काठमाडौँ २० || साउन विद्यालय शिक्षामा रुपान्तरण गर्न स्थानिय तहलाई थप जिम्मेवार बनाउँदै शिक्षण सिकाइको शैलिमा नै परिवर्तन गर्न विज्ञले सुझाब दिएका छन् ।
खबर एजुकेशनले काठमाडौँको बसुन्धारास्थित साउथवेस्र्टन स्टेट कलेजमा आयोजना गरेको विद्यालय शिक्षामा रुपान्तरणका लागि स्थानीय तह र प्रधानाध्यापको भूमिकाबारे अन्तक्रियामा बोल्दै शिक्षा क्षेत्रका विज्ञले स्थानिय तहका जनप्रतिनिधीलाई भौतिक शैक्षिक पूर्वाधारमा सुधार गर्दै सिकाइ क्रियाकलापमा परिवर्तन गरेर शिक्षामा रुपान्तरण गर्न सुझाव दिएका हुन् ।
कार्यक्रममा बोल्दै शिक्षाविद् प्रा.डा विद्यानाथ कोइरालाले शिक्षाको संरचना बदलेर शैक्षिक रुपान्तरण गर्न स्थानिय तह र सरकारको नेतृत्वको चिन्तनमा नै परीवर्तन गर्नुपर्ने बताए। उनले भने, ‘पाठ्यक्रममा पछिल्लो सन्दर्भलाई समाजसँग जोड्नुपर्छ । अहिलेको सन्दर्भ अनुसार शिक्षकलाई उपायोग गर्न सकिन्छ । विद्यार्थी शिक्षण सिकाइको शैलिमा नै परिवर्तन गर्नुपर्छ । शिक्षामा सुधार गर्न स्थानिय तहले विद्यालयलाई ‘मेन्टरिङ र मनिटरिङ’ गर्नुपर्छ ।
उनले व्यक्ती बदल्न नसकिने भएपनि गुणस्तरमा सुधार गदै विद्यालय शिक्षामा प्रविधी, पुस्तकालय, भौतिक पूर्वाधार, सिपलाई एउटा विद्यालयबाट अर्को विद्यालसँग साट्न सकिने बताए । ‘अन्तरविद्यालय, अन्तरपालिका भित्र त्यहाँ राम्रा विद्यालयले गरेको अभ्यास अन्य विद्यलायले सिक्न सक्छन् । गुणस्तरको मापदण्ड केलाई भन्ने ? अंग्रेजी भाषा बोल्न लेख्न जान्नु मात्रै शैक्षिक रुपान्तरण वा गुनासो हो?अहिले संस्थागत र सामुदायिक विद्यालय विच साझेदारी मोडलबाट विद्यालय शिक्षालाई अघि बढाउन सकियो भने शिक्षामा रुपान्तरण संभव छ ।’
अहिले निजी शिक्षणसंस्था सञ्चालकलाई शैक्षिक माफिया भन्ने अवस्था नभएको, नजी र सरकारीलाई मिलाएर अघि बढाउने सोचबाटै शिक्षामा परिवर्तन संभव हुने उनको भनाइ छ ।
‘अबको शिक्षा विद्यार्थीको क्षमता पहिचना गरेर सोहि अनुसार अघि बढ्न दिने, सृजनशिलताको विकास गर्न शिक्षकलाई केन्द्रित गर्न गर्न दिने हो भने विद्यार्थीले चाडै सिक्न सक्छ । उसले आफ्नो क्षमता प्रस्तुत गर्न सक्छ । यसका लागि स्थानिय तहले विद्यार्थीलाई सहयोग गर्नुपर्छ ।’
स्थानीय तहले निजी र सामुदायिक विद्यालयमा शिक्षणसिकाइ अभ्यासलाई एकआपसमा साट्नेगरी अघि बढ्नु पर्नेमा शिक्षाविद् मेदिन लामिछानेले जोड दिए । कार्यक्रममा बोल्दै स्थानिय जनप्रतिनिधीलाई शिक्षाका मुद्धामा जिम्मेवार बनाउन सके विद्यालय शिक्षामा रुपान्तरण गर्न सकिने बताए । उनले भने,‘सामुदायिक विद्यालयमा अनलाइन प्रणालीको विकास र यसले शिक्षामा पार्ने प्रभावलाई थप प्रभावकारी बनाउन आवश्यक छ । प्राध्यापकले पाठ्क्रम अनुसार विद्यार्थीलाई सिकाउन सक्नुपर्छ । विद्यार्थीको नाम थाहा पाएर मात्र पुग्दैन उसको सिकाई क्षतालाई पनि थाहा पाउन जरुरी हुन्छ । सोहि अनुसार नै शिक्षकले शिक्षण सिकाइ प्रक्रिया अघि बढाउनुपर्छ ।’
उनले अहिले पनि शिक्षण सिकाइमा समस्या भएको विषयलाई महत्वदिदैँ समस्या समाधान तर्फ स्थानिय तहको नेतृत्वको पनि ध्यान पुग्नुपर्ने तर्फ जोड दिए । ‘विद्यार्थीको सिकाइ क्षमता उसको अध्ययन क्षमतालाई शिक्षकले ध्यान दिनुपर्छ । विद्यार्थीको पूर्व ज्ञान क्षमता कस्तो छ भन्ने विषय पनि महत्वपूर्ण हो । जनप्रतिनिधीले पनि शिक्षालाई प्राथमिकतामा राख्ने हो भने शिक्षामा रुपान्तरण संभव छ।’
शिक्षण सिकाइको शैलिमा परिवर्तन गरेर विद्यार्थीको आवश्यकतालाई ध्यान दिनसके शिक्षामा सुधार संभव भएको तर्क उनको छ । शिक्षविद् लामिछानेले सिकाइलाई कक्षा कोठाभन्दा बाहिर, पाठ्यपुस्तको परिधि भन्दा बाहिर सिकाइलाई वास्तविक जिवन र जगतसंग जोडेर शिक्षामा सुधार गर्न स्थानियतहलाई सुझाव दिएका छन् । ‘सिकाइलाई सृजना तथ्य र परिभाषमा मात्र सिमित गर्नु हुँदैन । कक्षा थप हुदै जाँदा जिवनोपयोगि शिक्षा नै महत्वपूर्ण हुन्छ । त्यसैले अवधारणामा आधारित शिक्षालाई जोड दिदैँ लानुपर्छ । विद्यालयको संरचना विद्यार्थी मैत्री हुनुपर्छ । सिकाइमा समुदायिलाई जोड्नुपर्छ । विद्यालय र समुदायको विचमा सकारात्मक सम्बन्धको विकास गर्नुपर्छ । अभिभावकको गुनासो पनि सुन्नुपर्छ । विद्यालयलाई समुदायले अपनत्व ग्रहण गर्नुपर्छ । अभिभावक मैत्री विद्यालय नै राम्रो विद्यालयको रुपमा अघि बढ्न सक्छ ।’
थरीथरीका शिक्षकलाई व्यवस्थापन गर्नुपर्ने, प्राविधीक जनशक्ती तयार गर्नुपर्ने, शिक्षकलाई सहयोगी कार्यकताको रुपमा विकास गर्नुपर्ने, दरबन्दी अपुग भएको ठाउमा दरबन्दी थप गर्नुपर्ने, शिक्षामा सरकारको लगानी बढाउनुपर्ने, प्राध्यापकलाई बढी जिम्मेवार बनाउनुपर्ने, प्रधानाध्यापक छनोट गर्दा समिति बनाएर प्रतिस्पर्धात्मक हिसावले अधिकार सहितको छनोट गर्नुपर्ने, अभिभावकलाई जागरुक बनाउनुपर्ने लगायतका सुझाव विज्ञको छ ।
कार्यक्रममा शिक्षाविद् तथा साउथवेस्र्ट«न स्टेट कलेजका क्याम्पस प्रमुख डा.राजेन्द्र केसी विद्यालय शिक्षा रुपान्तरणका लागि स्थानीय तह र प्रधानाध्यापकको भूमिका महत्वपूर्ण हुने विषयमा स्पष्ट पारेका थिए । उनले २० वर्ष पहिलादेखिको नोट लेखाउने शिक्षा नेपालको लागि ठिक छ कि छैन बहसको विषय भएको बताए । साथै सबैको हित गर्ने, निडर बन्ने, उद्यमशिल, परोपकारी र कर्तव्यनिष्ठ बन्ने शिक्षा दिन आवश्यक रहेको भनाई राखे ।
स्थानिय तहका जनप्रतिनिधिले पनि विज्ञको सुझावलाई मनन गर्दै शिक्षामा सुधार गर्न बजेट विनियोजन गर्ने, शिक्षकको प्रतिनिधिसंग छलफल गर्ने, शिक्षकका मुद्धालाई छलफल गरेर शुल्क, छात्रवृत्ति, पाठ्यक्रमहरू तयार गर्ने बताएका छन् ।
काठमाडौँको तारकेश्वर नगरपालिकाका मेयर हरिकृष्ण महर्जनले सामुदायिक र संस्थागत विद्यालयमा एउटै पाठ्यक्रम सञ्चालन गर्ने, सामुदायिक विद्यालयलाई जिम्मेवार बनाउदै लान पालिकाले शिक्षालाई प्राथमिकतामा राखेको बताए ।
उनले भने,‘ तारकेश्वर नगरभित्र ९ वटा उच्च मावि, १५ वटा मावि, २१ वटा सामुदायिक विद्यालय र ५२ वटा निजी विद्यालय छन् । विद्यालय शिक्षामा सुधार गर्न निजी र सरकारीविच साझेदारी मोडल अपनाउन सकिन्छ । शिक्षामा वर्गिकरण गर्नु हुँदैन । शिक्षामा रुपान्तरण गर्न शिक्षण सिकाइको शैलिमा नै परिवर्तन गर्नुपर्छ ।’

विद्यार्थीको चाप भएको ठाउँमा शिक्षक विद्यार्थी अनुपात मिलाउने, प्रविधीयुक्त शिक्षा, डिजिटल पुस्तकालय, शैक्षिक गुणस्तरमा सुधार गर्न अनुगमन गर्ने लगायतका काम पालिकाले गर्ने उनको भनाई छ ।
यस्तै टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले शैक्षिक रुपान्तरणका लागि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा नै सुधार गर्नुपर्ने बताए । उनले भने,‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको विषयमा प्रश्न उठ्ने गरेको छ । अब सामुदायिक विद्यालयको अवस्था सुधार गर्न टोखा नगरपालिका भित्रका विद्यालयको शिक्षण सिकाइ क्रियाकलापमा नै परिवर्तन ल्याउन एउटा कार्यविधी बनाएर अघि बढ्ने योजना बनाएका छौँ ।’ शिक्षा सुधारमा आफूले सबैसँग समन्यवय गरेर अघि बढ्ने योजना बनाएको उनको भनाइ छ ।
बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले शिक्षा क्षेत्रलाई आफूले सधै प्राथमिकतामा राखेको र यसका लागि आवश्यक बजेट पनि विनियोजन गर्ने गरेको बताए । उनले शैक्षिक रुपान्तरण गर्न र स्थानिय तह जिम्मेवार बन्न राम्रा काम गर्ने विद्यालय, शिक्षकलाई पुरस्कृत गर्नुपर्ने, विद्यार्थीलाई विद्यालय जाउँजाउँ लाग्ने बनाउन विद्यार्थी मैत्रि संरचना वातावरण बनाउनुपर्ने विषयमा सुधार गर्न जोड दिएका छन् ।
नागार्जुन नगरपालिका नगर उपप्रमुख सुशिला अधिकारीले नीजि विद्यालय र सामुदायिक विद्यालयबीचको दुरी हटाउन आवश्यक रहेको बताउँदै विद्यालयहरु विच निरन्तर अन्तक्र्रिया कार्यक्रम गर्ने गरेको बताइन । यसै अनुरुप नगरपालिकाबाट क्यालेण्डर प्रकाशन गरी सार्वजनिक विदा र परिक्षाहरु एकैपटक हुने बनाइएको बताइन ।
निजी क्षेत्रले शिक्षामा गरेको लगानी र प्राप्त उपलव्धीको विषयमा प्रकाश पार्दै एनप्याव्सनका सहअध्यक्ष सुवास न्यौपानेले शिक्षामा सार्थकता खोजिएको, सरकारले रुपान्तरण गर्न खोजेको भए सामुदायिक विद्यालयलाई गुणस्तर सुधार गर्न जिम्मेवार बनाउनुपर्ने, निजीका राम्रा कुरा सामुदायिक विद्यालयले र सामुदायिक विद्यालयका राम्रा कुरा निजी विद्यालयले सिक्नुपर्ने बताए । उनले भने,‘ देश विकास गर्न शिक्षामा सुधार गर्नुपर्छ । निजी सामुदायिक साझेदारी मोडलबाटै अघि बढ्न सकेमात्र शिक्षालाई व्यवस्थित गर्न सकिन्छ । पेशागत दक्षता विकास गर्ने गरी शिक्षालाई सिपसँग जोड्नुपर्छ । पाठ्यक्रममा परिवर्तन गर्दै लैजानुपर्छ । शिक्षा जिवन, जगत र प्रविधीसँग जोड्दै सिपयुक्त जनशक्ती उत्पादन गर्न सक्नेगरी शैक्षिक रुपान्तरण गर्नुपर्छ ।’
यस्तै निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन)का केन्द्रीय अध्यक्ष डिके ढुंगानाले शिक्षामा सुधार गर्न प्राध्यापकलाई जिम्मेवार बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘शिक्षामा सुधार गर्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावकको सोच र चिन्तनमा नै परिवर्तन गर्नुपर्छ । शिक्षकलाई हर्ने दृष्टिकोण बदल्नुपर्छ । शिक्षामा नियन्त्रण होइन नियमन गर्नुपर्छ । व्यवस्था बदलियो अब सोच बदलौँ । नीजी क्षेत्रले शिक्षामा पु¥याएको योगदानको अवमूल्यन गर्नु हुदैन ।’
शिक्षामा रुपान्तरण गर्न विद्यालय र पालिकाले एउटा नीति र कार्ययोजना सहित अघि बढ्नुपर्छ जसमा समुदायले साथ दिन्छन् । अध्यक्ष ढुंगानाले विद्यार्थीलाई व्यवहारसंग जोड्ने शिक्षाको आवश्यकता भएको स्पष्ट पारे ।
कार्यक्रममा बोल्दै साउथवेस्टर्नका सहायक क्याम्पस प्रमुख हरिसिंह केसीले विद्यालय तहको शिक्षामा आमुल परिवर्तन गर्न पब्लिक–प्राइभेट सहकार्य हुनुपर्ने बताए । उनले उत्कृष्ट विद्यालय बन्न भौतिक संरचना, राम्रो ल्याव र लाइबेरी, शिक्षकहरुलाई समय–समयमा आवश्यक तालिम र त्यसको उपयोग भएको छ , छैन स्थानीय सरकारले अनुगमन गर्न आवश्यक रहेको बताए । प्रिन्सिपल छनोटमा सिनियर र पुरानो भन्दा पनि क्षमतावान र भिजनरी छान्न आवश्यक रहेको र प्रिन्सिपल बन्नका लागि पनि कर्मचारी, प्रशासन र आर्थिक व्यवस्थापन गर्न सक्ने व्यक्ति हुनुपर्नेमा जोड दिए ।





