विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत एक विज्ञप्ती प्रकाशित गर्दै अध्यक्ष पदबाट राजीनामा दिएको जानकारी दिए । तर, उनको राजीनामाको असर भने साझा पार्टीभित्र मात्रै नभई नेकपा एमाले सम्म पुगेको बुझिएको छ ।
विवेकशील साझा पार्टीले निर्वाचनमा बेहोरेको हारको नैतिक जिम्मेवारी लिँदै मिश्रले राजीनामा दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली पनि अप्ठ्यारोमा परेका हुन् ।
रवीन्द्र मिश्रले झैं एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि स्थानीय निर्वाचनमा एमालेले बेहोरेको पराजयको जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने आवाज केही नेताहरुले उठाउन थालेका छन् ।
०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालिन महासचिव माधवकुमार नेपालले एमालेले भोगेको पराजयको जिम्मेवारी लिएर राजीनामा दिए जस्तै अहिले ओलीले राजीनामा दिनुपर्ने केही नेताको भनाई छ । तर, मिडियामा नाम उल्लेख नगर्ने सर्तमा एमालेका केही नेताहरुले यो विचार राखेपनि खुलेरै भन्ने आँट भने कसैले गरेका छैनन् ।
एमालेमा प्रतिपक्षी नेताका रुपमा चिनिएका भीम रावल र घनश्याम भुसाल पक्षधर नेताहरु रवीन्द्र मिश्रले विवेकशील साझाबाट राजीनामा दिएको यही मौकामा एमालेभित्र पनि यो विषय उठाउँनुपर्ने पक्षमा देखिएपनि आपसी छलफलमै रहेको बुझिएको छ ।
अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको एमाले यसपटक निकै कम मतका साथ दोस्रो स्थानमा छ । देशका ६ महानगरपालिका मध्ये एउटा पनि स्थानमा एमालेले विजय हासिल गर्र्न सकेन भने यसअघि जितेका धेरै स्थानीय तह एमालेले गुमाउनु परेको अवस्था छ ।






