Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

देवराज घिमिरे सभामुख बन्ने पक्का, को हुन् उनी ?


रातारात राजनीतिक समिकरण फेरबदल भएन भने बिहिबार नेकपा एमालेका सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख बन्नेछन् । एमाले अध्यक्ष ओलीको गृहजिल्ला झापाका सांसद घिमिरेलाई माओवादी केन्द्र, राप्रपा, रास्वपा र स्वतन्त्र सांसदहरुको समेत समर्थन छ । जसपा र लोसपाले के गर्ने भन्ने विषयमा निर्णय गरिसकेका छैनन् । तर, घिमिरेको प्रस्तावक र समर्थक रहेका दलहरुको मात्रै मत जोड्दा पनि सभामुख बन्न घिमिरेलाई चाहिने मत सजिलै पुग्ने देखिन्छ ।

प्रतिनिधि सभामा नेकपा एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २० र राप्रपाका १४ सांसद छन्, जसको कुल संख्या १४५ पुग्छ । जबकी २७५ सदस्यीय प्रतिनिधिसभामा सांसद बन्नका लागि १३८ मत मात्रै भए पुग्छ । संसदको यो अंकगणितलाई हेर्दा घिमिरे सभामुख बन्ने निश्चित छ । तर, नेपाली कांग्रेस सहित सरकार बाहिर रहेका दलहरुका तर्फबाट ईश्वरी नेउपानेले पनि सभामुखको उम्मेदवारी दिएकी छिन् । संसदमा अहिले देखिएको अंकगणितमा उलटपुलट भयो भने देवराज घिमिरेको सभामुख यात्रा रोकिन पनि सक्छ । तर, त्यो सम्भावना अत्यन्तै न्यून र कमजोर छ । अहिलेको राजनीतिक मौसमलाई नियाल्दा त्यसप्रकारको चमत्कार हुने देखिदैन । त्यसैले एमालेका देवराज घिमिरे सभामुख बन्ने निश्चित छ ।

अब कुरा गरौं ः को हुन् त देवराज घिमिरे ? देवराज घिमिरे ती सांसद हुन् जसलाई स्वतन्त्र उम्मेदवार स्वागत नेपालले गएको निर्वाचनमा झापा क्षेत्र नं २ मा आच्छुआच्छु नै पारेका थिए । झण्डै झण्डै स्वतन्त्र उम्मेदवार स्वागत नेपालले घिमिरेको संसदीय यात्रा रोकिदिएका थिए । शुरुवातदेखि नै स्वागत नेपालले लिएको अग्रता अन्तिम समयमा आएर मात्रै घिमिरेले तोडेका थिए । स्वागत नेपालले २६४५५ मत ल्याएर निकटतम प्रतिष्पर्धी बन्दा देवराज घिमिरेले २८ हजार ७ सय १६ मत ल्याउदै झापा २ बाट निर्वाचित भएका थिए । स्नातक तह सम्मको शैक्षिक योग्यता रहेका घिमिरे झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् । तर, उनको जन्म भने ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा भएको हो । २०१३ साल जेठ १३ गते जन्मिएका घिमिरेले ताप्लेजुङको भानु पब्लिक हाई स्कुलबाट .२०२९ सालमा एस.एल.सी उत्तीर्ण गरेका हुन् भने धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट आई.ए. र त्रिचन्द्र क्याम्पस काठमाडौँबाट स्नातक गरेका छन् । २०३१ सालमा झापा विद्रोहपछि नेपाल कम्युनिस्ट पार्टीको सम्पर्कमा रहेर २०३२ माघदेखि अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटी (कोके)को विद्यार्थी संगठनमार्फत घिमिरे पार्टी राजनीतिमा आएका नेता हुन् ।

२०३५ सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका उनी २०३९ सालमा इलाम जिल्लाको पार्टी प्रमुख, २०४९ सालमा नेकपा माले र नेकपा एकीकृतको एकीकरण पछि सम्पन्न नेकपा (एमाले) को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य हुँदै २०५० सालमा नेकपा एमालेको मेची अञ्चल इन्चार्ज भएका थिए ।

२०५८ सालमा एमालेको केन्द्रीय विभाग अन्तर्गत स्वास्थ्य विभागको इन्चार्ज हुँदै इन्जिनियरिङ विभाग, युवा सङ्घ नेपाल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, प्रगतिशील प्राध्यापक सङ्घको इन्चार्जको रुपमा समेत काम गरिसकेका घिमिरे २०५६ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए । केही वर्षअघि सम्म ओली निकट रहेर काम गरेका घिमिरे ओली र माधव नेपालबीचको तनाव उत्कर्षमा पुगेका बेला माधव नेपालतिर ढल्किएजस्तो देखिएपनि पछि ओलीतिरै खुलेर लागेका थिए ।

कहिले ओली त कहिले माधव नेपालतिर रहेर काम गरेपनि पछिल्ला दिनमा उनी केपी ओलीको खरो समर्थक बने । एमालेभित्र सभामुखका अन्य धेरै आकांक्षी थिए । तर, ओलीका अघि अरुको केही लागेन । सभामुखका लागि धेरैले मुख बाएपनि ओलीले आफ्नै गृहजिल्ला झापाका देवराज घिमिरेलाई नै रोजे ।


प्रतिक्रिया दिनुहोस !
विचार