काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले जितपछि आफ्ना योजना सार्वजनिक गरेका छन् । सरकारी सञ्चार माध्यम राससलाई उनले दिएको अन्तर्वार्तामा सामुदायिक विद्यालयको शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम सुरु गर्ने बताएका छन् । साथै उनले काठमाडौं उपत्यकाभित्र रहेका १८ वटा नगरपालिकाहरुसँग सहकार्य गर्दै अघि बढ्दै काठमाडौं महानगरलाई नमूना बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।
कार्यभार सम्हालेको भोलिपल्टबाटै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारबाट काम थालनी गर्ने उनले बताएका छन् ।
“शिक्षा र स्वास्थ्य मेरो पहिलो प्राथमिकता हो । विद्यालयको स्तरोन्नति ससाना कुराबाट हामी सुरु गर्नेछौँ ।” रासससँगको कुराकानीमा उनले भनेका छन्, “विद्यार्थीलाई भर्ना गर्नु अगावै अभिभावकले अनुभूत गर्ने गरी विद्यालयको स्तरोन्नति गर्नेछौँ । पूर्वाधार, सरसफाइ तथा स्वच्छ वातावरण निर्माण गरिने छ । विद्यार्थीका लागि आवश्यक खेल मैदानको व्यवस्था गरिने छ ।”
सिकाइलाई प्रभावकारी बनाउन प्रविधिको प्रयोग गर्ने तथा शिक्षकहरुलाई थप तालिम दिन विदेशबाट प्रशिक्षकहरु झिकाउने योजना उनले बनाएका छन् । “बालबालिकालाई घरदेखि नै विद्यालय जाउँजाउँ लाग्ने वातावरण निर्माण गर्नेछौँ ।” उनले भनेका छन्, “निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा आउने बनाउने हाम्रो चाहना हो ।”
“काठमाडौं उपत्यकाको इतिहास संस्कृति, सम्पदा, आयुर्वेद, योगध्यान बारेमा बालबालिकाले सजिलोसँग बुझ्ने गरी पाठ्यक्रम बनाउने छौँ । एक देखि आठ कक्षासम्मको पाठ्यक्रम परिमार्जन गर्ने छौँ ।” उनले बताएका छन्, “हामीले प्राविधिक रुपमा पनि शिक्षाको गुणस्तर बढाउने योजना अगाडि सारेका छौँ । शिक्षाको डिग्रीबाहेक अन्य सीप भयो भने आयआर्जनमा सहयोग पुग्न सक्छ । विद्यार्थीलाई आफैँ सक्षम बनाउने हाम्रो उद्देश्य हो ।”
कक्षाकोठा र शौचालय अपाङ्गमैत्री बनाउने तथा छात्राका लागि सेनेटरी प्याडको व्यवस्था गर्ने बालेनको योजना छ । “आन्तरिक सजावट तथा व्यवहारको दृष्टिबाट कक्षाकोठा प्रवेश गर्नेबित्तिकै बसौँबसौँ, पढौँपढौँ लाग्ने बनाउन सकिन्छ ।” उनले भनेका छन्, “विद्यालयमा सकारात्मक वातावरण बनाउन आवश्यक बजेट छ्ट्याउँछौँ र प्रभावकारी अनुगमन गर्छौँ ।”
दोस्रो प्राथमिकतामा उनले स्वास्थ्यलाई राखेका छन् । त्यसका लागि उनले हरेक वडामा चिकित्सक, नर्स र प्राविधिकहरुसहितको प्रयोगशाला राख्ने योजना बनाएका छन् । “वडा क्लिनिकमा मुटु, मिर्गौला तथा कलेजो एवं रगत, रक्तचाप, मधुमेहको सामान्य परीक्षण गर्न सक्ने पूर्वाधार निर्माण गर्छौं । कम्तीमा छ महिनामा एकपटक निःशुल्क परीक्षण गर्ने व्यवस्था मिलाउछौँ । यसले ठूलो रोग लाग्नभन्दा अगाडि नै थाहा पाउन सकिन्छ ।” बालेनले भनेका छन्, “पाठेघर र स्तनको क्यान्सरको ‘स्क्रिनिङ’ गराउने योजना छ । क्यान्सरको स्क्रिनिङ र प्रयोगशाला ३२ वटै वडामा राख्न सक्यौँ भने ठूलो रोग लागेर अस्पताल धाउनुपर्ने र धेरै खर्च व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुन सक्छ ।”
“सम्पत्ति कर र घरबहाल कर तिर्दा त्यसको केही अंश स्वास्थ्य बीमाको ‘प्रिमियम’का रुपमा लिने र त्यसबाट स्वास्थ्य सुविधा दिन सकिन्छ । त्यसो गर्दा नागरिकलाई कर तिरौँतिरौँ पनि लाग्ने र स्वास्थ्य सुविधा पनि लिने वातावरण बनाउछौँ । यसले महानगरवासीलाई कर तिर्न अभिप्रेरित गर्नेछ ।” बालेनले भनेका छन् । यसका साथै उनले महानगरवासीले शारीरिक व्यायाम गर्न पाउन् भनेर बढीभन्दा बढी उद्यान बनाउने तथा सरकारी अस्पतालमा सुविधा बढाउने योजना अघि सारेका छन् ।
तेस्रो योजनामा उनले खानेपानीको आपूर्तिलाई राखेका छन् । खानेपानीको आपूर्तिलाई कसरी सहज बनाउनु हुन्छ ? भन्ने प्रश्नमा बालेनले भनेका छन्, “अहिले भइरहेको ‘बोरिङ’बाट नै खानेपानी उपलब्ध गराउने हो । बोरिङको ‘लेभल’ हामीले बढाउन आकासेपानीको प्रयोग गरी भूमिगत जल सतहलाई ‘रिचार्ज’ गर्नुपर्छ । घरका छतमा परेको पानी पाँच फिट गहिरो खाडल खनेर ग्राभेल राखेर जमिनमुनि पठाउने हो । एउटा घरको आकासेपानी जमिनमुनि पठाउँदा १० वटा घरलाई खानेपानी पुग्छ । यसले बोरिङ गरेको छ उसले अनिवार्य ‘रिभर्स बोरिङ’ गर्नुपर्छ । सरकारी कार्यालयमा रिभर्स बोरिङ गराइयो भने आसपासका क्षेत्रमा बोरिङको लेभल बढ्छ ।”
जमिन मुनि पानीको सतह बढाउन खाली रहेका स्थान, सरकारी कार्यालयका परिसरमा ससाना पोखरी खनेर आकासेपानी जम्मा गर्ने उनको योजना छ । “आकासेपानी पोखरीमा जम्मा गरेर उपत्यकाका नदी नालामा आउने बाढी पनि रोक्न सकिन्छ । यसबाट भूमिगत जल सतह माथि आउँछ ।” बालेनले भनेका छन्, “बोरिङ र इनारको सतह बढ्छ, यसले खानेपानीको समस्या केही हदसम्म कम हुन्छ ।”
बालेनले आफ्नो चौथो योजनामा फोहर व्यवस्थापनलाई राखेका छन् । त्यसका लागि बञ्चरेडाँडामा बनाइएको नयाँ डम्पिङसाइट सञ्चालनमा ल्याउने तर त्यहाँ सकेसम्म कम फोहर पठाउने योजना उनको छ । स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याउने, कुहिने फोहरलाई जैविक मलका रुपमा प्रयोग गर्ने अनि नकुहिने फोहरलाई जलाउने मेसिन मार्फत नष्ट गर्ने उनको योजना छ ।
“फोहर लिनका लागि हामी दुई प्रकारका गाडीको व्यवस्था गर्छौं । सातामा दुई दिन फोहर लिन आउँदा फरकफरक दिन कुहिने र नकुहिने गाडी पठाउँछौँ । टोलटोलमा कन्टेनर राखिएको अवस्थामा पनि दुई÷दुई वटा कन्टेनर राख्छौँ ।” बालेनले भनेका छन्, “स्रोतमा नै फोहरलाई छुट्याउन सकियो भने कुहिनेलाई जैविक मलका रुपमा प्रयोग गर्न सक्छौँ । नकुहिने फोहरको त्यहीअनुसार व्यवस्थापन गर्न सकिन्छ । जैविक मललाई राजधानी नजिकका खेतीयोग्य काभ्रेपलाञ्चोक, धादिङलगायत जिल्लामा बिक्री गर्न सकिन्छ ।”
उनले उपत्यका आसपासका जिल्लामा रहेका खेतीयोग्य खाली जमिन भाडामा लिने योजना पनि बनाएका छन् । त्यहाँ खेती गराएर केही व्यक्तिलाई रोजगारी पनि दिन सकिन्छ भन्ने विश्वास उनको छ । “यहाँ अवसर छ तर ‘ग्यारेन्टी’ नहुँदा युवा विदेश गइरहेका छन् । महानगरले १२ महिनाको तलब दिने सुनिश्चिता भएपछि युवाले यहीँ काम गर्छन् ।” उब्जाउ भए पनि नभए पनि, बिक्री भए पनि नभए पनि उनीहरुलाई घाटा भएन । खेती गरेर रोजगारी बढाउन सकियो । विदेश नजान र विदेशमा रहेका युवालाई यही तान्न पनि सकियो । नगरवासीलाई स्वच्छ र ‘अर्गानिक’ तरकारी खुवाउन पनि सकियो ।”








