राप्रपा नेपालका अध्यक्ष कमल थापाले शालिक बनाउँदैमा राजा नफर्कने बताएका छन् । नेपालगञ्जको धम्बोजीमा स्वर्गीय राजा विरेन्द्रको शालिक बनाउँने विषयलाई लिएर तनाव उत्पन्न भएपछि थापाले शालिक बनाउँदैमा राजा नफर्कने बताएका हुन् । यद्यपि शालिक बनाउँनै नदिनु भनेको लोकतन्त्रका लागि सुहाउने विषय नभएको उनको भनाई छ ।
उनले शालिक बनाउँन नदिएको विषयलाई असहिष्णु भनेका छन् ।
कमल थापाले सामाजिक सञ्जालमा लेखेका छन् : ‘आन्दोलनको रापतापमा राजा लगायत विपी,भानुभक्त समेतको शालिक तोडफोड गरियो । त्यो गलत थियो । नेपालगञ्जमा जहाँ पहिले राजा विरेन्द्रको शालिक थियो त्यहाँ अहिले शालिक राख्न खोज्दा सरकारले अवरोध गर्नु ठीक भएन ।
शालिक राखेर राजा फर्कने होईन । ईतिहासको सम्झना हो । लोकतन्त्र यति असहिष्णु हुनुहुन्न’
दरबार हत्याकाण्ड भएको २१ औं वर्ष भएको सन्दर्भ पारेर केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरुले त्यहाँ वीरेन्द्रको शालिक पुनःस्थापना गर्न खोजेका थिए । उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको सालिक राखेर जडान गर्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा राजावादीहरु प्रहरीमाथि जाइलागेपछि तनाव उत्पन्न भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहारसमेत गरेको थियो । त्यस क्रममा राजावादी समर्थक युवाहरु घाइते समेत भएका छन् ।
राजावादीहरुको समूहले धम्बोजी चोक नजिकै रहेको सेतु विक चोकमा राखिएको ०६२–०६३ की सहिद सेतु विकको शालिक पनि तोडफोड गरिदिएका छन् ।
सेतु विक चोकलाई दोस्रो जनआन्दोलनभन्दा अगाडिसम्म ज्ञानेन्द्र चोक भनिन्थ्यो । जनआन्दोलनपछि उक्त चोकलाई सेतु विक चोक नामाकरण गरी सो स्थानमा उनकै सालिक राखिएको थियो ।
२०६२/६३ को जनआन्दोलनअघिसम्म धम्बोजी चोकमा राजा वीरेन्द्रको सालिक थियो । आन्दोलनकारीहरुले सालिक तोडफोड गरेका थिए । त्यसपछि तोडफोड भएको सालिक हटाएर राष्ट्रिय झण्डा राखिएको थियो ।








