Logo
१० जेष्ठ २०८२, शनिबार
|  Sat May 24 2025

कोशीको बाढी बस्तीमा : कस्तो छ पछिल्लो अवस्था? (भिडियोसहित)


बुधवार बिहानबाट कोशी नदीको भँगालो उदयपुरको बेलका नगरपालिकाका विभिन्न बस्तीमा पसेसँगै त्यहाँ उच्च सतर्कता अपनाइएको छ । बेलुकी पानीको सतह थप बढ्न सक्ने भएको आशंकामा स्थानीयहरुलाई सुरक्षित स्थानतर्फ लैजाने क्रम चलिरहेको छ । बेलका नगरपालिकाका मेयर आशोक कार्कीले दिएको जानकारी अनुसार अहिले वडा नम्बर १, २, ३, ८ र ९ का बासिन्दा सुरक्षित स्थानमा सर्दैछन् ।

बाढीले सप्तरीका तीनवटा नगरपालिकासमेत प्रभावित तुल्याएको छ । कोशीको मुलधार नै बस्तीमा पसेपछि स्थानीयहरु धमाधम घर छाड्न थालेका छन् । प्रभावित क्षेत्रमा २६०० घर परिवार रहेको अनुमान गरिएको छ । त्यसमध्ये हालसम्म करिब एक हजार परिवार सुरक्षित स्थानमा सारिसकिएको बताइएको छ ।

बाढीग्रस्त क्षेत्रमा प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की र सुनसरीका प्रजिअ ईन्द्रदेव यादवसमेत पुगेका छन् ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले डुबान प्रभावितहरुको उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् भने नेपाली सेना, नेपाल प्रहरी र शसष्त्र प्रहरी समेत अहिले त्यस क्षेत्रमा खटिएको छ ।

सप्तकोशीमा पानीको सतह बढेपछि सप्तकोशीको भंगालो बुधबार बिहान ४ बजेदेखी बस्तीमा पसेका थियो । तीन सातादेखि भंगालोलाई रोक्ने प्रयास गरे पनि बुधबार बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै सिसौली टापु–चिलिया बस्ती र श्रीलंका टापुमा पसेको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार