Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बालेनले नयाँ दल खोल्लान् ?


देशकै सबैभन्दा ठूलो महानगर काठमाडौंका विजयउन्मूख मेयर बालेन्द्र शाह उर्फ बालेन यतिबेला चर्चाको केन्द्रमा छन् । उनी विजयउन्मूख भइरहँदा आम मानिसहरुका मनमा एउटा प्रश्न उठेको छ– के अब यिनी कुनै दलमा प्रवेश गर्लान् वा आफ्ना समर्थक, शुभेच्छुकहरुको साथ लिएर छुट्टै नयाँ दल खोल्लान् ?

हुन त मतगणना सुरु भएर उनले अग्रता लिन थालेसँगै सहरका बौद्धिक जमात र आम मानिसहरुले उनको भावी कार्यकालका बारे अनेक खाले टिका टिप्पणी गर्न थालेका थिए ।

कतिपयले भनेका थिए, दलका प्रतिनिधिका रुपमा वडाअध्यक्ष र वडा सदस्य जितेर आएकाहरुसँग स्वतन्त्र रुपमा जितेका बालेनले भिडेर काम गर्न सक्दैनन् । नगरसभामा बहुमतको निर्णय हुने हुँदा बालेन एक्लैको केही लाग्दैन । त्यही कारण पनि उनले कुनै न कुनै दलमा प्रवेश नगरी सुखै छैन ।

तर, बालेनले भने लोभ लालचमा नफँसी सफा चित्तले काम गर्ने हो भने कसैले पनि बाधा गर्न नसक्ने बताउँदै आएका छन् । “मलाई असफल पार्न खोज्नु भनेको उहाँहरु पनि असफल हुनु हो ।” उनले पटकपटक भनेका छन्, “मलाई लाग्छ जानाजान त्यसरी कोही पनि असफल हुन चाहनु हुन्न ।” विगतमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफू अल्पमतमा हुँदा पनि राम्रो काम गरेर देखाएको उदाहरण उनले पेश गर्ने गरेका छन् ।

अर्काथरि विश्लेषकहरुले चाहिँ वर्तमान कर्मचारीतन्त्र र दलीय संरचनाभित्र बसेर बालेनले काम गर्न सक्दैनन् भन्ने तर्क गर्छन् । उनीहरुले भन्ने गरेका छन्– “बेथिति, भ्रष्टाचार र कमिशनमा जेलिएको कर्मचारीतन्त्रले उनलाई कामै गर्न दिँदैन । दलका भातृ संगठनको रुपमा रहेका कर्मचारी संघ संगठनहरुले असहयोग गरेर उनलाई असफल बनाउँछन् । कर्मचारीतन्त्रको जालो चिर्नु कर्मचारी सञ्चालनको अनुभव नभएका बालेनको बुताको कुरा होइन ।”


विगत पाँच वर्षदेखि देशभरका विभिन्न नगरपालिकाहरु पुगेर त्यहाँका राम्रा पक्षहरुका बारेमा स्थलगत अध्ययन गरेका बालेनले सबैलाई रिझाएर काम लिने बताउँदै आएका छन् । हत्तपत्त कसैसँग नरिसाउने, हरेक प्रश्नको तत्कालै वस्तुगत उत्तर दिन सक्ने विलक्षण खुबी भएका बालेनले महानगरको कर्मचारीतन्त्रको स्वभावलाई नजिकैबाट बुझेका छन् । विगतमा नक्सापास र भुकम्पपछि पुनर्निर्माणको सिलसिलामा महानगरका कर्मचारीहरुसँग मिलेर थुप्रै काम गरेको उदाहरण उनले पेश गर्ने गरेका छन् ।

यद्यपि मुखले भन्नु र व्यवहारले सिद्ध गरेर देखाउनुका बीच आकाश र जमिन जत्तिकै अन्तर छ । यस कारण पनि भन्न सकिन्छ, उनको खास परीक्षाको घडी अब सुरु भएको छ ।

तर उनी आम मतदाताको आफूप्रतिको विश्वासलाई यत्तिकै खेर जान दिने पक्षमा छैनन् । देश सेवालाई आफ्नो जीवनको अभिष्ट बनाएका बालेनका लागि महानगरपिताको जिम्मेवारी एउटा टर्निङ प्वाइन्ट मात्रै हो । त्यसैले यो पाँच वर्षे कार्यावधिलाई बढीभन्दा बढी काम गरेर जनताको मन जित्ने अवसरका रुपमा उपयोग गर्न चाहन्छन् ।

केहीको विश्लेषण छ, त्यसपछि उनी दल खोल्नतिरै लाग्छन् । “म भविष्यमा कुनै दलमा छिर्ने छैन ।” आजको प्रेससँगको एउटा अन्तर्वार्तामा उनले भनेका थिए, “मेयरमा उत्तराधिकारीको विकास गर्ने हो । काम गर्दागर्दै अर्को मान्छे तयार गर्ने हो ।”

राष्ट्रको मुहार बदल्ने संकल्प लिएर राजनीतिमा होमिएका बालेनले विभिन्न क्षेत्रका विज्ञहरुसँग भेटेर त्यस सम्बन्धी खाका समेत तयार गरिसकेको बुझिएको छ । विगतमा आफ्ना हिपहप गीतहरु मर्फत् राजनीतिक बेथिति बिसङ्गतिहरु माथि कटाक्ष प्रहार गर्दै आएका उनी विजयको सम्मुख भएसँगै थप विनम्र बनेका छन् ।

चुनावी अभियानमा उनीसँगसँगै हिँडेर सघाएका एक जना सदस्यका अनुसार छुट्टै दल निर्माण गर्नुअघि उनी देशभर आफ्ना शुभेच्छुक सर्मथकहरुको सञ्जाल निर्माण गर्ने योजनामा छन् । त्यसको पूर्व तयारी स्वरुप आगामी प्रदेश र संसदीय निर्वाचनमा देशका बढीभन्दा बढी ठाउँमा स्वतन्त्र उम्मेदवार उठाउने वातावरण निर्माण गर्ने उनीहरुको तयारी छ ।

यतिबेला उनी आफ्नो घोषणापत्रमा उल्लेख भएका कुराहरुलाई एकपछि अर्को गर्दै पारदर्शी ढङ्गले सम्पन्न गर्दै जाने र जनताको मन जित्ने ध्याउन्नमा छन् । उनको टीम यतिबेला काठमाडौं महानगरमा कसरी प्रभावकारी ढङ्गले काम गर्न सकिन्छ भनेर खाका बनाउने योजनामा लागिसकेको छ । सो टीमले सम्बन्धित क्षेत्रका विज्ञहरुसँग भेटघाट गरेर परामर्श लिने कामलाई तीब्र बनाएको छ ।

बालेनको चुनावी अभियानमा दिनरात खटेर लागेका एक सदस्य भन्छन्, “पाँच वर्षभित्र बढीभन्दा बढी काम गरेर जनताको मन जित्ने कुरामा हाम्रो ध्यान केन्द्रीत हुनेछ । जनताको मत जितिसकेपछि अर्को स्थानीय चुनावसम्म देशभर उम्मेदवार खडा गर्ने र त्यसै बखत नयाँ दल घोषणा गर्ने योजना चाहिँ हाम्रो रहेको छ ।”


प्रतिक्रिया दिनुहोस !
विचार