Logo
७ कार्तिक २०८३, शनिबार
|  Sat Oct 24 2026

एक्लै बञ्चरेडाँडामा बालेनको तस्वीर , सुनिता प्रतिपक्षी बन्लिन् कि सहयोगी ?


काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह शुक्रबारको धन्यवाद सभालगत्तै नुवाकोटको सिसडोल र बञ्चरेडाँडा पुगे । उनी त्यहाँ पुगेको तस्वीर सार्वजनिक भइरहँदा कतिपयले त्यहाँ उपमेयर सुनिता डंगोल पनि हुनुपथ्र्यो भनेर सामाजिक सञ्जालमा कमेन्ट गरे ।

महिनौंदेखि काठमाडौंका सडकमा फोहरको समस्या देखिँदा त्यसको समाधानका लागि नवनिर्वाचित मेयरको हैसियतमा चासो लिएर पहल गर्न खोज्नु अस्वभाविक होइन । तर, उनले लोकप्रिय मतका साथ विजयी बनेकी उपमेयर सुनिता डंगोललाई सुरुकै दिनदेखि साथ लिएर अघि बढ्न नचाहेको हो कि भन्ने रुपमा सिसडोल र बञ्चरेडाँडामा उनको एक्लो उपस्थितीलाई लिएर केहीले आशंका गरे ।

विगतमा एमाले तर्फका मेयर विद्यासुन्दर शाक्य र नेपाली काङ्ग्रेसका तर्फबाट उपमयेर जितेकी हरिप्रभा खड्गीको अधिकांश समय झगडा गरेरै बितेको देखेकाले पनि आम मतदाताले फेरि पनि यस्तो नहोस् भन्ने चहना राख्नु अस्वभाविक पनि होइन ।

काठमाडौं महानगरपालिकाको नगरसभामा एमाले कमजोर अवस्थामा छैन । त्यसकारण पनि स्वतन्त्र हैसियतका बालेनले सुरुकै दिनदेखि उपमयेर सुनिता डंगोलसँग सहकार्य गर्दै अगाडि बढ्न जरुरी छ । दुवै युवा भएकाले मिलेरै काठमाडौंको मुहार फेरुन् भन्ने आम मतदाताहरुको चाहना छ । एमाले निकट रहेका एकजना विश्लेषक भन्छन्, “खुला रुपमा प्रस्तुत भएकी सुनिता डंगोलको साथ नलिई बालेनलाई आफ्नो लक्ष्य र योजनामा सफलता प्राप्त गर्न कठिन छ ।”

बालेनले सुनितालाई सुरुकै दिनदेखि बेवास्ता गरे पनि सुनिता भने उदार रुपमा प्रस्तुत भएकी छिन् । एक अन्तर्वार्तामा उनले मेयर बालेनलाई पूरै सहयोग रहने र बिरोधका लागि बिरोध एमालेबाट नहुने बताएकी छिन् ।

“म राजनीतिलाई फोहोरी बनाउने खेलमा कहिल्यै लाग्ने छैन ।” सुनिताले भनेकी छिन्, “काठमाडौंको विकास समृद्धिका लागि रचनात्मक र सकारात्मक सहयोग गरिरहने छौँ ।”

सुनिताले यसो भन्दै गर्दा बालेनले सुनिताप्रति प्रतिपक्षीको व्यवहार गर्नु उनैका लागि आत्मघाती हुने कतिपयको बुझाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार