Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

नेपहपको श्रीपेचले बालेनलाई तान्यो विवादमा, संस्कृति अभियन्ताले गरे विरोध


काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफू निर्णायक रहेको ¥याप गायनमा आधारित टीभी रियालिटी शो ‘नेपहपको श्रीपेच’का विजेतालाई प्रदान गरिएको मुकुटका कारण विवादमा परेका छन् ।
इमेज टेलिभिजनबाट प्रसारण हुँदै आएको नेपहपको श्रीपेचका विजेता भाइबर साइमनलाई मेयर बालेन साहले शनिबार मुकुट लगाइदिएका थिए ।

मेयर बालेनले लगाइदिएको मुकुट ¥याप ब्यटल जितेर पाउने प्रकारको नभई बज्रयान बुद्धधर्म अनुसार गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाउने मुकुट भएको भन्दै उनको विरोध भएको हो । संस्कृति तथा सम्पदा बचाउ अभियानमा रहेका अभियन्ता मिलनरत्न बज्राचार्यले बालेनले लगाइदिएको मुकुटबारे आफ्नो सामाजिक सञ्जाल फेसबुकमा आपत्ति सहितको स्टाटस लेखेका छन् ।

उनले लेखेका छन् : यो मुखः (मकुट) Rap Battle जितेर पाउने पुरस्कार हैन । यो मुखः मा पञ्चतथागत रहेकोहुनाले बज्रयान बुद्धधर्म अनुसार गुरू बाट बज्राचार्य अभिषेक पाएपछि लगाउन पाउने मुखः हो । यसको महत्वलाई ध्यान राखि दिनु होला । सक्दो सेयर गरि आयोजक सम्म पुर्याउँ । कसैलाइ गालि नगरौं । बरू यस्को महत्वलाइ दर्शाउन अनुरोध छ ताकि यस्तो काम फेरि नहोस ।

यसअघि हिपहप ¥याप गायन सम्बन्धी टेलिभिजन रियालिटी शो ‘नेपहपको श्रीपेच’को फाइनल राउण्ड सोल्टी क्राउन प्लाजामा भएको थियो । उपाधि विजेता भाइबरले १० लाख रुपैयाँ नगदसहित रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बीमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जितेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार