Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

फेरि बाम गठबन्धनको सम्भावना कति ?


गएको स्थानीय चुनावमा अपेक्षित नतिजा हासिल गर्न नसकेपछि नेकपा एमालेका केन्द्रीय नेताहरु यतिबेला सत्ता गठबन्धन जसरी पनि भत्काउने र बाम गठबन्धन बनाउने ध्याउन्नमा छन् । यही सत्ता गठबन्धन रहिरहे आगामी मङ्सिरमा हुन लागेका संघीय र प्रदेश निर्वाचनमा आफूहरुको शर्मनाक हार हुन सक्ने देखेका उनीहरुले नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरु मार्फत् प्रचण्डलाई भावी प्रधानमन्त्री हुन प्रस्ताव गरिरहेका छन् । प्रचण्डले नमानेको अवस्थामा उनीहरुको रोजाइमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल छन् ।

बुधबार काठमाडौंको कुमारी हलमा माओवादी केन्द्रले आयोजना गरेको निर्वाचित जनप्रनिधिहरुको प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूलाई भावी प्रधानमन्त्री बन्ने प्रस्ताव आएको खुलासा गरेका थिए । उनले भनेका थिए, “अहिले पनि घुमाएर कुरा आइरहेका छन् । आउँदो संघीय र प्रदेश चुनावसम्म गठबन्धन कायम रहन्छ । शेरबहादुरजीलाई नै प्रधानमन्त्री बनाउने हो ।”

त्यससँगै उनले काङ्ग्रेसले पनि ठूला कुरा गर्न थाले एमालेलाई जस्तै ठेगान लगाउने चेतावनी पनि दिएका थिए । उनको त्यो बोलीलाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । काङ्ग्रेस कार्यकर्ताहरुले “काङ्ग्रेसको बुई चढेर उल्टै घुर्की लगाउने ?” भन्दै रोष समेत प्रकट गरेका थिए ।

स्थानीय चुनावमा भएको गठबन्धनका बारेमा समीक्षा गर्न बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटरमा सत्ता गठबन्धन दलका प्रमुख नेताहरुको बैठक समेत बसेको थियो । उक्त बैठकले केही कमीकमजोरीका बावजुद गठबन्धन सफल भएको निष्कर्ष निकाल्दै आगामी चुनावसम्मै गठबन्धनलाई अझ बलियो बनाएर लैजाने निर्णय गरेको थियो ।

बिहीबार कार्यकर्ता एवम् निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षणका लागि सुर्खेत पुगेका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि एमाले वृत्तबाट भावी प्रधानमन्त्रीको प्रस्ताव आएको सङ्केत दिए । उनले भने, “अहंकारी र षडयन्त्रकारीहरुले अहिले विभिन्न खालका भ्रम फैलाइरहेका छन् । अब म उनीहरुको प्रलोभन र लालचमा फस्नेवाला छैन ।”

उता एमाले अध्यक्ष केपी ओली पनि निर्वाचन परिणाम यता त्यति धेरै आक्रामक रुपमा प्रस्तुत भएका छैनन् । संसदमा सरकारको नीति तथा कार्यक्रममाथि तीन घन्टा बोल्दा सरकारको कटु आलोचना गरे पनि प्रचण्ड र माधव नेपालप्रति उति कटाक्ष गरेनन् । ओली निकटका नेताहरु पनि पहिले जति उग्र रुपमा प्रस्तुत भइरहेका छैनन् । निर्वाचन यता सन्तुलित रुपमा प्रस्तुत भइरहेको देख्दा उनीहरु फेरि पनि बाम गठबन्धन बनाउने तयारीमा लागेको देखिन्छन् ।

उनीहरुलाई थाहा भइसकेको छ, यही गठबन्धन कायम रहीरहे नेकपा एमाले कयौं वर्षसम्म प्रमुख प्रतिपक्षका रुपमा रही रहने छ । एकजना राजनीतिक विश्लेषक भन्छन्, विगतको संसद विघटनलाई जनताले नरुचाएको स्पष्ट संकेतका रुपमा स्थानीय तहको नतिजा आएपछि उनीहरु एक कदम पछाडि हटेर भए पनि फेरि बाम गठबन्धन बनाउने योजनामा छन् ।

माओवादी अध्यक्ष प्रचण्डले संसदमा सरकारको नीति तथा कार्यक्रममाथि बोल्दै गर्दा एमाले अध्यक्ष केपी ओलीबाट गल्ती स्वीकारेको भाव आउँछ कि भन्ने अपेक्षा गरेका रहेछन् । ओलीबाट त्यस प्रकारको स्पष्ट सङ्केत नपाउँदा उनले अहिलेसम्म पनि ओलीमा अहंकार र दम्भ रहिरहेको टिप्पणी गरेका थिए । उनले भनेका थिए, “ओलीबाहेक एमालेका अरु नेतासँग मिल्न समस्या छैन । तर, ओलीजीको अहमता ज्यादा भयो । ”
माओवादीले देशभरका पालिकामध्ये १२२ स्थान जितेर आफूलाई तेस्रो एवम् निर्णायक शक्तिका रुपमा उभ्याएपछि एमालेका नेताहरु प्रचण्डसँग नम्र रुपमा प्रस्तुत हुन तयार भएका छन् ।

नेपाली काङ्ग्रेसलाई सधैँ साथ दिएर आफ्नो समाजवादी अभिष्ट पूरा नहुने कुरामा माओवादी नेता प्रचण्ड प्रस्ट छन् । काङ्ग्रेससँग मिल्दाभन्दा बाम गठबन्धन गर्दा मुलकको बागडोर आफ्नो हातमा आउने कुरा उनले प्रस्ट बुझेका छन् । त्यही कारण पनि उनी एमाले प्रति नरम र नेपाली काङ्ग्रेसप्रति घुर्कीको भाषा प्रयोग गरिरहेका छन् ।

काङ्ग्रेससँगको गठबन्धन एकीकृत समाजवादी र माओवादी केन्द्रका लागि बाध्यात्मक बनेको थियो । उनीहरुले प्रसन्न चित्तले काङग्रेससँग गठबन्धन नगरेको कुरा उनीहरुका अभिव्यक्ति मार्फत् पटकपटक सार्वजनिक भएको छ ।

त्यसो त काङ्ग्रेसलाई साथ दिएर मात्रै कहीँ नपुगिने तथ्य एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनालले पनि बुझेका छन् । त्यही कारण पनि उनीहरु बाम गठबन्धन फेरि पनि भइदेओस् भनेर दोस्रो तहका नेताहरु मार्फत् पहल गरिरहेका छन् ।

निर्वाचन परिणाम घोषणा हुँदै गर्दा एकीकृत समाजवादीका नेता झलनाथ खनालले गठबन्धनप्रति काङ्ग्रेस इमानदार नभएको प्रतिक्रिया दिएका थिए । अध्यक्ष नेपालले पनि बढी अहंकार गरे काङ्ग्रेस पनि एमालेजस्तै सकिने चेतावनी पटकपटक दिइरहेका छन् । यसप्रकारका प्रतिक्रियाले उनीहरु बामगठबन्धन गर्न लालायित भएको प्रष्ट बुझ्न सकिन्छ ।

विगतमा एमाले अध्यक्ष केपी ओलीले गरेका अशिष्ट गालीकाप्रति प्रचण्ड र माधव नेपालले अलि बढी नै चित्त दुखाएका छन् । यस कारण पनि धेरैले फेरि बाम गठबन्धन वा तालमेल हुँदैन कि भन्ने आशङ्का गरेका छन् । तर राजनीतिमा यस्ता कुरा सामान्य हुने गरेको छ । ओलीले गल्ती महसुस गरेर आत्मालोचना गर्ने हो भने बाम गठबन्धन त्यति असम्भव नरहेको माओवादीका नेताहरु नै बताउँन थालेका छन् ।

ओलीबाहेकको एमालेसँग मिल्न समस्या छैन भन्ने प्रचण्डको बोलीले उनी बाम गठबन्धनका लागि फेरि पनि समझदारीमा आउन तयार रहेको प्रस्ट बुझिन्छ । धेरै अहंकार गरे काङ्ग्रेसलाई पनि ठेगान लगाउने भन्दै प्रचण्ड र नेता नेपालले एकैखालको धम्की दिनुले दुवै नेताहरु काङ्ग्रेसका कतिपय नेताहरुको व्यवहारसँग सन्तुष्ट छैनन् भन्ने प्रस्ट सङ्केत मिलेको छ ।

बेलाबखत राजनीतिक दलकै नेताहरु देशको राजनीति विदेशी शक्तिको इशारामा निर्भर रहने गरेको स्वीकार गर्छन् । विगतमा ओलीको अहंकार बढ्नुमा विदेशी शक्तिकै इशाराले काम गरेको कतिपयको तर्क छ । ओलीका आलोचकहरु भन्छन्, विदेशीहरु ओलीलाई आड भरोसा दिएजस्तो गरेर बाम गठबन्धन फुटाउन चाहन्थे । त्यो मिसनमा उनीहरु एक हदसम्म सफल पनि भए ।

बाम गठबन्धनलाई छिन्नभिन्न पारेर नेपाली काङ्ग्रेस र राप्रपालाई बलियो बनाउन उतिबेला विदेशी शक्ति लागेको केहीको बुझाई थियो । उनीहरुका अनुसार त्यो शक्तिले माओवादी केन्द्र तीसदेखि चालीस पालिकामा सीमित हुन्छ भन्ने अनुमान गरेको थियो भने नेकपा एमालेले पनि सय पालिका कटाउँदैन भन्ने अनुमान थियो ।

राप्रपा दोस्रो शक्तिका रुपमा उदाउने अनुमान फेल खाएपछि उनीहरु यतिबेला हच्किएको केहीको बुझाई छ । त्यही कारण पनि राजनीतिको दोस्रो कोर्ष सुरु हुन लागेको अनुमान गरिएको छ । कांग्रेसकाप्रति प्रचण्डले दिएको पछिल्लो अभिव्यक्ति अनि एमाले अध्यक्ष केपी शर्मा ओलीका पछिल्ला नरमपनलाई हेर्दा बाम गठबन्धनको सम्भावनालाई नकार्न भने सकिन्नँ ।


प्रतिक्रिया दिनुहोस !
विचार