पूर्वराजालाई विभिन्न आरोप लगाउँदै राप्रपाबाट अलग भएर राप्रपा नेपाल ब्युँताएका कमल थापाले स्थानीय तहको निर्वाचनमा शर्मनाक पराजय बेहोरेका छन् ।
नेकपा एमालेसँग चुनावी तालमेल गरेर स्थानीय तहको निर्वाचनमा होमिएको राप्रपा नेपालले अहिलेसम्म कहिँ पनि जितेको छैन । निर्वाचनका अन्तिम मतपरिणाम धमाधम सार्वजनिक भइरहँदा राप्रपा नेपालको नामो निशाना देखिएको छैन ।
कमल थापा नेतृत्वको राप्रपा नेपालले देशका विभिन्न स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दिएको भए पनि कतै पनि राप्रपा नेपालका उम्मेदवारहरु निर्वाचित हुन सकेनन् ।
राप्रपाले प्रदेश १ बाट धरान उपमहानगरपालिका प्रमुखसहित विभिन्न पालिकाका विभिन्न पदमा ७ उम्मेदवार खडा गरेको थियो । तर, कहिँ पनि ऊ निकटतम प्रतिस्पर्धामा समेत आउँन सकेन । मधेस प्रदेशका विभिन्न पालिकाका विभिन्न पदमा पनि राप्रपा नेपालले ६३ उम्मेदवार खडा गरेको थियो । यस्तै बागमती प्रदेशका विभिन्न पालिकाका विभिन्न पदमा ४३, गण्डकी प्रदेशमा ५, लुम्बिनी प्रदेशमा ९५, कर्णालीमा २८ र सुदूरपश्चिममा ९ उम्मेदवार खडा गरेको थियो ।
राप्रपा नेपालले स्थानीय तहको निर्वाचनमा नराम्रो पराजय बेहोर्दै गर्दा राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले भने अघिल्लो पटकको निर्वाचनको तुलनामा निकै राम्रो नतिजा प्राप्त गरेको छ । काठमाडौं सहित विभिन्न ४ स्थानीय तहका प्रमुख पद जितिसकेको छ ।








