Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

दैनिक २२ सय कमाइ हुने तान बुन्ने पेसा संकटमा


सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पालस्थित नागी घ्याङ  र मानेखर्कमा कुनै समय  प्रत्येक घरधुरीमा  श्यामा ( तान ) बुन्ने गरिन्थ्यो । अहिले दुई/चार घरमा मात्र ५५ वर्ष उमेर पार गरेका महिलाहरुले  श्यामा बुनेर आफ्नो दैनिकी चलाउने गरेका छन् ।

तामाङ र ह्योल्मो समुदायका महिलाहरुले प्रयोग गर्ने श्यामा कपडा यस समुदायमा एकदमै लोकप्रिय मानिन्छ । तर, अहिलेका पुस्ताहरुले  बुन्न छाडेपछि श्यामा मुस्किलले मात्र  पाउन थालेको  छ ।

मानेखर्कका ५८ वर्षीया ग्याल्मु लामाले  श्यामा बुनेर दैनिक २२ सय कमाइ गर्छिन् ।  १६ वर्षको उमेर हुँदा श्यामा ( तान ) बुन्न थालेकी उनले अहिलेसम्म निरन्तर यहि कामबाट घर खर्च टार्दै आएकी छिन्  । उनी भन्छिन्, ‘अहिले  हामी तीन/चारजना महिलाहरुले मात्र तान बुन्ने गरेका छौँ  । बजारमा यसको माग धेरै भए पनि हामीले पु¥याउन सकेका छैनौँ । बुन्नुभन्दा अगाडि नै घरमै आएर ग्राहकले अर्डर गरेर जानुहुन्छ ।’

सुरुवातमा बुनेर बेच्दा  यसको मूल्य १८० रुपैयाँ थियो । अहिले एउटाको आठ सयदेखि  २२ सय रुपैयाँसम्म पर्छ  ।  उनीहरुलाई रेडिमेट मेसिनले बनाएको श्यामा गाउँ घरमा भित्र्याउँदा नरमाइलो लागेको थियो । तर, हातले घरमै बुनेको जस्तो गुणस्तरीय नपाएपछि फेरि अर्डर गर्न ग्राहकहरु घरमै आएको  ग्याल्मु लामाले बताए  ।

आम्दानीको राम्रो स्रोत

एक पल्टको तानमा १२ वटा श्यामा बन्छ । एक दिनमा एक जनाले एक वा दुई वटासम्म बुन्न सकिन्छ । १२ वटा श्यामा बुन्दा यसमा प्रयोग हुने रङ, धागोको खर्च जोडेर पनि यसमा राम्रो फाइदा हुने उद्यमी बताउँछन् । त्यस्तै यस कपडाबाट श्यामा मात्र नभई झोला, थैलो जस्ता विभिन्न सामग्री बनाउन पनि  प्रयोग गर्न सकिने स्थानीय बाबुराम लामा बताउँछन्  ।  तान बुन्दा प्रयोग हुने हाते सामग्रीहरु सबै गाउँघरमै पाउने काठ, बाँस, मुडा बाट नै तयार गर्न सकिने हुँदा थोरै खर्चमै तयार गर्न सकिने उनको भनाइ छ  ।

७३ वर्षीय नोर्चिन लामा पनि लामो समयदेखि श्यामा बुनेको अनुभव सुनाउँदै पहिलाभन्दा अहिले यसको मूल्य पनि धेरै राम्रो रहेको बताउँछन् । ‘यसको माग पनि राम्रो छ । तर, अहिलेका नयाँ पुस्ताले बेवास्ता गर्दा दुःख लाग्छ । बल हुन्जेलसम्म तान बुनेर जिविकोपार्जन गरेँ । तर, अहिले उमेर ढल्किएपछि बुन्न सकिएन,’ उनी भन्छिन्, ‘हामी वृद्व भएसँगै यो तान (श्यामा) बुन्नेको संख्या  निकै कम हुँदै गयो । अबको नाति नातिनाले श्यामा भनेको के हो भनेर नि बिर्सिन्छ जस्तो लाग्छ ।’

तन्नेरी अवस्थामा श्यामा बुनेर जुगल गाउँपालिकाको तेम्बाथाङ, गुम्बाथाङसम्म बेच्न गएको उनले बताए । पाँचपोखरी गाउँपालिकाभित्रका गुन्सा, भोताङ, बरुवा, बासखर्कका तामाङ समुदायका महिला र युवतीले श्यामा कपडा धेरै मात्रमा प्रयोग गर्ने हुँदा  घरमै अर्डर गर्न आउँथे  । यहाँ बनेर तयार गरिएको श्यामा श्यामा लण्डन, भारत, अमेरिकामा बस्नेले समेत अर्डर गर्ने गरेका थिए  । घरमा नै बसेर राम्रो आम्दानी हुने यो कार्यलाई अहिलेको पुस्ताले पनि निरन्तरता दिए राम्रो आम्दानीसँगै श्यामा व्यवसायको संरक्षण हुने देखिन्छ ।

 


प्रतिक्रिया दिनुहोस !
विचार