Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

गणित र यसको उपयोग सम्बन्धी ३ दिने राष्ट्रिय सम्मेलन (NCMA-2022 ) शुरु


गणित र यसको उपयोग सम्बन्धी ३ दिने राष्ट्रिय सम्मेलन (NCMA-2022 ) इलामको सिटिमार्टमा शुरु भएको छ । नेपाल गणित समाजको आयोजनामा शनिबार इलामको सिटिमार्टमा शुरु भएको सम्मेलनको एक विशेष समारोहकाबीच प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले उदघाटन गरे ।

सम्मेलनको उदघाटन गर्दै यादवले प्रदेश १ को इलाममा सम्मेलन आयोजना गरेकोमा नेपाल गणित समाजलाई धन्यवाद दिए ।
उनले बिभिन्न क्षेत्रमा गणितको महत्व रहेको भन्दै अर्थतन्त्र निर्माण तथा सञ्चालन र कला संस्कृतिको जगेर्ना गर्न समेत गणित अपरिहार्य रहेकोमा जोड दिए । गणित समाजको भौतिक संरचना निर्माणका साथै अन्य आवश्यकीय सहयोग गर्ने प्रतिबद्धता उनले त्यस अवसरमा व्यक्त गरे ।

कार्यक्रमका बिशिष्ट अतिथि तथा पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार निलमणि पोखरेलले इलाम पर्यटनको केन्द्रमात्र नभएर पूर्वको शैक्षिक केन्द्र पनि रहेको बताउँदै नेपाल गणित समाजले राजधानीमा मात्र नभएर देशका पूर्व र पश्चिममा समेत यस्ता सम्मेलन आयोजना गर्ने गरेकोमा समाजको प्रशंसा गरे । उनले समाजका यस्ता कार्यक्रमहरुमा आफ्नो विश्वविद्यालयको साथ सँधै रहने जानकारी दिए । कार्यक्रममा बोल्दै इलामका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले गणित महत्वपूर्ण विषय भएको र विद्यार्थीहरुले गणित सिक्न कठिन रहेको देखिएकाले यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै महेन्द्ररत्न बहुमुखि क्याम्पसका प्रमुख खगेन्द्र चापागाईँले सम्मेलनमा हुने बहसबाट निस्किएको निचोड उपयोगी हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा इलाम नगरपालिकाका मेयर केदार थापाले सम्मेलनका लागि इलाम छानेकोमा आयोजकलाई धन्यवाद दिए ।
एसोसियसन अफ नेप्लिज म्याथम्याटिसियन इन अमेरिकाका सभापति डा. केदार नेपालले नेपाल गणित समाजसँगको सहकार्यलाई निरन्तरता दिँदै आफ्नो संस्थाले आगामी वर्षदेखि स्नातक तहमा गणित पढने विद्यार्थीहरुमध्ये शुरुमा सात जनालाई जनही पचास हजार रुपैंयाँका दरले सहयोग गर्ने घोषणा गरे ।

गणित समाजले गरेका कार्यक्रमहरु तथा अब गर्न चाहेका गतिविधिहरुका बारे समाजका उपसभापति डा. श्रीराम खड्काले प्रकाश पारेका थिए भने कार्यक्रममा कार्यशालाका संयोजक तथा सम्मेलन बैज्ञानिक समितिका सदस्य सचिव डा. जीवन काफ्लेले चलिरहेको कार्यशाला तथा सम्मेलनका विषयवस्तुमाथि चर्चा गरेका थिए ।

कार्यक्रममा स्थानीय व्यवस्थापन समितिका सदस्य सचिव बलबहादुर तामाङ्गले कार्यक्रमका अतिथि तथा सहभागिहरुलाई धन्यवाद दिएका थिए भने गणित समाजका सचिव तथा सम्मेलनका सचिव डा. परमेश्वरी कट्टेलले सञ्चालन गरेका थिए ।

कार्यक्रमको सभापति समेत रहेका नेपाल गणित समाजका सभापति प्रा. डा. नारायण प्रसाद पहारीले कार्यक्रममा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै आगामी कार्यक्रमहरुमा पनि यस्तै प्रकारको सहयोग पाउँने विश्वास व्यक्त गरे ।

उदघाटन लगत्तै डा. गङ्गाराम फाइजु र डा. हरि नन्दननाथले दुइवटा बैज्ञानिक व्याख्यान दिएका थिए । सम्मेलनमा नेपाल तथा अमेरिकामा कार्यरत सात सहित कुल १५३ जनाको सहभागिता रहेको छ भने ७६ वटा अनुसन्धान पत्र प्रस्तुत हुने जनाइएको छ ।

कार्यक्रममा केही दिनअघि सम्पन्न क्षमता अभिवद्धि कार्यशालामा सहभागीमध्येबाट उत्कृष्ट छानिएका तीन जनालाई प्रमाणपत्र तथा जनही नगद दश हजार रुपैंयाँ पुरस्कार समेत प्रदान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार