काठमाडौ, २ साउन । विद्यालय जीवनदेखि नै किशोर किशोरीलाई राष्ट्रिय भावना जागृत गराउने उद्धेश्यले विगत ५६ वर्षदेखि नेपाली सेनाले सञ्चालन गर्दै आएकोे राष्ट्रिय सेवा दलले चालु आर्थिक वर्षको पहिलो तालीम बेबिलोन नेशनल स्कुल शान्तिनगरमा शुरु भएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा ७७ वटै जिल्लाका २१३ वटा संस्थागत र सामुदायीक विद्यालयमा सो तालीम सञ्चालन गर्ने कार्यक्रम अनुसार राष्ट्रिय सेवा दलको मध्य पुर्वी तालीम शिक्षालय बर्दिबासले सि.सं ४८ औं जुनियर डिभिजन तालीम साउन १ आइतबारदेखि बेबिलोन स्कुलमा शुरु गरेको हो ।
राष्ट्रिय सेवा दलले निर्धारण गरेको तालीम छनौटको मापदण्ड अनुसार ८ र ९ कक्षाका विद्यार्थीलाई स्वास्थ्य, शारिरीक र मानसिक परिक्षण गरि अन्तिम छनौट भएका बेबिलोनका ३६ छात्रछात्रालाई सो तालीममा सहभागी गराईएको हो ।
‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ शुरु भएको सय दिने उक्त तालीमको २१ दिन राष्ट्रिय सेवा दलको तालीम केन्द्रमा र बाँकीका ७९ दिन सम्वन्धित विद्यालयमै तालीम दिइन्छ ।
तालीम प्राप्त विद्यार्थीहरु अनुशासनको जगमा कर्मशिल, मर्यादित र आफ्नो मुलुकप्रति सर्मपित र उर्जावान युवा तयार हुने प्रशिक्षण कार्यक्रमको प्रवचनमा बोल्दै नेपाली सेनाका प्रमुख सेनानी बरुण केसीले विश्वास व्यक्त गरे ।
२०२२ कार्तिक ७ गते स्थापना भएको सेवा दलले गत आर्थिक वर्षसम्म ५१ हजार ३३२ किशोर किशोरी तथा युवा युवतीलाई आवश्यक तालीम दिईसकेको छ । गत आर्थिक वर्षमा मात्र ७ हजार ९५० जना स्कुले विद्यार्थीलाई जुनियर क्याडेटको तालीम दिइएको थियो ।
सेवा दलको स्थापनाकालदेखि तालीममा सहभागी विद्यार्थीहरुलाई प्रति विद्यार्थी एक प्याकेट दुध र एकसय ग्राम जेरी उपलव्ध गराउँदै आएको छ ।
बेबिलोनमा आइतबारदेखि शुरु भएको तालीम उद्घाटनमा बेबिलोन एजुकेशन फाउण्डेशनका अध्यक्ष तेज बहादुर राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश आचार्य, प्रिन्सिपल राजु राई तथा नेपाली सेनाका सेनानी विक्रम बस्नेत सहितको सहभागिता थियो ।