बलराम प्यासी
काठमाडौं, २६ जेठ । पुर्व प्रधानसेनापति रुक्मांगद कटवाल केही दिनदेखि अस्वस्थ छन् । दुवै मिर्गाैलाले काम नगरेपछि छाउनीस्थित सैनिक अस्पतालमा उनको डायलासिस उपचार शुरु गरिएको छ । ७३ वर्षिय कटवाल बुधबार दोस्रो पटक डायलासिसका लागि अस्पताल गएको र डायलासिसपछि आफ्नै निवास खुमल्टार फर्किएको बुझिएको छ ।
अस्पताल स्रोतका अनुसार आउँदो असारमा उनको एउटा मिर्गाैला प्रत्यारोपण गर्ने तयारी भईरहेको छ । मिर्गाैला प्रत्यारोपणअघि नियमित डायलासिस गर्नुपर्ने चिकित्सकको सल्लाह बमोजिम उनी डायलासिसमा जान थालेका हु्न् ।
सन् १९४८ डिसेम्बर १२ मा ओखलढुंगामा जन्मिएका पूर्व प्रधानसेनापति कटवाल नेपालमा गणतन्त्र स्थापना भएपछि प्रधानमन्त्री बनेका पुष्पकमल दाहालको कार्यकालमा आफ्नो अडानका कारण थप चर्चित बनेका थिए । तत्कालिन प्रधानमन्त्री प्रचण्डले बहालवाल प्रधानसेनापति कटवाललाई हटाउन नसकेपछि वाध्य भएर आफैंले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपरेको थियो ।
कटवाल सन् २००६ को सेप्टेम्बर १० देखि २००९ अगष्टसम्म नेपाली सेनाको प्रधानसेनापति रहेका थिए ।

कटवालले आफ्नो जीवनीबारे लेखेको आत्मकथा “रुक्मांगत कटवाल ” चर्चित र धेरै विक्री भएको पुस्तकमा पर्दछ ।
तत्कालिन राजा महेन्द्रले ओखलढुंगा भ्रमणका क्रममा भेटेका कटवाललाई काठमाडौंमा ल्याएर आफ्नो संरक्षणमा राखी पालनपोषण र शिक्षादिक्षा दिएका थिए ।
नेपाली सेनालाई पूर्ण व्यवसायिक, देशभक्त बनाउँन र राजनीतिबाट टाढा राख्न पूर्व प्रधानसेनापति कटवालको योगदान विशिष्ट रहेको भन्दै सैन्य क्षेत्रमा उनको विशेष चर्चा हुने गर्दछ ।








