Logo
२०८१, ३१ भाद्र सोमबार
|  Mon Sep 16 2024

बाँचुञ्जेल शिक्षादान र मृत्युपछि आँखादान गरेर अस्ताए प्रिन्सिपल हेम राई


बलराम प्यासी
काठमाण्डौ, ६ असोज । झण्डै ८ सय विद्यार्थीको शिक्षाको जिम्मेवारी बोकेका ७५ वर्षे प्रिन्सिपल हेम बहादुर राई असोज २ गतेसम्म पेप्सीकोला टाउनप्लानिङ्गस्थित करियर विल्डिङ्ग इन्टरनेशनल एकेडेमीमा कार्यरत थिए ।

तर उनी भोलिपल्टदेखि विद्यालय जान सकेकन् । नजिकैको डेरामा सोमबार एकाविहानै ३ बजेतिर उनी एक्कासी वेहोस भए । उनलाई तत्काल नर्भिक अस्पताल थापाथली पुर्याई उपचार शुरु गरियो । मंगलबार उनको होस आयो तर सोही दिन उनको टाउकोको नशामा जमेको रगतको शल्यक्रियापछि बुधबारदेखि उनी उठेनन् । अन्ततः उनले विहीबार दिउँसो प्राण त्यागे ।

आइतबारसम्म संगै काम गरेको करियर स्कुलका शिक्षक, कर्मचारी मात्रै होइन् उनका विद्यार्थीहरुलाई पनि आफ्नो प्रिन्सिपलको मृत्युको कुराप्रति पटक्कै विश्वास लागेन त्यसैले उनीहरु विहीबार अपरान्ह प्रिन्सिपल सरलाई हेर्न पशुपति आर्यघाटसम्म पुगे ।

अनि शिक्षक, कर्मचारी र विद्यार्थीहरुले प्रिन्सिपल राईको शवमाथि फूल चढाउँदै आँसुको धाराले विदाई गरे । तैपनि उनीहरुलाई अझैपनि विश्वास लागिरहेको छैन, उनीहरुका प्रिन्सिपल यो संसारमा छैनन भन्ने कुरामा ।

विगत ५ वर्षदेखि विद्यालयको प्रिन्सिपलको रुपमा कार्यरत स्वर्गीय राईले आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएका थिए । विद्यार्थीहरुलाई अनुशासित बनाई उनीहरुको भविष्य राम्रो बनाउन उनले दिनरात नभनी काम गरेको विद्यालयका संस्थापक अध्यक्ष तेज नारायण श्रेष्ठ स्मरण गर्छन् ।

बाँचुञ्जेल विद्यार्थीलाई शिक्षाको ज्योति दिएका तिनै प्रिन्सिपल राईले आफ्नो मृत्युपछि आफ्ना दुवै आँखाका नानी तिलगंगा आँखा केन्द्रलाई दान दिए । स्वर्गीय प्रिन्सिपल राईकी धर्मपत्नि दिलु राईको स्विकृतिमा तिलगंगा आँखा बैंकका प्राविधिक एवम् काउन्सिलर सुन्दर महतले स्वर्गीय राईको आँखाको नानी झिकेका थिए । स्वर्गीय राईको आँखाको नानी केहि दिनभित्रै दुईजना दृष्टिवीहिन व्यक्तिमा प्रत्यारोपण गरिने तिलंगा आँखा बैंकका प्रवन्धक शंख नारायण त्वायनाले बताए ।

भारतको खर्साङ्गमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाएका स्वर्गीय राईको विहीबार अपरान्ह हिन्दु परम्परा अनुसार पशुपति आर्यघाटस्थित विद्युतिय शव दाहगृहमा दाहसंस्कार गरियो ।

स्वर्गीय राईको पार्थिव शरीरमा धर्मपत्नि दिलु राईले दागवत्ति दिएकी थिइन् भने विद्यालयकमा संस्थापक अध्यक्ष तेज श्रेष्ठ, विद्यालय संयोजक दिपेन्द्र श्रेष्ठ, शिक्षक, कर्मचारी र विद्यार्थीको साथै अरु विद्यालय र विभिन्न शैक्षिक संस्थाका पदाधिकारीहरुले पनि अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए । स्वर्गीय राईकी धर्मपत्नि मात्रै छिन् ।

अमेरिकी अन्तराष्ट्रिय संस्था पिसकोरदेखि सेना समायोजन सम्वन्धि संयुक्त राष्ट्र संघीय कार्यक्रम अनमिनमा समेत काम गरेको अनुभव संगालेका अंग्रेजी विषयका ज्ञाता स्वर्गीय राईले अंग्रेजी भाषामा शिक्षा सम्वन्धि लेख लेखेर विभिन्न अंग्रेजी दैनिक पत्रिकामा प्रकाशित गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार