Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

ट्रिटनका विद्यार्थीले तयार गरेको मौलिक खानेकुराको प्रदर्शनी


काठमाण्डौ, ७ माघ । पछिल्लो समय घरमा बस्दा धेरै केटाकेटीहरु मोवाइलमा अलमलिने गर्नाले घरका साधारण काममा पनि उनीहरुको चासो जाँदैन । घरमा बुबाममी विरामी हुँदा विरामीलाई पानी तताएर खुवाउन पनि अल्छी गर्छन उनीहरु । ती केटाकेटीले पकाएको खाना खान पाउनु त परै जावस् ।

तर राजधानीको सुविधानगर तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका विद्यार्थीहरुले आफैंले परम्परागत नेपाली मौलिक खानेकुराहरु तयार गरेर शनिबार प्रदर्शनीमा राख्दा उनीहरुका अभिभावकहरुमात्रै होइन, हेर्न आउने दर्शकहरु आश्चर्यचकित हुँदै सोध्दै थिए—‘यी सबै विद्यार्थीहरुले नै तयार गरेका हुन ?’

आ आफ्नो कक्षाका शिक्षकहरुको सहयोगमा ति विद्यार्थीहरुले परम्परागत मौलिक खाना मकैको च्याँख्ला, खिचडी, गुन्द्रुकको झोल र ढिँडो, गुन्द्रुक साँधेको र कोदोको रोटी, खीर, सेलरोटी, अनरसा, पकौडा बनाएर ट्रिटन फेस्टिवल अर्थात ट्रिटन महोत्सवमा प्रदर्शनको लागि राखेका थिए ।

त्यतिमात्र होइन उनीहरुले नेवारी परम्परागत खानेकुराहरु योमरी, बारा, चटामरी, सोयाविन (मस्यौरा) र च्याउ साँधेको, समयबजी सेट (मासु वाहेक) को साथै तराई क्षेत्रको चर्चित मौलिक खानेकुराहरु ठेकुवा, लाई, बगिया, तरुवा, पेरुकिया, पुवा, गाजरको हलुवा, खजुरिया, सेवई खीर, र मखना खीर बनाएका थिए । उनीहरुले तयार गरेका खानेकुराहरु हेर्दा नै आर्कषक र चाख्दा स्वादिलो र मुखै रसाउने खालको थियो ।

विद्यार्थीलाई कितावी ज्ञानमात्रै नभई व्यवहारिक विषयमा पनि उत्तिकै सक्षम बनाउन विद्यालयले सिकाउँदै आएको विद्यालयकी निर्देशक ममता शाहले बताइन् । विद्यार्थीहरु पढ्न माधै जान्ने तर व्यवहारिक कुरा केही पनि नजान्ने नहुन् भनेर हरेक विषयमा सक्षम बनाउने विद्यालयको पहिलो दायित्व भएको निर्देशक शाहको भनाई थियो ।

प्रदर्शनीमा राखेको खानेकुरा पैदर्शनी हेर्न आएका अभिभावक र दर्शकलाई विक्री गरि त्यसबाट संकलित रकममा लागत घटाएर बाँकी रकमबाट विद्यार्थीहरुलाई पिकनिक लैजाने योजना रहेको पनि निर्देशक शाहले बताइन् ।

आफ्नीे छोरीको विद्यालयका विद्यार्थीहरुले मिहेनतसाथ तयार गरेको परम्परागत मौलिक खानेकुराको प्रदर्शनी हेर्न निर्देशक शाहकी माता एव्म डिभि ग्रुपकी संस्थापक देवकी शाहले विद्यार्थीको मिहेनतको मुक्तकण्ठले प्रशंसा गरीन् ।

महोत्सवमा सो विद्यालयका ४ देखि ९ कक्षासम्मका विद्यार्थीले तयार गरेको चित्रकलाको साथै विभिन्न सजावट र उपहारका सामानहरु पनि प्रदर्शनीमा राखिएको थियो भने विद्यार्थी र आगन्तुकका लागि मनोरन्जन गर्ने स्टलहरु पनि राखिएको थियो ।

पहिलोपटक आयोजना गरेको खाना महोत्सवबारे दर्शक र अभिभावकहरुले राम्रो प्रतिक्रिया दिएकोले विद्यार्थीहरु मख्ख परेको विद्यालयका भाइस प्रिन्सिपल सुजित तामांगले बताए ।

विद्यालयका संयोजक चक्रकुमार श्रेष्ठ, अतिरिक्त कृयाकलाप संयोजक शिव गैरे लगायतका शिक्षकहरुले परम्परागत मौलिक खानेकुरा तयार गर्न विद्यार्थीहरुलाई सहयोग गरेका थिए भने घरमा उनीहरुले आ—आफ्ना अभिभावकको सहयोग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार