
युटयुब भ्लगर राजकुमार थापा मगर र उनका एकजना साथीलाई जथाभावी साइकल स्टन्ट देखाएर सर्वसाधारणलाई दुःख दिएको भन्दै महानगरीय ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी कार्यालयले कार्यालयमा नै बोलाएर उनीहरुलाई कारबाही गरेको जनाएको छ । कार्यालयले आफ्नो सामाजिक सञ्जालमा यसबारे जानकारी दिँदै भनेको छ : ‘फुटपाथ लगायत सार्वजनिक स्थानहरूमा साइकल चलाएर सर्वसाधारणलाई दुःख दिएको भनि यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको फेसबुक र ट्विटर पेज लगायत अन्य विभिन्न माध्यमहरूबाट जन गुनासो प्राप्त हुन आएकोमा निज साइकल चालकलाई यस कार्यालयमा उपस्थित गराई उपयुक्त कारबाही गरिएको छ ।’
महानगरीय ट्राफिक प्रहरी कार्यालयले उपयुक्त कारबाही गरिएको भनेपनि कारबाही के गरिएको हो भन्ने विषयमा भने केही पनि खुलाएको छैन । राजकुमार थापा मगर र उनका साथीले साइकल तथा मोटरसाइकल स्टन्ट गर्दै युटयुबमा भिडियो अपलोड गर्ने गरेका थिए ।