चुनावी प्रचारका बेलादेखि नै मानिसहरुको आशंका थियो, जितेरै गए पनि स्वतन्त्र हैसियतका बालेन शाहलाई पार्टीबाट जितेर गएका वडाअध्यक्षहरुले काम गर्न दिँदैनन् । बालेन विजयउन्मूख हुँदै गर्दा यो आशंकाले अरु व्यापकता पाएको थियो । सपथग्रहणपछि हिजो सोमबार बसेको काठमाडौं महानगरपालिकाको पहिलो बैठकमा केही वडाअध्यक्षहरुले देखाएको व्यवहारले मानिसहरुलाई थप सशंकित बनाएको छ ।
पहिलो बैठक भएकाले हिजोको बैठकमा प्रकृयागत कमजोरी भने भएकै थियो । सपथग्रहण गरेको केही घन्टामै बैठक आयोजना गरिएकाले बैठकका एजेन्डाहरुबारे कार्यपालिका सदस्यहरु अर्थात् वडाअध्यक्षहरुलाई पहिल्यै जानकारी दिन सम्भव भएको थिएन ।
खासमा जनताले प्रत्यक्ष अनुभूत गर्ने गरी काम गर्ने हुटहुटीका कारणले बालेनले बैठक बसाउने हतारो गरेका थिए । यो वास्तविकता बुझेर पनि केही वडाअध्यक्षहरुले बालेनलाई प्रश्न गरे, “बैठकका एजेन्डाबारे हामीलाई पहिल्यै किन जानकारी दिइएन ?”
बैठकका एजेन्डाबारे पहिल्यै थाहा पाउन पाए छलफल गर्न सजिलो हुने धारणा उपमेयर सुनिता डंगोलले पनि राखिन् । बालेन मुखले त केही भनेनन् तर अनुहारमा गल्ती स्वीकारेको भाव प्रस्ट देखिन्थ्यो ।
हिजोको बैठकमा हताश मुद्रामा देखिएका भए पनि बालेनको प्रस्तुति शालिन नै थियो । उनले राखेको फोहोरको समस्या समाधानका लागि कार्यदल बनाउने, महानगरपालिकाको सङ्केत बोर्ड राखेर होटल रेष्टुरेन्टहरुका शौचालयहरुलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्ने, जनताको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने, भत्केका सडक मर्मत सम्भारका लागि इन्फ्राइस्टचर एम्बुलेन्स सञ्चालन गर्ने लगायतका प्रस्तावहरु उपर छलफल भएको थियो ।
यही छलफलका सिलसिलामा बोल्ने क्रममा बालेनमाथि सबैभन्दा पहिलो कटाक्ष वडा नम्बर ११ का वडाध्यक्ष हिरालाल तण्डुकारले गरेका थिए । उनको आपत्ति बैठकलाई ‘लाइभ’ गरिएको विषयमा थियो । उनले भने, “शपथ लिने बेलामा गोपनीयता अनि अहिले ओपनियता ?”
यसको जवाफ मेयर शाहले शालिन ढंगले नै दिए । “कुनै पनि कुराहरु गोप्य नहुने र सबै विषय सार्वजनिक हुने भएकाले लुकाउने कुरै छैन ।” उनले भने ।
त्यसपछि ३२ नम्बर वडाका वडाध्यक्ष नवराज पराजुलीले मेयर शाहलाई दलहरुका चुनावी घोषणापत्रमा उल्लेख भएका कार्यक्रमहरुलाई प्राथमिकतामा राखिदिन आग्रह गरे । आफूहरु पनि चुनावी घोषणापत्र बनाएर जनतामाझ गएको र त्यसअनुसार नै मत पाएर आएको बताउँदै उनले भने, “पार्टीले निर्देश गरेअनुसार घोषणापत्र बनाएर जनसमक्ष लिएर गयौं । जो जो निर्वाचित भएर आएका छौं, त्यो घोषणापत्रमा उल्लेखित कार्यक्रमहरुलाई कार्यान्वयन गर्न अब हामी दत्तचित्त छौं । त्यसलाई सपोर्ट गर्न प्रमुखले उदारता देखाएर सबै जनप्रतिनिधिहरुलाई सहयोग गर्नुपर्ने खाँचो छ ।”
उनले मेयर बालेनलाई हरेक काम गर्दा सल्लाह र छलफल गर्न आग्रह समेत गरे । उनको भनाईको आशय थियो, “दलहरुका घोषणापत्रका कुरा कार्यान्वयनमा सहयोग गरे ठीकै छ नत्र….”
त्यसो नगरे आउँदा दिनमा अप्ठ्यारो पर्ने घुमाउरो चेतावनी वडाध्यक्ष पराजुलीले दिए । “प्रमुखजीलाई के भन्न चाहन्छु भने प्लिज, बि केयर फुल एबाउट ह्वाट यू से ! प्लिज, बि करेक्ट एवाउट ह्वाट यू डू !” उनले भने, “त्यसो भए मात्र हामी एक ढिक्का भएर जान सकिन्छ । बाँकी प्रमुखको हातमा छ, तपाईंको रोजी, हाम्रो छाडी ।”
बैठकमा राखिएका एजेन्डाहरु उपर वडाध्यक्षहरुले आआफ्ना धारणा राखिसकेपछि मेयर शाहले जवाफ दिन सुरु गरे । अनुहारमा हताशाको भाव देखिए पनि बोलीमा शिष्टता थियो । उनले भने, “खुसी के लाग्यो भने हाम्रो र हजुरहरुको सोचाइ फरक रहेनछ ।” आफ्ना लागि सबै पार्टी समान भएको भन्दै उनले निष्पक्ष र समान रुपमा काम गर्न सकिने बताए ।
त्यसपछि उनले फोहरको समस्या समाधान गर्न कार्यदल बनाउने प्रस्ताव गरे । त्यसमा दलीय आधारमा वडाअध्यक्षहरुको प्रतिनिधित्व हुने उनले बताए । मेयर साहले अरु निर्णयको प्रस्ताव प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले गर्ने भन्दै बैठक टुंग्याउने संकेत गरेपछि उपमेयर सुनीता डंगोल बोल्न अघि सरिन् । साझा र समुन्नत महानगर बनाउन सबै एकजुट भएर लाग्न आग्रह गर्दै उनले भनिन्, “यसअघिको कार्यपालिकाले गरेका राम्रा कामहरु पनि पल्टाएर हेर्न जरुरी छ । त्यसपछि मात्रै थप योजनाहरु बनाऔँ ।”
उपमेयर डंगोलले बोलिसकेपछि प्रमुख प्रशासकीय अधिकृत पौडेलले छलफल गरिएका विषयहरुका बारेमा सुनाए । फोहोर व्यवस्थापनसम्बन्धी कार्यदलमा मेयर, उपमेयर, कांग्रेसबाट २ वडाध्यक्ष, एमालेबाट उपमेयर र एक वडाध्यक्ष र एकीकृत समाजवादीबाट एक वडाध्यक्ष रहने भन्दै नाम दिन आग्रह गरे ।
प्रशासकीय अधिकृत पौडेलले होटल रेष्टुरेन्टहरुका शौचालय सार्वजनिक उपयोगमा ल्याउन सात दिनभित्रै कार्यविधि बनाइने, सात दिनभित्रै कल सेन्टर स्थापना गर्ने तथा भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । महानगरमा उपमेयर र वडामा वडाअध्यक्षलाई मुद्दा मामिलाको फैसला गर्ने अख्तियारी दिने कुरा निर्णयार्थ प्रस्तुत गर्दै ४५ दिनभित्र महानगरको ढल सरसफाइ गर्ने सुनाए ।
ढल सरसफाइका लागि क्षेत्रफलका आधारमा ठूला, मझौला र साना वडाहरु भनेर वर्गीकरण गरिएको जानकारी दिँदै उनले भोलिदेखि यो कार्य प्रारम्भ हुने कुरा बताए ।
त्यही विषयबाट विवाद सुरु भयो । १६ नम्बरका वडाध्यक्ष मुकुन्द रिजालले सोधे, “यो कहिले बसेको बोर्ड बैठक हो ?” कार्यकारी अधिकृत पौडेलले आज भन्ने जवाफ दिएपछि वडाध्यक्षहरुले एजेण्डामा नभएको विषय कसरी आयो भनेर होहल्ला गरे ।
वडाध्यक्ष मुकुन्द रिजालले भने, “ढल सफाइको एजेण्डाका रुपमा ल्याउनुपर्नेमा सिधै कसरी पास भयो ? के प्रस्ताव पास गर्न कार्यपालिका सदस्यहरु चाहिँदैन ?” यो प्रस्ताव फिर्ता लिन माग गर्दै चेतावनीको भाषामा भने, “यस्तो कुरा अरुसँग चल्छ, हामीसँग चल्दैन ।” उनले यो प्रस्तावमा अरु वडाध्यक्षहरुले पनि सहमति जनाए ।
उनको चर्को बोली र अन्य वडाअध्यक्षहरुको होहल्लाले प्रमुख प्रशासकीय अधिकृत पौडेल अलि हच्किए । उनले मेयर सा’बको अनुमतिले यो फिर्ता भयो भन्ने घोषणा गरे । तर वडाध्यक्ष रिजाल राँकिएर बोल्न छाडेनन् । फोहोर व्यवस्थापन कार्यदलमा दलीय प्रतिनिधित्वको कुरा गरेकोमा आपत्ति जनाउँदै उनले भने, “हामीले पार्टीको कुरा गरेका छौँ ? काङ्ग्रेसको एक जना, एमालेको एक जना भन्ने तपाईं को हो ?”
अध्यक्ष रिजालले बैठकमा प्रस्ताव पेश भएपछि कार्यपालिकाले बहुमतका आधारमा निर्णय गर्ने परिपाटीका बारेमा सम्झाउँदै प्रस्ताव फिर्ता लिन आग्रह गरे । “यो भनेको कार्यपालिका सदस्यहरुको अपमान हो ।” उनले भने, “यहाँ एक लाख ९० हजारको भोट पाएर आएका जनप्रतिनिधिहरु छन् । तपाईंले फिर्ता लिएर मेयर साबले टेबल गर्ने हो ।”
त्यसपछि मेयर साहले पनि प्रस्ताव नै हो भन्दै वडाअध्यक्ष रिजाललाई शान्त बनाउन प्रयास गरे । तर वडाध्यक्ष रिजाल एकोहोरो बोलिरहे । सुरुमा परिचयात्मक चरणमा बोल्दा एकदमै शालीन रुपमा प्रस्तुत भएका रिजालले फोहर उठाउने नाममा माफियाहरु हावी भएको बताएका थिए । “घरबहाल कर, व्यवसाय कर आदि लिइसकेपछि फोहरका नाममा थप पैसा लिने काम नगरौँ । निशुल्क उठाउने व्यवस्था गरौँ ।” जनताको मन जित्ने कुरा गर्दै उनले भनेका थिए ।
तर पछिल्लो पटकको उनको प्रस्तुति एकदमै आक्रामक थियो । अबका दिनमा बैठकको उपस्थितिमा पहिल्यै हस्ताक्षर नगराउन चेतावनी मात्रै दिएनन्, प्रक्रृयागत रुपमा जान आग्रह पनि गरे ।
उनको एकोहोरो बोलीका कारण दिक्क बनेका बालेनले उनलाई कटाक्षको भाषा प्रयोग गरे । ”बोल्ने कुरामा स्वर चर्को बनाइराख्नु पर्दैन । नरम तरिकाले पनि बोल्न सकिन्छ ।” उनले भने, “चुनावको फ्रस्टेशनले पनि यस्तो भएको हुनसक्छ । तपाईंहरु पनि कति दिनदेखि निदाउनु भएको छैन होला । म पनि पाँच महिनादेखि राम्ररी सुतेको छैन । यी कुराले गर्दा यस्तो हुन्छ ।”
मेयर साहले एउटै कुरा दोहो¥याइराख्नु परेन भनेपछि रिजाल शान्त भए ।
त्यसपछि वडा नम्बर ७ का अध्यक्ष बोल्न थाले । बैठक प्रक्रियागत हुन नसकेकोमा आपत्ति जनाउँदै उनले भने, “प्रस्ताव गर्ने, समर्थन गर्ने, अनुमोदन गर्ने, माइन्यूट कसरी गर्ने पनि सिकाउनुपर्ने हो त हामीले अब ?”
७ का अध्यक्षले त्यति मात्रै भनेनन्, मेयर बालेनलाई संसदीय बैठक प्रणाली सिक्न आग्रह पनि गरे । “मेयर साब इन्जिनियर हुनुभयो, ठीक छ । बैठकको प्रक्रिया अध्ययन गर्नुस् ।” उनले भने ।
त्यसपछि धेरैजना वडाध्यक्षहरु एकैपटक बोल्न थाले । तिनले पहिले निर्णयको प्रस्ताव गर्न सम्झाए । मेयर साहले ठीक छ, ठीक छ भनिरहे ।
विवाद भएर सहमतिमा पुग्नु अनि टेबुल ठोकेर प्रस्तावहरु पास गर्नु बैठकको सुन्दर पक्ष हो । तर कतिपय वडाअध्यक्षहरु भने केही जानेको छैन भनेर मेयर बालेन शाहलाई होच्याउने तहमा उत्रिएको लाइभ हेरिरहेकाहरुको बुझाइ थियो । पछि सामाजिक सञ्जालमा पोखिएका शब्दहरुले त्यस्तै संकेत गरेका थिए ।
पहिला एजेण्डका रुपमा प्रस्तुत नै नभएको विषय निर्णयार्थ प्रस्तुत गर्नु महानगरका कार्यकारी अधिकृतको कमजोरी हो । बैठकका विधि र प्रकृयाका बारेमा नवनिर्वाचित प्रमुखलाई जानकारी दिनुपर्ने महानगरको कार्यपालिकाका सदस्य सचिवका हैसियतका व्यक्तिको जिम्मेवारी पनि हो । तर उनको कमजोरीलाई बालेनको कमजोरीसँग जोडेर कटाक्ष गर्नु सुहाउने कुरा होइन ।
आगामी बैठकमा वडाअध्यक्षहरु कसरी प्रस्तुत हुन्छन् अहिल्यै किटेर भन्न सकिँदैन । तर पहिलो बैठकको छलफलका क्रममा उनीहरुले देखाएको व्यवहार हेर्दा अनि परिचयका क्रममा “म यतिपटकदेखि निर्वाचित” भनेर अधिकांशले बोलेको सुन्दा बालेनका आगामि दिन सहज हुने छनक पटक्कै देखिँदैन ।
तर बालेनलाई असहयोग गरेर असफल पार्ने प्रयत्न गरे भने बालेन समर्थकहरु चुप लागेर बस्दैनन् भन्ने कुरा भने सोमबार साँझ सामाजिक सञ्जालमा प्रकट भएका तीब्र आक्रोशले संकेत दिएको छ ।





