Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

बाढीको कारण विभिन्न स्थानमा धनमाल नष्ट


अविरल वर्षासँगै आएको बाढीले देशका विभिन्न स्थानमा धनमाल नष्ट गरेको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका–४ मट खोलामा बुधबार आएको बाढीले सोही ठाउँस्थित मट खोला गाउँ र भट्टाड गाउँ जोड्ने काठे पुल बगाएको छ । पुल बगाउँदा आवतजावतमा बाधा परेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ चापाकोटमास्थित ठाडो खोलामा बुधबार राति आएको बाढीले बा.९६ प ९८९७ नम्बरको मोटरसाइकल बगाएको छ ।

खोलाले मोटरसाइकल बगाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट गुर्जेबाट खटिएको प्रहरीले मोटरसाइकल चालक बिदुर नगरपालिका–९ किम्ताङ बस्ने ३५ वर्षीय सुक बहादुर तामाङलाई उद्दार गरी उपचारका लागि काठमाडौं पठाएको छ । खोलाले सडकमा गेगर बगाई ल्याउँदा सडक अवरोध भएकोले खुलाउने पहल भइरहेको छ ।

बाजुराको हिमाली गाउँपालिका–५ क्युडीस्थित क्युडी खोलामा बुधबार आएको बाढीले सोही ठाउँ बस्ने अभिमान लुहारको बाख्राको खोर र ८० घर परिवारको धान रोपेको खेत बगाएको छ ।

घटनास्थलमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार