Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

फेसबुक चलाउँदा म झण्डै फसेँ तपाईँ चाहिँ जोगिनुहोला


साइबर क्राइम, ब्ल्याकमेलिङ र अपराधको दुनियाँ खतरनाक छ, सावधान !

मैले सामाजिक सञ्जाल चलाउन थालेको १० वर्ष भयो। यतिका समयमा पहिलोपटक म यस्तो घटना र अपराधिक मानसिकताको शिकार बनेँ। म जस्ता अरु युवा शिकार नबनुन् भनेर यो पोष्ट गर्दैछु।

सार्वजनिक व्यक्ति त्यसमाथि पनि राजनीतिमा सक्रिय भएकाले म आफुले चिनेका नचिनेका अधिकांशको फेसबुक फ्रेन्ड रिक्वेस्ट मिलेसम्म स्वीकार गर्छु। हिजो त्यस्तै भयो, प्रियंका राओ नाम गरेकी युवतिको फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आयो। सामान्य रुपमा हेर्दा फेक प्रोफाईल जस्तो पनि लागेन। मैले सधैँ झैँ फ्रेन्ड रिक्वेस्ट अक्सेप्ट गरेँ। सामान्य परिचय नहुँदै उनले मसंग मेरो ह्वाट्स एप नम्बर मागिन्। मेरो वेबसाईट, फेसबुक पेज लगायत सबैजसो सामाजिक संजालमा मेरो मोबाइल नम्बर सार्वजनिक रहेका कारणले मलाई त्यो पनि सहज नै लाग्यो, मैले ह्वाट्सएप नम्बर पनि दिएँ।

केहि मिनेट नबित्दै ह्वाट्स एपमा नयाँ नम्बरबाट कल आयो। मैले कल उठाएँ, भिडियो कल रहेछ। स्क्रिनमा देखिएकी अन्दाजी २१ वर्षकी ति युवती आफ्नो कपडा खोल्न थालिन् र हेर्दा हेर्दै निर्वस्त्र भइन्। एकछिन त मैले केहि सोच्न, विचार गर्नै सकिन। जीवनमा पहिलो पटक यस्तो घटना म संग भैरहेको थियो। अप्रत्याशित रुपमा यस्तो घटना घटेपछि कसरी रेस्पोन्ड गर्ने भेउ नपाईँदो रहेछ। मैले भिडियो अफ गरेँ र लगत्तै कल काटेँ।

मैले कल काटेपछि केहि मेसेजहरु आए जसमा मलाई फेरि कल अटेन्ड गर्न प्रस्ताव गरिएको थियो। मैले मानिन। यतिन्जेल मलाई यो कुनै उग्र यौन चाहना भएकी युवतीको प्रयास हो भन्ने लाग्यो। कहाँ फसियो बनेर दिमाग रन्थनिएको थियो।

एकैछिनमा ह्वाट्सएपमा एउटा भिडियो प्राप्त भयो। खोलेर हेरेँ। त्यसमा भर्खरै भएको करिब १ मिनेटको भिडियो कल र नजाने कसको ५० सेकेन्ड जतिको हस्तमैथुनको भिडियो जोडेर, मेरो नाम, मोबाइल नम्बर सहित भिडियो बनाइएको रहेछ। भिडियो हेर्दाहेर्दै अर्को मेसेज आयो, भिडियो डिलिट गर्न पैसा लाग्छ, पैसा नदिए भिडियो भाइरल।

करिव १५ मिनेटभित्र यो सम्पूर्ण घटना घट्यो। अब मलाई लगातार धम्कीपूर्ण मेसेजहरु आउन थाले, घरि ५ मिनेटभित्र पैसा देउ घरि १० मिनेटभित्र, अन्याथा भिडियो भाइरल हुन्छ। यतिन्जेल मेरो फेसबुकमा रहेका करिव ५,००० जना साथीहरुको विवरण उनीहरुसंग थियो, यो भिडियो अझै एडिट गरेर सबैलाई पठाइदिन्छौँ भनेर उनीहरु धम्क्याइरहेका थिए। यता मेरो मनस्थिति एकाएक यति कमजोर बन्यो कि के गर्ने के नगर्ने मैले निर्णय गर्नै सकिन। म उनीहरुलाई जवाफ पनि फर्काउन सकिरहेको थिइन। उनीहरु घरिघरि भन्थे, तिमीलाई आफ्नो प्रेस्टिजको कुनै मतलब छैन?

यतिन्जेल यो घटना राम्रोसंग सोचविचार गरेर रचिएको हो भन्ने मैले चाल पाइसकेको थिएँ। उनीहरुले मलाई इण्डियाको ‘यस बैंक’ को खाता दिए र भारु २१,००० डिपोजिट गर्न निर्देशन दिए। नेपालबाट पैसा पठाउन मिल्दैन, पैसा चाहिन्छ भने १ हप्ता कुर भनेर मैले लेखेँ। यस्तो समयमा के गर्नुपर्छ भन्ने निर्णय गर्न नसकेपछि समय लम्ब्याउन मैले त्यसो गरेँ। उनीहरुले मलाई २४ घण्टाको समय दिए।

आज बिहान उठेर दिल्लीको एकजना साथीलाई फोन गरेँ र घटना सुनाएँ। आफ्नो नजिकको अर्को साथीलाई यस्तै अपराधिक गिरोहले गतहप्ता मात्रै ब्ल्याकमेल गरेर लाखौँ रुपयाँ असुली सकेको र अन्त्यमा भिडियो समेत सार्वजनिक गरिदिएको खबर उनले सुनाए। भारतमा विभिन्न गिरोहहरु यसरी सकृय भएको र नेपालका सार्वजनिक छवी भएका युवाहरुलाई तार्गेट गरेर उनीहरुले ब्ल्याकमेल गरिरहेको जानकारी पाएपछि मैले आम जनचेतनाका लागि यो पोष्ट लेखेको हुँ।

सामाजिक संजाल प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा विधिको अवलम्बन गर्न चुकियो भने यस्ता अपराधिक गिरोहहरुको फन्दामा परिने रहेछ। बिचार पुर्याउँ है।

म, नेपाल प्रहरी (Nepal Police), नेपालको इन्फर्मेशन टेक्नोलोजी सेक्टरका साथीहरु तथा अन्तराष्ट्रिय समुदायका इथिकल ह्याकरहरुसंग मिलेर यो गिरोहलाई समात्ने र कानुनी दायरामा ल्याउने प्रयास गर्नेछु।

तपाईँ आफू भने सुरक्षित रहनुहोला है !

( अब्दुस मियाँ विवेकशील साझा पार्टीको युवा संगठनका अध्यक्ष हुन् )


प्रतिक्रिया दिनुहोस !
विचार