Logo
१६ बैशाख २०८३, बिहीबार
|  Thu Apr 30 2026

सहमतिको दुई दिनपछि मिरुनाको यस्तो स्टाटस !


चलचित्र कबड्डी ४ कि नायिका मिरुना मगरले आफूमाथि भएको ’ब्याड टच’को घटनाबारे आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै स्पष्टीकरण दिएकी छिन् ।

‘व्याड टच’ गरेको अभियोग लागेका मुगुका फुर्पा तामाङ र मिरुनाबीच जेठ १७ गते माफी माग्ने र दिने सहमति भएको थियो ।

सहमतिपछि पनि सामाजिक सञ्जालमा मिरुनाप्रतिको युवाहरुको आक्रोश नरोकिएको र दर्शकले अघोषित ढङ्गबाट चलचित्र बहिष्कारको अभियान चलाउन नछाडेपछि मिरुनाको यो स्पष्टीकरण आएको हो ।

“फूर्पा तामाङले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको यो दुव्र्यवहारको लागि निःस्वार्थ रूपमा माफी मागेको र मैले उहाँको माफी स्वीकार गरेकी छु ।”, मिरुनाले आफ्नो फेसबुकमा लेखेकी छिन्, “सबै पक्षका अग्रज प्रतिनिधि, वरिष्ठ लामागुरूहरू लगायत दुवै पक्षबाट सहमति भएको हो । जेठ १५ मा भएको मेरो कार्य कुनै पनि धर्म र समाजविरूद्ध नभई व्यक्तिविरूद्ध भएता पनि यस घटनाबाट जानआन्जानमा दुखित हुनु हुने बृहत समुदायमा म हार्दिक क्षमायाचना गर्दछु ।”

यो घटनालाई लिएर समाजिक सञ्जालमा तीब्र बिरोध भएको थियो । तामाङ÷लामा समुदाय सार्वजनिक रुपमै विरोध प्रदर्शनमा उत्रिएका थिए । घटना भएको केएल टावर अगाडी प्रदर्शन गर्दै मिरुना अभिनित चलचित्र कबड्डी ४ रोक्न माग माग गरेका थिए ।

विरोध हिंसात्मक हुनसक्ने देखेपछि प्रहरीले फूर्पालाई छाडेको थियो । लगत्तै जेठ १७ गते फिल्मका कलाकार, निर्देशक र लामा गुरुहरु साक्षी राखेर दुवै पक्षबीच माफी माग्ने र दिने सहमति गरेका थिए ।

सहमतिपछि पनि सामाजिक सञ्जालमा मिरुनाप्रतिको आक्रोश रोकिएको थिएन । कतिपयले सहरमा टाँसिएका कबड्डी ४ को पोस्टरमा मिरुनाको अनुहार च्यात्ने अभियान नै सुरु गरेका थिए ।मिरुनाले आफूले भोगेको कठिन समयमा साथ र समर्थन गर्नेहरुप्रति कृतज्ञता प्रकट समेत गरेकी छिन् ।

’यस कठिन समयमा मलाई दिनुभएको अपार समर्थन र हिम्मत अनि मायाको लागी म मेरा सम्पूर्ण सहयोगी मन, प्रंशसकहरू, आफन्तहरू र नेपाली दर्शकहरू सबैमा हृदयदेखि कृतज्ञता प्रकट गर्दछु’, मिरुनाले लेखेकी छिन्, ’तपाईहरू मध्ये धेरैले मसँग बाँड्न आउनु भएको मेराजस्तै घटनाका कथाहरूबाट म अत्यन्तै प्रभावित भएकी छु। यो समयमा यी कथाहरू बाट साहस जुटाउन सकेकोमा म तपाईहरूको प्रंशसा नगरी रहन सक्दिनँ।’

मिरुनाले गलत कदमका विरुद्ध लड्न सबैलाई आग्रह समेत गरेकी छिन् । स्टाटसको अन्त्यमा उनले लेखेकी छिन्, “चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरूद्ध जहिलै लड्नुहोस् । अहिलेलाई जति नै कठिन भए पनि भोलिको दिन परिवर्तन अवश्य होला। कुनै पनि सहि कार्य गर्नुको निम्ति समय गलत हुँदैन ।”


प्रतिक्रिया दिनुहोस !
विचार