Logo
२०८१, ३१ भाद्र सोमबार
|  Mon Sep 16 2024

ट्रिटन साँझ—‘नृत्य र संगितका प्रतिभावान् विद्यार्थी छनौट गर्ने थलो’


विशेष क्षमताका विद्यार्थीको विशेष प्रस्तुति

बलराम प्यासी
काठमाडौं, २५ भदौ ।
उत्सव रुपाखेती, वर्ष ९, काभ्रे पात्लेखेतका । उनी आफ्नी ममी उर्मिलासंग मिनभवन शान्तिनगरको एउटा डेरामा बस्छन् । अन्य वालावलिका भन्दा उनी अलि फरक छन् । विशेष खालका, फरक क्षमताका । उनी जोशमा पढि पनि हाल्छन्, नत्र पढाईमा उनको खासै चासो जाँदैन । उनी सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलको ४ कक्षाका विद्यार्थी हुन् ।

वलिउड अभिनेता अमिर खानले बनाएको चर्चित हिन्दी चलचित्र ‘तारे जमिन पर’ को कथासंग मिल्दोजुल्दो उनको स्वभाव छ । ९ वर्षको उमेर भएपनि उसको वौद्धिक स्तर ६÷७ वर्षको केटाकेटीको जस्तो रहेको उत्सवकी ममी उर्मिला बताउँछिन् ।

पढाईमा खासै चासो नदिने तर संगितमा चासो राख्ने तिनै ९ वर्षे उत्सवलाई लक्षित गरेर ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलकी निर्देशक ममता शाहले एउटा सांगितिक कार्यक्रमको आयोजना गर्ने विचार राखिन्— ‘ ट्रिटन साँझ’।

‘तिनै उत्सव र उनीजस्ता फरक क्षमताका अरु केही विद्यार्थीको लागि पनि यस्ता कार्यक्रमको जरुरी छ’ भनेर सन्देश दिनका लागि निर्देशक शाहले यो सांगितिक कार्यक्रम आयोजना गरिएको सुनाइन् शुक्रबार राजधानीको टेकुस्थित मसला कटेजको हलमा आयोजित ३ घण्टा लामो सांगितिक कार्यक्रम ‘ट्रिटन साँझ’ समापन गर्दै ।

सो विद्यालयको विभिन्न कक्षाका विद्यार्थीले ९ वटा एकल र सामुहिक गायन तथा १८ वटा एकल र सामूहिक नृत्य प्रस्तुत गरेको उक्त ‘ट्रिटन साँझ’ मा तिनै ९ वर्षिय वालक उत्सवले अन्य वालकले झैं गायक डेनी डेन्जोङ्गपाले गाएको गीत गाए—‘रातो रानी फुलेझैं साँझमा, तिमी फुल्यौ कलेजी माँझमा, मनको रहर… कान्छीलाई घुमाउने काठमाण्डौ शहर’…

उनको हाउभाउ र गायन शैली देख्दा कसैले पनि उनलाई विशेष र अलग क्षमता भएको वालक भनेर छुट्टयाउन सकेनन् । जव विद्यालयकी निर्देशक शाहले कार्यक्रमको अन्त्यमा तिनै उत्सवको बारेमा बताउँदा धेरैजना छक्क परे ।

निर्णायकहरु कृष्णप्रसाद पौडेल, दिपक रमण र ऋृषिकेश श्रेष्ठ रहेको निर्णायक मण्डलले गरेको निर्णय अनुसार नृत्यतर्फ स्मृति बोगटी पहिलो, अनिशा शिवभक्ति दोस्रो र रिभा कुमाल तेस्रो तथा गायनतर्फ कृष्णा राई पहिलो, रिभा कुमाल दोस्रो र कृष्ण चौहान तेस्रो भएका थिए । कार्यक्रमका सहभागि निर्णायक मण्डल तथा अभिभावकहरुले उत्सवको प्रस्तुतिको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रमकी प्रमुख अतिथि रहेकी विद्यालयकी निर्देशक ममता शाहकी माता एवम् डिभि ग्रुपकी संस्थापक देवकी शाहले गायक उत्सवलाई दुई महिनाको मासिक शुल्क छात्रवृत्ति दिने घोषणा गरिन् ।


प्रमुख अतिथि देवकी शाहका साथै विद्यालयकी निर्देशक ममता शाह, ट्रिटन कलेजकी प्रमुख कार्यकारी अधिकृत ऋतु न्यौपाने र एनप्याब्सन काठमाण्डौका सचिव तथा फिजमका अध्यक्ष अमृत खड्का समेतले विजयी विद्यार्थीहरुलाई टिका लगाई ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै एनप्याब्सन काठमाण्डौका सचिव तथा फिजमका अध्यक्ष अमृत खड्काले घोकन्ते शिक्षाले विद्यार्थीमा परिवर्तन नआउने उल्लेख गर्दै शिप र संस्कारयुक्त शिक्षाले मात्र उनीहरु जहाँ गएपनि बाँच्न सक्ने उल्लेख गरे ।

विद्यालयका प्रिन्सिपल सुजित तामाङ्गले विद्यार्थीमा नीहित गायन र नृत्य लगायतका प्रतिभा प्रस्फुटनको लागि पहिलोपल्ट ‘ट्रिटन साँझ’ कार्यक्रमको आयोजना गरिएको र स्टेजमा गएर आफ्नो प्रतिभा प्रस्तुत गर्नुनै पुरस्कार जित्नु सरह रहेको बताए ।

उत्सव लगायतका विद्यार्थीलार्ई विद्यालयका संगित शिक्षक मोहन मगरले संगित सिकाउँदै आएका छन भने नृत्य शिक्षक रोहित बस्नेतले नृत्य सिकाउँदै आएका छन् ।
विद्यालयका कक्षा र विषयगत शिक्षकको साथै विद्यालय संयोजक चक्रकुमार श्रेष्ठ तथा अतिरिक्त कृयाकलाप इन्चार्ज शिव गैह्ेको अथक मिहेनतले ‘ट्रिटन साँझ’ सफल हुन सकेको भन्दै निर्देशक शाहले सबैलाई धन्यवाद दिइन् ।

१० कक्षाका विद्यार्थीहरुको सामुहिक कमेडी प्रस्तुति र स्वागत नृत्य निकै आकर्षक रहेको ‘ट्रिटन साँझ’ ट्रिटन स्कुलको प्रतिभा छान्ने थलो ‘प्रतिभाको आँगन’ सरह रहेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार