Logo
२७ बैशाख २०८३, सोमबार
|  Mon May 11 2026

अक्षरामा स्कूलमा बनौं संस्कारी पाठ्यक्रम शुरु


 अक्षरा स्कुलले बनौं संस्कारी पाठ्यक्रम शुरु गरेको छ । यही पाठ्यक्रममा सहयोग पुग्ने पुस्तक पनि शुक्रवार विमोचन गरियो ।

वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, प्रमुख  निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कूलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तकका लेखक डा. राज अधिकारीले संयुक्त रुपमा पुस्तक विमोचन गरे ।

पुस्तकबारे चर्चा गर्दै डा. कोइरालाले पछिल्लो समय आधारभुत मानवीय मुल्य विर्सदै गएको बताए । न्युनतम मानवीय मुल्य विर्सदै गएको बताउदै उनले भने, अहिले विज्ञान छ । प्रविधि छ । भौतिक विकास पनि छ । यी सबै चाहिन्छ । तर यसका साथमा मानव मुल्य पनि चाहिन्छ । मानव मुल्य छैन भने हाम्रो जीवनको पनि कुनै मुल्य हुँदैन । कोइरालाले पुस्तकमा १०१ गुण हुनुपर्नेमा जोड दिएपनि सबै कार्यन्वयन गर्न गाह्रो हुने तर ५ वटा मात्रै गुण धारण गरे भने जीवन सफल हुने प्रतिक्रिया दिए ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले हामी सबै हाम्रा नानीबाबु असल होउन भन्ने चाहन्छौं तर कसरी असल बनाउन सकिन्छ भनेर ध्यान भने दिने नगरेको बताए । उनले त्यही भएर हामी स्कूलको परीक्षामा राम्रो अंक ल्याएर पास गर्छौ तर जीवनको परीक्षामा भने फेल भइराखेको बताए । असल समाज र असल व्यक्ति निर्माण गर्न शिक्षाले मात्र सम्भव भएको थपलियाले बताए । थपलियाले भने, संसार बदल्ने हो भने पहिला आफु बदलिनु पर्छ । आफु बदलिन संस्कार जान्नु पर्छ । संस्कार सहितको शिक्षा हुनुपर्छ ।

स्कूलकी डाइरेक्टर प्रिन्सिपल भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्ष अघि स्कूलको स्थापना गरेको बताइन । उनले हाम्रो विद्यालयको उदेश्यसंग यो पुस्तक मिल्ने रहेछ । त्यही भएर हामीले यसलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्ने निष्कर्ष निकाल्यौं । अब संस्कारको बेग्लै पाठ्यक्रम समेत बनाउने तयारी भइरहेको छ । लेखक अधिकारीले शिक्षा छ तर संस्कार छैन भने व्यक्तित्वमा सुवास नआउने बताए । जतिसुकै व्यस्त भए पनि अभिभावकले बालबालिकालाई क्वालिटी टाइम र संस्कार चाहिं दिनै पर्नेमा लेखक अधिकारीले जोड दिए । सन्तानको कुशलताको लागि पुस्तक लेखेको पनि उँहाले जानकारी दिए ।

अक्षरा स्कूल संस्कारण नाम दिइएको पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्व, असल सन्तान नै अमुल्य सम्पत्ति, संस्कार युक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौ संस्कारी जस्ता विषय समेटिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार