सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले अपरान्ह ४ बजे संसदमा आगामी आर्थिक वर्षको बजेट घोषणा गर्न लागेका हुन् । गठबन्धन सरकारका अर्थमन्त्री शर्माले घोषणा गर्न लागेको बजेट चुनाव लक्षित पपुलिष्ट कार्यक्रम सहितको हुने बुझिएको छ ।
वृद्ध भत्ता पाउँने उमेर घटाउनेदेखि लिएर कर्मचारीहरुको तलब वृद्धिसम्मका घोषणा आजको बजेटबाट हुनेछन् । संघ र प्रदेशको चुनाव मंसिरमा गर्ने तयारी रहेका कारण बजेट चुनाव केन्द्रित हुने अनुमान गरिएको छ ।
संविधानमा नै जेठ १५ का दिन बजेट घोषणा गर्नुपर्ने बाध्यकारी व्यवस्था भएका कारण संविधान घोषणायताका वर्षहरुमा जेठ १५ मा बजेट सार्वजनिक हुँदै आएको छ । त्यसअघि बजेट सार्वजनिक हुने दिनको निश्चितता थिएन ।