Logo
७ मंसिर २०८३, सोमबार
|  Mon Nov 23 2026

अब लोभ लालचमा फँस्दिन : माधवकुमार नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब आफू लोभ लालचमा नफस्ने बताएका छन् ।

नेकपा एमालेले वर्तमान सत्ता गठबन्धन भत्काउन माधवकुमार नेपाल र प्रचण्डलाई भावी प्रधानमन्त्री हुने आग्रहसहित नयाँ गठबन्धनको प्रस्ताव गरेका समाचार सार्वजनिक भइरहेका बेला नेता नेपालबाट यस्तो प्रतिक्रिया आएको हो ।

पार्टीका कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन सुर्खेत पुगेका अध्यक्ष नेपालले आफू कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने प्रस्ट पारे । उनले भने, “अहंकारी र षडयन्त्रकारीहरुले अहिले विभिन्न खालका भ्रम फैलाइरहेका छन् । अब म उनीहरुको प्रलोभन र लालचमा फस्नेवाला छैन ।”

बरु उनले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताए । हिजो मात्रै बालुवाटारमा बसेको सत्तारुढ दलका प्रमुखहरुको बैठकले आगामी संघीय र प्रदेश चुनावलाई लक्षित गरेर गठबन्धनलाई अझ दरिलो बनाउने निर्णय गरेको थियो ।

सुर्खेतमा बोल्ने क्रममा उनले संसदमा प्रस्तुत भएको बजेटको समेत प्रतिरक्षा गरे । “चुनावको समयमा आएको भए पनि यो बजेट चुनावमुखी होइन ।” उनले भने ।


प्रतिक्रिया दिनुहोस !
विचार