुन नसकेपछि जसपाका नेता कार्यकर्ताले बाबुराम भट्टराईमाथि प्रश्न उठाउँन थालेका छन् ।
गोरखाका ८ स्थानीय तहमा माओवादीले जितेको छ भने दुई वटा तहमा नेपाली कांग्रेसले जितेको छ । अर्को एउटा स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भइनसकेपनि मतगणना जारी रहेको गाउँपालिकामा जसपाका प्रमुख पदका उम्मेदवार नै छैनन् ।
आफ्नो गृहनगर पालुङटारमा नेपाली कांग्रेससँगको तालमेलमा भट्टराईले उम्मेदवार खडा गरेको भएपनि त्यहाँ जसपाले जित्न सकेन । माओवादीका विवश चिन्तनसँग जसपाका प्रेमबहादुर गुरुङ पराजित भए ।








