Logo
९ जेष्ठ २०८२, शुक्रबार
|  Fri May 23 2025

उपमेयर सुनितासँग फेरि सिसडोल पुगे बालेन


काठमाडौं सहरका सडकमा थुप्रिएको फोहरको व्यवस्थापनको समाधान खोज्न महानगरका नवनिर्वाचित मेयर बालेन शाह फेरि सिसडोल पुगेका छन् । उपमेयर सुनिता डंगोल र विभागीय प्रमुखहरुका साथ त्यहाँ पुगेका उनले फोहर बिर्सजनका लागि स्थानीयवासीलाई मनाउन प्रयास गरेका छन् ।

त्यहाँ उनले धैर्यपूर्वक स्थानीयवासीका गुनासा सुनेका छन् । बालेन र सुनितासहितको टोली पुगेपछि भेला भएका स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरूले भने आफूहरुले स्वस्थ्य वातावरणमा बस्न पाउनु पर्‍यो भनेर माग गर्दा प्रहरी प्रशासन लगाएर दमन गरिएको गुनासो गरेका थिए ।

उनीहरुले मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भएकाले फोहोर वा स्थानीयको उचित व्यवस्थापन हुनुपर्ने माग गरेका थिए ।
स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालका लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिएका थिए । केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने उल्लेख गर्दै उनले एक हप्तामा गन्ध नआउने बनाउन सकिने बताए ।
“हाल्नलाई यहाँ केमिकल आउनुपर्‍यो  है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है ।” स्थानीयवासीसँग अनुरोध गर्दै उनले भने ।

मेयर बालेनले फोहरको दीर्घकालीन समाधानका लागि फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने तयारी गरेको बारेमा पनि बताए । यी सबै काम गर्न तीन–चार महिना लाग्नसक्ने भएकाले त्यतिन्जेलका लागि सहयोग गरिदिन स्थानीयवासीसँग आग्रह पनि गरे ।

उनले सड्ने र नसड्ने फोहोर छुट्टयाएर विसर्जन गर्ने व्यवस्था मिलाउने तयारी गरेको कुरा पनि बताए । त्यसका लागि जनचेतना जगाउने योजना बनाएको बारेमा जानकारी दिँदै उनले भने, “मान्छेले पाँच मिनेट फोहोर नछुट्टाइदिएर मान्छे मरिरहेको छ भन्ने कुरा त फिल हुनुप¥यो नि त ।”

फोहर व्यवस्थापनको विषयलाई लिएर बालेन र सुनिताले बिहीबार मात्रै सहरी विकास मन्त्री रामकुमारी झाक्रीलाई भेटेका थिए । मन्त्री झाक्रीले विजयका लागि बधाई दिँदै शहरको फोहर व्यवस्थापनका लागि मन्त्रालयका तर्फबाट सबैखाले सहयोग उपलब्ध गराउने आश्वासन दिएकी थिइन् ।

साथै उनले लैजाने बाटोका स्थानीयवासीलाई मनाउन सके बञ्चरेडाँडा ल्याडफिल्ड साइटमा फोहर फाल्न सकिने कुरा बताएकी थिइन् ।

निर्वाचनको नतिजा घोषणा भएर सपथ नलिदै पनि बालेन आफ्ना सहयोगीहरुका साथ सिसडोल पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार