Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

बालेनका २ तस्वीरले ल्याएको तरंग, के हुन सक्ला भित्री रहस्य ?


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका पछिल्ला २ तस्वीर यतिबेला सर्वाधिक चर्चामा छन् । एउटा प्रधानसेनापति प्रभुराम शर्मासँगको तस्वीर र अर्को पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको तस्वीर ।

काठमाडौंको मेयरका रुपमा पद तथा गोपनियताको सपथ लिए लगत्तै मेयर शाह प्रधानसेनापति प्रभुराम शर्मालाई भेट्न पुगे । जुन भेट गोप्य थियो । तर, तस्वीर सार्वजनिक भएपछि भेट गोप्य रहिरहन सकेन । यद्यपि भेटको विषयवस्तु भने अहिले सम्म पनि गोप्य नै छ ।

सपथ पछिको पहिलो भेट नै प्रधानसेनापतिसँग किन भयो होला भन्ने विषयले धेरैमा कौतुहलता जगायो । कतिपयले यसलाई सामान्य रुपमा लिए भने कतिपयले प्रधानसेनापतिसँगको भेटलाई गम्भीर र अर्थपूर्ण रुपमा लिए ।

मेयर बालेनलाई दरबारसँग जोडेर समाचारहरु सार्वजनिक भइरहेका बेला प्रधानसेनापतिसँग भेट गरेको तस्वीर सार्वजनिक भएपछि उनका समर्थकहरु समेत झस्किए । काठमाडौंका मेयरले पहिलो भेट प्रधानसेनापतिसँग गर्नुपर्ने कारणबारे अनेकन अनुमान लगाइए । फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेका बालेनले फोहोर व्यवस्थापनका लागि पक्कै प्रधानसेनापति भेटेका होइनन् । फोहोर व्यवस्थापनका लागि सेना गुहार्नुपर्ने अवस्था पनि यतिबेलाको होइन । प्रधानसेनापति शर्मा उनका नातेदार कोही हुन् भन्ने हो भनेपनि अहिलेसम्म त्यस्तो केही खुलेको छैन ।

त्यसोभए काठमाडौं महानगरपालिकाका मेयरलाई सपथ लगत्तै प्रधानसेनापति भेट्नुपर्ने रहर या बाध्यता के आइलाग्यो होला ?


सेनाका एक पूर्व जर्नेल भन्छन्,‘ बालेनलाई राष्ट्रिय सेवा दलका एक व्यक्तिले कन्भिन्स गरेर प्रधानसेनापतिसामु लगेको मैले बुझेको छु । प्रधानसेनापतिलाई भेट्ने बालेनको शुरुमा चाहना नै थिएन । तर, उनले यसरी कन्भिन्स गरे कि बालेनको टीमले नाइँ भन्नै सकेन । ’
भेटको चाँजोपाँजो मिलाउँने ती व्यक्ति पूर्व सञ्चारकर्मी समेत रहेको उनको भनाई छ । आफूलाई मोटिभेस्नल स्पिकरका रुपमा चिनाउँन चाहने ती व्यक्ति केही वर्ष अघि मात्रै राष्ट्रिय सेवा दलमा छिरेका थिए ।

त्यसो त प्रधानसेनापतिसँगको यो भेटले बालेनको उचाई झनै बढेको ती पूर्व जर्नेलको तर्क छ । उनी भन्छन्,‘ बालेनले मेरो सम्बन्ध जो कोहीसँग छ भन्ने देखाउन सक्दाखेरी उनलाई राम्रै हुन्छ । फेरि सेनासँग बालेनले राम्रो सम्बन्ध बनाउँन सके भने सेनाले स्थानीय सरकारलाई विभिन्न तबरले सहयोग गर्न सक्छ । ’

सम्पदा पुनर्निमाणदेखि लिएर सम्पदा संरक्षण र अन्य धेरै ठाउँमा सेनाको साथ लिन सकिने उनको तर्क छ । ‘सेनामा एड टु सिभिल अथोरीटी भन्ने हुन्छ’ उनले भने,‘ त्यसबाट सेनाले स्थानीय सरकारसँग समन्वय गरेर काम गर्न सक्छ । तर, सेनाले त्यसका लागि माथिल्लो निकायको भने अनुमति लिनुपर्छ । ’

काठमाडौंका मेयर बालेन शाहले प्रधानसेनापतिसँग गरेको भेटको चर्चा जत्ति छ पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटको चर्चा पनि त्यत्तिकै छ । केपी ओली र बालेन शाहबीच भेटघाट केहीदिनअघि भएको भएपनि तस्वीर भने मंगलबार अपरान्ह मात्रै सार्वजनिक भयो ।

एमाले वृत्तबाट सार्वजनिक भएको उक्त तस्वीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै घरमा बालेनलाई स्वागत गरेको देखिन्छ । एमाले नेताहरुका अनुसार काठमाडौं महानगरपालिकाको मत परिणाम अन्तिम चरणमा पुग्दै गर्दा बालकोटस्थित ओली निवासमा एमाले अध्यक्ष ओली र बालेनको भेट भएको हो । भेटमा के कुराकानी भयो भन्ने विषय बाहिर आएको छैन ।

यो भेटबारे पनि अनेकन अड्कलबाजी भइरहेका छन् । महानगरसहित देशका अधिकांश स्थानमा स्थानीय तहको चुनावमा नराम्रो पराजय बेहोरेको एमाले स्थानीय तहका प्रमुखलाई आफूहरुले काम गर्न नदिएको अपजस भोलिका दिनमा नआओस् भन्ने कुरामा सतर्क देखिन्छ । त्यसैले पनि बालेनको स्वागत गरेर ओलीले राजनीतिक वृत्तमा सकारात्मक सन्देश दिन खोजेका छन् ।

त्यसो त ओलीसँगको यो भेटबाट बालेनलाई राजनीतिक रुपमा निकै फाइदा भएको विश्लेषण गरिएको छ । ओलीसँगको यो भेटपछि एमालेका तर्फबाट निर्वाचित काठमाडौंका वडाध्यक्षहरु केही नरम हुने अनुमान गरिएको छ । यसअघि महानगरको कार्यपालिका बैठकमा बैठकको प्रकृया नमिलेको भन्दै वडाअध्यक्षहरुले बिरोध गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार