Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

काठमाडौंमा पुनः मतगणना गर्न गठबन्धनका उम्मेदवारको माग


काठमाडौं महानगरपालिकामा गठबन्धनका तर्फबाट उपमेयर पदको उम्मेदवार रहेका रामेश्वर श्रेष्ठले पुनः मतगणनाको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन् ।

नेकपा एमालेका तर्फबाट उपमेयर पदको उम्मेदवार रहेकी सुनिता डंगोल भारी मतान्तरका साथ अघि बढिरहँदा गठबन्धनका तर्फबाट उपमेयर पदको उम्मेदवार रहेका श्रेष्ठले निर्वाचन अधिकृतको ढोका ढक्ढक्याएका हुन् ।

उपमेयर तर्फको मतगणनामा अन्याय भएको तर्क सहित निर्वाचन अधिकृतको कार्यालय पुगेका श्रेष्ठले महानगरपालिकामा कांग्रेसका तर्फबाट उपमेयर पदको उम्मेदवार नरहेको रुख चिन्ह र एकीकृत समाजवादीको कलम चिन्हमा गरिएको मतदानलाई सदर गरिनुपर्ने जिकिर गरेका छन् ।

कलम चिन्हबाहक आफूले उपमेयर पदमा र रुख चिन्ह बाहक काँग्रेसले मेयर पदमा उम्मेदवारी दिएको उल्लेख गर्दै श्रेष्ठले रुख चुनाव चिन्ह बाट उपमेयर पदमा उम्मेदवारी नपरी खाली रहेको अवस्थामा रुख र कलममा मत पर्दा त्यसलाई बदर गर्नु गलत भएको दाबी गरेका छन् ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २४ मा उम्मेदवारले नाम फिर्ता लिने समय समाप्त भए पछि निर्वाचन अधिकृतले बाँकी रहेका उम्मेदवारको नामावली तोकिए बमोजिम तयार गरी प्रकाशन गर्न पर्न र दफा २६ मा उम्मेदवारी दिएर अन्तिम नामावली प्रकाशन भएका उम्मेदवार र दलले निर्वाचन चिन्ह पाउने कानुनी व्यवस्थाको आलोकमा दफा ५१(१)(ङ) लाई हेरिन र व्याख्या गरिनु पर्ने उनको दलिल छ । यसरी उम्मेदवारी परी, अन्तिम भइ, निर्वाचन चिन्ह प्राप्त गरेका उम्मेदवारलाई नै मतदाताले मतदान गर्ने भन्दै उनले मतपत्रमा उम्मेदवार नै नभएका खाली कोठामा निर्वाचन चिन्ह राखिनु दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय विपरीत हुने श्रेष्ठको तर्क छ ।

उम्मेदवार नै नभएका उपमेयरको रूख चिन्हमा मत संकेत हुँदा आफू उम्मेदवार भएको कलम चिन्हको मत संकेतलाई समेत बदर गरिनु गलत भएकाले पुनः मतगणना गरी त्यसलाई सच्याइनुपर्ने उनको जिकिर छ ।

उनले भनेका छन्, ‘तसर्थ स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७, १९, २२, २४ र २६ को भावना र मनसाय अनुसार हुने गरी प्रतिस्पर्धी उम्मेदवार नै नभएका कलम र रूख चिन्हमा मत सङ्केत भएका मतपत्रमा म उम्मेदवार भएको कलम चिन्हको मत सङ्केतलाई सदर मानी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५२ बमोजिम तत्काल पुनः दाहो¥याइ मतगणना गरी गणना हुन बाँकी मतपत्र समेत यसै कानुनी आधारमा गणना हुन मतदान (मतगणना) अधिकृतलाई आदेश गरिपाऊँ’ ।

उपमेयर तर्फका उम्मेदवार रामेश्वर श्रेष्ठ निर्वाचन कार्यालयमा गएपनि मतगणना भने जारी छ । यस विषयमा निर्वाचन कार्यालयले कुनै निर्णय गरेको छैन ।


प्रतिक्रिया दिनुहोस !
विचार