अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, १७ वर्षीय हिमलाल नेपाली र २१ वर्षीय जीवन न्यौपाने छन् ।
से १ च १७६३ नम्बरको जीप कच्ची सडकमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा उक्त हताहती भएको डीएसपी तुलसीराम अर्यालले जानकारी दिए । ५-६ जना सिट क्षमताको गाडीमा १७ जना सवार रहेको र कच्ची सडक भएकाले ओभर लोडका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ ।
पञ्चदेवल विनायक नगरपालिका–१ कुईँकामा आइतबार राति साढे ११ बजे जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा उक्त दुर्घटना भएको अर्यालले जानकारी दिए । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।





