Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

श्रीकृष्ण जन्माष्टमीको अवसरमा ट्रिटन स्कुलमा कृष्णलीला प्रर्दशन (तस्बिरमा हेर्नुहोस्)


काठमाडौं, २ भदौ । आज शुक्रबार भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात श्रीकृष्ण जन्माष्टमी । भगवान विष्णुको आठौं अवतारको रुपमा द्वापर युगमा जन्मेका श्रीकृष्ण जन्माष्टमीलाई सनातन हिन्दु धर्मावलम्वीहरुले भव्य तरीकाले मनाँउने गर्छन ।
‘हिजो अर्काको, आज तिम्रो, भोलि फेरी अर्कैको हुने धन सम्पत्तिको लोभ नगर्नु’ र ‘अन्तिममा सँधै सत्यको मात्रै जित हुन्छ, त्यसैले सत्यको मात्र पछि लाग्नु’ भन्ने भगवान कृष्णको सन्देश अहिलेसम्म अनुकरणीय मानिन्छ ।

यसै अवसरमा राजधानीको सुविधानगर तिनकुनेमा रहेको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले विद्यालय परिसरमा आफ्ना विद्यार्थीहलाई सहभागी गराई श्रीकृष्ण लीला प्रस्तुत गर्यो । सो विद्यालयले कृष्णलीला प्रस्तुत गरेको यो दोस्रो पटक हो । तीन वर्षअघि पनि विद्यालयले पहिलोपल्ट कृष्णलीला प्रस्तुत गरेको थियो ।
४ देखि १० कक्षासम्मका विद्यार्थीहरुलाई सहभागी गराई भगवान कृष्णको विभिन्न रुप, जन्मेदेखि उनले गरेका सबै कृयाकलापलाई तिनै विद्यार्थीमार्फत कलात्मक नाटकमार्फत प्रस्तुत गरिएको थियो ।

कंशको कारागारमा रहेका बेलामा जन्मेका बासुदेव र देवकीका आठौं सन्तान भगवान श्रीकृष्णको जन्मदेखि, यमुना नदी पार, नामाकरणदेखि श्रीकृष्णको वालापन, मख्खन चोरी कालिया नागको वध, गोर्वद्धन पर्वत उठाएर किसान र गौमाताहरुको संरक्षण, गुरुकुल शिक्षा हासिल, कृष्ण सुदामासंगको मित्रता, द्रौपदी चीरहरणमा द्रौपदीको इज्जत बचाउनेदेखि महाभारतको लडाँईताका आफ्नो विराट रुप देखाउँदै अर्जुनलाई गीताको उपदेश दिएसम्मका कथालाई समेटेर विद्यार्थीहरुले श्रीकृष्णको लीला देखाएका थिए ।

पछिल्लो समयमा साना केटाकेटी र विद्यार्थीहरु मोवाइल र टेलिभिजनमा कार्टुनमा मात्रै झुम्मिन थालेकोले भगवानका कथाहरु पढ्न छोडिसकेको अवस्थामा विद्यार्थीलाई नै सहभागी गराई कृष्ण लीलामार्फत भगवान श्रीकृष्णको सच्चरित्र सिलसिलेवार रुपमा प्रदर्शन गरिएको विद्यालयकी निर्देशक ममता शाहले बताइन ।

विद्यालयमा दोस्रोपटक आयोजना गरिएको कृष्णलीलाको डिभि ग्रुपकी अध्यक्ष विश्वनाथ शाहकी धर्मपत्नि एवम् निर्देशक ममता शाहकी माता देवकी शाहले उद्घाटन गरेकी थिइन भने अध्यक्ष विश्वनाथ शाहले कृष्णलीलाको अवलोकन गरेका थिए । प्रर्दशनीको विद्यार्थीका अभिभावक तथा विभिन्न विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरुले चाखपुर्वक हेरेर प्रशंसा गरेका थिए ।

उद्घाटन समारोहमा ट्रिटन इन्टरनेशनल कलेजका प्राचार्य प्रा.मदन शाक्य, न्यूभिजन एकेडेमीका निर्देशक टंक थापा, स्थानीय समाजेसवी हिरा थापामगर तथा विद्यालयका भाइस प्रिन्सिपल सुजित तामांगले भगवान श्रीकृष्णको बारेमा प्रकाश पार्दै यस्ता प्रदर्शनीले विद्यार्थीहरुमा थप ज्ञान प्राप्त हुने बताए ।

जीवनमा धेरै किसीमका उतार चढाव आएतापनि आफ्नो लक्ष्य विर्सन नहुने भगवान श्रीकृष्णले सिकाएको उल्लेख गर्दै विद्यालयकी निर्देशक ममता शाहले विद्यार्थीहरुलाई आम नेपालीहरुले मनाउँदै आएकोे सनातन धर्म, संस्कृति र परम्परालाई आत्मसात् गर्न विद्यार्थीलाई सिकाउने उद्धेश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् ।

विद्यालयका भाइस प्रिन्सिपल सुजित तामांग, विद्यालय संयोजक चक्रकुमार श्रेष्ठ, अतिरिक्त कृयाकलाप संयाजक शिव गैह्रे तथा विज्ञान शिक्षक चन्द्रशेखर साह लगायतका शिक्षकहरुले श्रीकृष्ण लीलाको लागि व्यवस्थापन गरेका थिए । आस्था साह र मुकेश कुँवरले कार्यक्रम सञ्चालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार