
आफ्ना अभिभावक र परिवारका अन्य सदस्यले आफुलाई हुर्काउन, बढाउन र उचित शिक्षादिक्षा दिँदा गरेको निश्वार्थ योगदानको महत्वलाई जीवनभरी नबिर्सिने गरि दर्शाउन तिनकुने सुविधानगरस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्यो ।
विद्यालयको कक्षा ९ र १० का सबै विद्यार्थीले भाग लिएको ‘समाजको विकासको लागि युवा र परिवारको योगदान’ विषयक प्रस्तुतिकरणमा विद्यार्थीहरुले परिवारको योगदानबारे प्रस्तुतिकरण गरिेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयकी निर्देशक ममता शाहले ‘परिवार र परिवारका सदस्यले गरेको निश्वार्थ योगदानको महत्व बुझ्ने र त्यसको कदर गर्ने कुनैपनि विद्यार्थीले जीवनमा कहिल्यै दुःख नपाउने बताइन् ।
आफ्ना अभिभावकप्रतिको सम्मान र आदर गर्नुको साथै उनीहरुसंग दिनमा कम्तिमा १० मिनेटमात्रै भएपनि संगै बस्ने गर्नाले माया र सद्भाव बढ्ने निर्देशक शाहले बताइन् । ‘दुःख र आपत्विपत पर्दा निश्वार्थ रुपमा सहयोग गर्ने र हौसला दिने भनेकै आफ्नो परिवार मात्रै हो’—निर्देशक शाहले भनीन् ।
कार्यक्रममा निर्णायक एवम् न्यू भिजन एकेडेमीका निर्देशक टंक थापाले हरेक परिवार सवल, अनुशासित र सुदृढ भएमा समाज पनि राम्रो हुने बताए ।
प्रतियोगितात्मक प्रस्तुतिकरण कार्यक्रममा सुवाश खनाल पहिलो, रिवा कुमाल दोस्रो, आरुष कर्ण तेस्रो भए भने मुकेश कुँवरले सान्त्वना पुरस्कार पाए ।
विजयी विद्यार्थीहरुलाई पत्रकार बलराम प्यासी, निर्णायकहरु ओमनाथ कडरिया, टंक थापा र सुनिल कर्णले प्रमाणपत्र प्रदान गरेका थिए भने कार्यक्रमको उदेश्यबारे विद्यालयको अतिरिक्त कृयाकलाप संयोज शिव गैह्रेले प्रकाश पारेका थिए ।
कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल सुजित तामांग र विद्यालय संयोजक चक्रकुमार श्रेष्ठले यस्तो कार्यक्रमले विद्यार्थीलाई परिवारको महत्व दर्शाउने बताए ।
परिवारका जेष्ठ सदस्यको कुरा सँधै ध्यान दिएर सुनेर दैनिक जीवनमा लागु गर्न सके धेरै ज्ञान र अनुभव प्राप्त हुने कुरा प्रस्तुतिकरणका क्रममा विद्यार्थी सुवाश खनालले बताए । उनले भने—‘घरका जेष्ठ सदस्यको कुरालाई धैर्यपुर्वक सुनेर ज्ञान लिनु, किनकी किशोर र युवाहरुभन्दा उहाँहरु धेरै अनुभवि हुनुहुन्छ ।’