विद्यार्थीलाई पढाईमात्र नभई सनातन हिन्दु संस्कार, परम्परागत रीतिरिवाज र चाडपर्वमा समेत प्रत्यक्ष संलग्न गराउँदै आएको सुविधानगर तिनकुनेको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले हिन्दुहरुको दोस्रो ठुलो चाड तिहारमा पनि विद्यार्थीलाई सहभागी गराएको छ ।
त्यतिमात्रै नभई विद्यार्थीमाझ नेवार समुदायको आफ्नो शरीरलाई आफैंले पुज्ने परम्परा म्हपुजा र तिहारलगत्तै तराईमा मनाईने छठ पर्व समेत मनाएर नेपाली परम्परागत चाडपर्व संरक्षणमा समेत जोड दिएको छ ।
म्हपुजाको दिनमा विद्यालय प्रांगणमा ठुलो मण्डप बनाई कक्षा पिच्छेका साना विद्यार्थीलाई नेवारी संस्कृति अनुसारको सगुन दिइएको थियो । साना विद्यार्थीले म्हपुजालाई अत्यन्त रमाइलो मानेर मनाएका थिए ।
विद्यालयमा कममात्रैे विद्यार्थी नेवार समुदायका भएकोले नेवारहरुको पर्वलाई कसरी अरु धर्म संस्कृतिका विद्यार्थीले सद्भावपुर्वक मनाउने भनेर विद्यार्थीलाई सिकाउन विगतदेखि नै म्हपुजा आयोजना गर्दै आएको विद्यालयकी निर्देशक ममता शाहले बताइन् ।
तिहारका पाँचै दिन मनाइने काग तिहार, कुकुर तिहार, गाईतिहार, गोवद्र्धन पुजा (गोरु तिहार) र भाईटिकाको बारेमा विद्यालय हातामा व्यवहारिक रुपमा विद्यार्थीलाई सहभागी गराई रमाइलो गरिएको थियो ।
त्यतिमात्रै नभई विद्यार्थीहरुले देउसी भैलो खेलेर विद्यालयकी निर्देशक ममता शाहबाट दक्षिणा समेत पाएका छन् ।
यसअघि काग र कुकुरतिहारको अवसरमा काग र कुकुरको चित्र बनाएर पुजा गर्दै विद्यार्थीहरुलाई ती जनावर र पंछिको योगदान बारे बताउनुका साथै विद्यार्थीहरुलाई पशुपंछिप्रति दयालु हुन सिकाईएको विद्यालयका संयोजक चक्रकुमार श्रेष्ठले बताए ।
यसको अतिरिक्त ठुलो कक्षाका विद्यार्थीहरुलाई सहभागी गराई रंगोली प्रतियोगिता नै आयोजना गरिएको विद्यालयका अतिरिक्त कृयाकलाप संयोज शिव ग्रैह्रेले बताए । ग्रैह्रेका अनुसार यी सवै चाडपर्व मनाउन विद्यालयका सबै शिक्षक र स्वयमसेवकहरुलाई सहभागी गरिएको थियो ।










